२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शब्दांकुर कथा प्रतियोगिताका विजेता पुरस्कृत

शब्दांकुर साहित्यप्रधान मासिकले शब्दांकुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट दश कथा विशेष अंक सार्वजनिक गरेको छ।

काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम प्रा. कृष्ण गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि गौतमले कथा लेखन साहित्यको प्राचीनतम विधा भएको बताए।

‘प्राचीन समयदेखि नै एसियामा कथा, आख्यान जस्ता विधा प्रशस्त लेखिएका यथेष्ट प्रमाण छन्। दक्षिण एसिया त अझ कथाको भण्डार हो।’ उनले थपे।

गौतमले विश्व साहित्यमा कथा लेखनमा नवीनतम प्रयोग प्रशस्त भएको बताउँदै नेपालमा पनि कथा लेखनमा नयाँ शैली सुरु हुन थालेको बताए। उनले साहित्यमा उत्तरआधुनिकताको सन्दर्भ कोट्याउदै साहित्य लेखनमा नयाँ प्रयोगआवश्यक रहेको बताए।

समालोचक ज्ञानु अधिकारीले सार्वजनिक भएका उत्कृष्ट दश कथाको समीक्षात्मक धारणा राखेकी थिइन्। ‘कथाहरूमा सामाजिक यथार्थ चित्रण प्रशस्त देखिन्छ। अभाव, बेरोजगार, जातीय विभेद, लैंगिक समस्या, युवामा देखिने नैराश्य र विचलन लगायतका विषयको सबल चित्रण सङगृहीत कथामा पाइने बताइन्।

‘कुनै पनि सिर्जना आफैमा राम्रो वा खराब हुँदैन, तुलनात्मक रूपमा पाठकले कसरी ग्रहण गर्छन्। यसमा साहित्यिक मूल्य कति छ भन्ने आधारमा तिनको मूल्यांकन हुने र बजारमा धेरै कथा आउने भएकाले केही फरक रूपमा परिचय निर्माण गर्न कथा लेखनमा नवीन शैली र शिल्प आवश्यक रहेको अधिकारीले औंल्याइन्।

कार्यक्रमका सभापति एवम् शब्दांकुर साहित्यप्रधान मासिकका सल्लाहकार प्राडा जीवेन्द्रदेव गिरीले सार्वजनिक धेरै कथन सामाजिक धारामा लेखिएको हुँदा तिनले सामाजिक यथार्थ उजागर गर्ने बताए।

समाजमा विद्यमान आर्थिक अभाव, बिदेसिन परेको बाध्यताले परिवारिक जीवनमा ल्याएको विखण्डन, जात व्यवस्थाले सिर्जना गरेको सामाजिक चुनौतीहरू कथाभित्र यथार्थ रूपमा चित्रण भएको उनले बताए।

कार्यक्रममा निर्णायकका तर्फबाट सुदीप पोख्रेलले समेत सक्षिंप्त धारणा राखेका थिए। शब्दांकुर साहित्यिक पत्रिकाले बाइसौं वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रतियोगितामा प्राडा अजय रिसालको ‘मोबाइलको घण्टी’ प्रथम, नन्दलाल आचार्यको ‘केटो’ दोस्रो र अज्ञात युवकको ‘दुर्व्यवहार’ कथा तेस्रो भएको थियो।

विजेताहरूलाई क्रमशः १०, ६ र ५ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागीहरूलाई स्वागत भाषण सम्पादक टेकेन्द्र चेम्जोङले, कार्यक्रममाथि प्रकाश सम्पादक गोविन्द घिमिरेले र धन्यवादज्ञापन व्यवस्थापक तुलसी कन्दङ्वाले गरेको कार्यक्रमको सञ्चालन प्रधान सम्पादक धीरकुमार श्रेष्ठले गरेका थिए।

प्रकाशित: १० वैशाख २०८० ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App