२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

रेणु अधिकारीको मौनताको ‘एक पोल्टो बादल’ लोकार्पण

क्याप्शन

कल्पलता द्वैमासिककाे आयाेजनामा साहित्यकार रेणु अधिकारी मौनताको लघुकथासंग्रह ‘एक पोल्टो बादल’ काे लोकार्पण भएको छ।

कल्पलता द्वैमासिकका सल्लाहकार घनबहादुर थापाको अध्यक्षता र प्राडा कपिल लामिछानको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण भएको हो।

कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, प्राडा. गार्गी शर्मा, डा. दामोदर पुडासैनी ‘किशोर’, डा. शैलेन्दुप्रकाश नेपाल,साहित्यकारहरू-छायादत्त न्यौपाने बगर, सिता ओझा, स्रष्टा रेणु अधिकारी मौनता, उनका परिवारका सदस्य लगायतले पुस्तकको लोकार्पण गरेका थिए।

कार्यक्रम लोकार्पित कृतिबारे माधव विडारी चेतन पथले समीक्षात्मक टिप्पणी गरेका थिए। चेतन पथले कथाकार अधिकारीले रोचक र सरल भाषामा पाठकलाई जीवन दर्शन दिने गरी कलम चलाएको बताए।

त्यस्तै समीक्षक दीपक लोहनीले कथाकार अधिकारीले कथामा बालमनोविज्ञान र नारी मनोविज्ञानलाई केन्द्र बनाएको बताए। समीक्षक लोहनीले बहुविधामा कलम चलाए पनि अधिकारीको लघुकथामा सुन्दर भविष्य रहेको बताए।

कार्यक्रममा अतिथि सीता ओझाले शुभकामना मन्तव्यकाे क्रममा असल साहित्यले समाज रूपान्तरणमा सहयोग पुर्‍याउने बताएकी थिइन्।

अक्षरधाम नेपालका छायादत्त न्यौपानेले निरन्तर लेखिरहे लेखन क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सकिने बताए।

वरिष्ठ नियात्राकार डा. दामोदर पुडासैनीले लेख्दै नलेख्नुभन्दा लेखेर केही दिनु कैयौं गुना राम्रो रहेको बताए। उनले फरक ढंगले फरक विषय दिन सके मात्रै स्थापित हुने बताए।

टोखा नगरपालिकाका नगरप्रमुख तथा लेखक पति प्रकाश अधिकारीले आफूले राजनीति र समाज सेवामा समय दिंदादिंदै लेखक पत्नीलाई सहयोग गर्न नपाए पनि मेहेनेतका साथ कृति प्रकाशनको गरेकोमा बधाई ज्ञापन गरे।

प्रमुख अतिथि प्राडा कपिल लामिछानेले अभिव्यक्तिमा चोटिलोपना र मुक्तकीय तीव्रता हुने भएकाले लघुकथा निकै पठनीय हुने बताउँदै लोकार्पित संग्रहमा अधिकांश त्यही खाले कथा भएको बताए।

त्यसैगरी  डा. शैलेन्दुप्रकाश नेपाल, डा. सत्यराज थपलिया, प्राडा गार्गी शर्मा, वडा नं ९ का वडाध्यक्ष रामभक्त घिमिरे लगायतले शुभकामना मन्तव्य दिएका थिए।

संसाक मासिकका सम्पादक उमेश पाण्डे, राजेन्द्र घिमिरे, दिनेश पाण्डे, शिवप्रसाद आचार्य, उत्तम विचार, छायादत्त न्यौपाने, शैलुन्द्रप्रकाश नेपाल, उमेश पाण्डे लगायतले कविता मुक्तक वाचन गरेका थिए।

कल्पलता  द्वैमासिकका सहसम्पादक दीपक बानियाले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको संचालन कल्पलता द्वैमासिकका सहसम्पादक तारा केसीले गरेकी थिइन्।

स्रष्टा ‘मौनता’को जन्मदिनको अवसर पारी आयोजित उक्त कार्यक्रममा ‘केक’ काटेर उपस्थित सम्पूर्ण महानुभावबाट स्रष्टा अधिकारीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

प्रकाशित: १४ वैशाख २०८० ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App