२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

होइन, हुनै सक्दैन 'मान्छे'

कविता

होइन,हुनै सक्दैन मान्छे,

ओई मान्छे!

होइन किन बोल्दैन मान्छे नै जस्तो छ त

सर्लक्कै दुई खुट्टाले उभिएको छ

हुनुपर्ने नाक, कान, आँखा, टाउको, हात र जिउ दुरूस्तै छ

पुच्छर छैन सिङ पनि छैन

आवाज उस्तै छ

शरीरभरि कपडा लवाइ उस्तै छ

लवज उस्तै छ ठ्याक्कै मान्छे जस्तो

चालढाल खानपिन खुद छ

दाह्रा पलाएको छैन

नंग्रा पनि घुँग्रिएको छैन

होइन किन बाेल्दैन!

मान्छे

ओई मान्छे!

बोल्दैन त काका

के त्यो मान्छे होइन?

होइन,हुँदै होइन

त्यो मान्छे होइन

ए त्यो फलानो पो मान्छे

जिउ गर्न जानेको छ

कालालाई सेतो

सेतालाई कालो भन्न सक्छ

खुट्टै नटेकी काँधको भर्‍याङ बनाई

महल चढ्न सक्छ

सुनेको सुनेको छैन

देखेको देखेको छैन भन्न सक्छ

झूटको फाँटमा आशको गुलाफ फुलाउन सक्छ

त्यसले सक्छ?

सक्दैन।

अनि कसरी मान्छे भयो?

ऊ त्यो ढिस्कानो पो मान्छे

मानवता बेच्न जानेको छ

पैसा पावरमा नाच्न जानेको छ

खुलेआम बलात्कार गरेर बाँच्न जानेको छ

निमुखालाई पेलेर तेल निकाल्न जानेको छ

गरीबलाई सेल बनाउन जानेको छ

लाजघिन र सरम टाल्न जानेको छ

सत्यलाई बत्ती बनाएर बाल्न जानेको छ

त्यसले जानेको छ?

छैन।

अनि मान्छे भयो त?

ऊ त्यो देखिएको प्राणी पो मान्छे

अदालत किन्न सक्छ

झोला बोकेर हिंड्न सक्छ

भर्‍याङ बनेर उकाल्न सक्छ

भाइरल हुन वस्त्र फुकाल्न सक्छ

अंगुर खान पल्केको लंगुर जस्तो छ

कर छलेर बंगुर मोटाएझैं मोटाउन सक्छ

स्वार्थमा टायर बाल्न सक्छ

विश्वविद्यालयमा राजनीतिकर्मी पाल्न सक्छ

नपढाई बस्न सक्छ

कार्यालयमा तिमीलाई

भोलिभोलि आउनु भन्न सक्छ

टेबलमुनि हात लम्काउन सक्छ

कानुनको गाला रन्काउन सक्छ

त्यसै रिसाउन सक्छ

खानामा विषादि मिसाउन सक्छ

दूधमा सरफ लाउन सक्छ

थाहै नभए पनि गफ लाउन सक्छ

ख्याति कमाउन लुगा च्यातीच्याती लाउन सक्छ

कसैलाई देउता भनेर भजन गाउन सक्छ

इज्जत बेच्न सक्छ,

बाँगिन सक्छ नांगिन सक्छ

त्यसले सक्छ?

सक्दैन।

अनि भुत्राको मान्छे

होइन,हुँदै होइन

एक होइन, दुई होइन, तीन होइन

त्यो मान्छे हुँदै होइन

त्यसलाई मान्छे भनेर बोलाउनु छ भने

केटा यसो गर

टायर बाल्न सिका,लुगा फाल्न सिका

मानवता बेच्न सिका,पैसा किन्न सिका

साँढे बनेर जुध्न सिका

कुद्न सिका

बाछाहरूलाई मिच्न सिका

त्यसको वृद्ध बाबुलाई वृद्धाश्रममा पठाउन लगा

अरूकै संस्कृतिमा फुल्न सिका

आफ्नो सभ्यता भुल्न सिका

तिलको पहाड, कालोलाई सेतो बनाउन सिका

पैसाले सब किन्न सकिन्छ भनेर सिका

सापटी लिन सिका, तिर्न नसिका

खान सिका, खुवाउन नसिका

अरूलाई रुवाउन सिका

हाँस्न र हँसाउन नसिका

पैसा कमाउन सिका, जीवन नसिका

सम्बन्ध संस्कार नसिका

वैमनस्य सिका, घमण्ड सिका

स्वतन्त्र आवाज नसिका, कुण्ठित हुन सिका

ऊ त्यो फलानाले जस्तो गर्न सिका

ऊ त्यो ढिस्कानाले जस्तो बोल्न सिका

ऊ त्यो प्राणीको जस्तो व्यवहार सिका

जानेछ भने

भोलिबाट मान्छे नै भनौला

नत्र, होइन, हुँदै होइन

एक होइन, दुई होइन, तीन त झन् हुँदै होइन

त्यो मान्छे होइन

हुनै सक्दैन।

प्रकाशित: ३० वैशाख २०८० ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App