८ वैशाख २०८१ शनिबार
कला

२३ वर्षपछि पोखरामा बाघजात्रा निकालिने

पोखरा सांस्कृतिक सहर हो। यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन्। संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन्। पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रा लगायतका जात्राहरु हुने गरेका छन्। त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेर पनि बुढापाकाले भन्ने गरेका छन्।  

तिनै जात्रा मध्येको एउटा बाघजात्रा पनि हो। एकसय वर्ष भन्दा अघिदेखि शुरु गरिएको यो जात्रा अहिले लोपोन्मुख अवस्थामा छ। पछिल्लो २३ वर्षदेखि यो जात्रा आयोजना हुन सकेको थिएन। २०५७ सालमा तीन दिनसम्म नचाइएको बाघजात्रा त्यसपछि हुन नसकेर लोपोन्मुख अवस्थामा पुगेपछि यस वर्ष नचाउने तयारी गरिएको छ। अबदेखि भैरब नाच र बाघ जात्रा ३–३ वर्षको अन्तरमा गर्नेगरी यस वर्ष निकाल्ने तयारी गरिएको बाघजात्रा तयारी समितिका सचिव सुनिल उलकले बताए ।

बाघजात्रा निकाल्दा ९० देखि एकसय जनासम्म जनशक्ति आवश्यक पर्ने तयारी समितिका संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाघजात्रामा राजारानी, मन्त्री, घोडासहित सेना, प्रहरी र जनता पनि पात्रका रुपमा समावेश हुन्छन्। भैरवनाच संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले लाखेजात्रा, घोडाजात्रा र माघेजात्राको संयुक्त रुप बाघजात्रा भएको बताए।

तयारी समिति सदस्य दीपेन्द्र श्रेष्ठले बाघजात्रा रैथाने र मौलिक जात्रा भएको बताए। उनले भने, ‘यो कुनै जाति विशेषको जात्रा होईन बरु सम्पूर्ण पोखरेलीको हो। त्यसैले यसलाई सबै पोखरेली मिलेर सफल पारौं।’

बाघजात्रापनि भैरव नाचकै गुरु कृष्णदेव प्रधानाङ्गले प्रशिक्षण गराउने समितिले जनाएको छ। बाघाजात्रा तयारी समिति बनाएर यसवर्ष आगामी भदौ १८, १९ र २० गते निकाल्ने तयारी गरिएको मूल आयोजक समितिका सचिव उलकले जानकारी दिए। खर्चिलो हुने यस जात्राका लागि पोखरा महानगरपालिकादेखि वडासम्मले सहयोगको प्रतिबद्धता जनाएका छन्।  

बाघजात्रा तयारी सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोती तिमिल्सिनाले बाघजात्रा पोखरेलीको गौरव भएकाले यसको संरक्षणमा हुन लागेको जात्रालाई सफल बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हाम्रो देश बहुजाति र बहुभाषी छ। यसका संस्कार संस्कृति गौरवपूर्ण छ,’ उनले भने, ‘तर पछिल्लो समय धर्म संस्कृतिहरु लोपोन्मुख अवस्थामा छन्, त्यसलाई पुस्तान्तरण गर्नुपर्छ। त्यसका लागि नया पुस्तालाई तयार गर्न यस्ता जात्राहरु प्रदर्शन हुनुपर्छ।’

पोखरा–२ का वडाध्यक्ष दीवसमान प्रधानाङ्गले संस्कृति सम्पती भएकाले यसलाई जोगाउन वडाले सहयोग गर्ने बताए। पोखरा–३ का वडाध्यक्ष प्रकाश उदासले जात्राका लागि जात्राजस्तो नभई सुसंस्कृत हुनुपर्ने भन्दै यो पहिचानसँग जोडिएको विषय भएको बताए।

प्रकाशित: १८ वैशाख २०८० ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App