१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

निषेधित आत्मीयता

कथा

समय कति छिटो बितेछ। उनीसँग भेट हुन नपाएको भर्खरजस्तो लागिरहेको थियो तर करिब २२ वर्ष बितेछ। छुट्टिएपछि कुनै अवसरमा पनि उनीसँग भेट नै भएन। अहिलेजस्तो न सामाजिक सञ्जाल न मोबाइल फोन। त्यसैले पनि सम्पर्क हुन सकेन। फेरि त्यसरी भेट्ने गरी हाम्रो सम्बन्ध जोडिएको पनि थिएन। अव्यक्त भावमै अल्झेको सम्बन्ध जसरी जोडिएको थियो, त्यसैगरी नै तोडिएको थियो। सम्बन्ध तोडिँदा एक किसिमको नरमाइलो मनमा थियो नै, त्यही पनि मुटुलाई नै छुनेगरी चित्त दुखेको भने थिएन।

करिब २ वर्ष उनको नजिक भएर बस्दाका दिनहरू जीवनको पाटोसँग जोडिएका कारण यादहरू भने अमीट नै थिए। कहिलेकाहीँ कहाँ होलिन्, के गर्दै होलिन् भन्ने कुराको जिज्ञासा लागिरहन्थ्यो। हुन त उनको घर नदेखेको होइन। तैपनि घरसम्मै गएर भेट्ने आँट र हैसियत थिएन। अहिलेजस्तो चौबीसै घण्टा मोबाइल फोन च्यापेर कसको फोन आउँछ भनेर पर्खिरहने वा फेसबुक म्यासेन्जरमा कुरेर बस्ने सुविधा पनि त थिएन।

आज यतिका लामो समयपछि अचानक फेसबुकमा आएको फ्रेन्ड रिक्वेस्ट देखेपछि मनमा अनेक कुरा खेलिरहे। कसरी याद आयो उनलाई यतिका वर्षपछि, मनमा लागिरह्यो।

उनको अनुरोध हत्तपत्त मैले स्वीकार गरिहालें। कुरा कहाँबाट सुरु गर्ने होला भन्ने लागिहेको थियो किनकि २२ वर्षअघि हामीबीच केही भावनात्मक निकटता थियो-उमेरको, पढाइको, बसाइको। आत्मीयता थिएन भनौं भने दिनको एकदुईपटक कुरा नगरी चित्त बुझ्दैनथ्यो।

त्यसबेला मेरो लजालु स्वभाव थियो। म उनीसँग खुलेर मनको भावना राख्न सकेकै थिइनँ। हुन त ममा त्यो स्वभाव अहिलेसम्म पनि गएको छैन। खै किन हो म धेरै खुलेर बोल्न सक्दिनँ। पहिलाको तुलनामा अहिले अलिकति खुल्छु जस्तो लाग्छ, तर त्यसबेला त बोलीभन्दा लाज नै अघि सर्थ्याे।

उनीसँग फेसबुकमा जोडिनेबित्तिकै हामीले लामै कुरा गर्‍यौं। सुरुवातमा जोडिनासाथ मैले प्रश्न गरें-कसरी यतिका वर्षपछि याद आयो? उनले प्रतिप्रश्न गरिन्, ‘मैले यतिका वर्षपछि सम्झेको भनेर कसरी भन्न सक्यौ? मैले त हरेक पल सम्झेकी छु त।’

उनको भनाइले म छक्क परें। साच्चै उनले मलाई सम्झेकी हुन् वा होइनन् आफैमा विश्वास गर्न सकिनँ। मैले पनि प्रश्न तेर्साएँ-त्यसो भए यतिका वर्ष तिमीले किन खोजिनौं त?

जवाफमा उनले भनिन्-आखिर मैले नै तिमीलाई खोजेको हो र रिक्वेस्ट पठाएको हो। नसम्झेको भए किन रिक्वेस्ट पठाउँथे र?

उनीसँग केही दिनको अन्तरालमै निकै कुरा भए। कुरा यसरी भए कि मानौं हामी बोल्न नपाएर निकै तड्पिएका थियौं। विगतमा भन्न नसकेका कुरा पनि भए। किन नभनेको होला भनेर हामी हाँस्यौं पनि। अहिलेको जिन्दगीका बारेमा उनले पनि मलाई प्रश्न गरिनन्, मैले पनि उनलाई खास गहिराइमा प्रश्न गरिनँ। आवश्यक पनि ठानिनँ। बस्, लामो समयसम्म बिछोडिएका प्राणीजस्तै कुरा मात्र भइरहे।

एक दिन हामी भेट्ने कुरा मिलायौं। हुन पनि हामी भेट नभएको २२ वर्ष बितेको थियो। त्यसबेला म उनको छिमेकी घरमा बस्थें। मैले आइए दोस्रो वर्ष पढ्दा उनले आइए पहिलो वर्ष पढ्थिन्। हाम्रो मुख्य विषय पनि एउटै थियो। त्यही बहानामा कहिलेकाहीं हामी बोल्ने बहाना बनाउँथ्यौं।

सँगसँगै पढ्ने भएपछि हामीले कुरा गर्दा उनका आमाबुबाको चासो पनि हामीप्रति थिएन किनकि पढाइको तह एउटै हुँदा कुरा गर्न सहज थियो। त्यसबेला हामीबीच मायाप्रेमका कुरा कहिल्यै भएनन्। अरूका केही प्रसङ्ग आउँथे। ती प्रसङ्गमा हामी कुरा गरेर रमाउँथ्यौं, तर उनीसँग कुरा गर्दा कताकता एक किसिमको रमाइलो लाग्थ्यो, दिनमा एकपटक बोल्न नपाए खल्लो लाग्थ्यो।

यो एक किसिमले जीवनको दिनचर्या नै बनेको थियो। उनी आफ्नो घरको छतमा टुप्लुक्क आइपुग्थिन्। म पनि कुनै बहानामा म बस्ने घरको छतमा पुगेको हुन्थें। तर, उनले मलाई कसरी हेर्छिन् वा कसरी मूल्याङ्कन गर्छिन् भन्ने कुरा मलाई थाहा थिएन।

म गाउँबाट आएको केटो, नजिकको घरमा एउटा कोठामा संसार बनाएर बसेको। किचेन, सुत्ने बिस्तारा, पढ्ने ठाउँ, कपडा राख्ने एवम् भाँडा माझ्ने पनि त्यही एउटा कोठा। उनको र मेरो तहमा आकाश जमिनको अन्तर।

मेरो एक मात्र ध्येय काठमाडौं खाल्डोमा संघर्ष गर्नु थियो, पाए सानोतिनो बोर्डिङ स्कुल पढाउने र आफूलाई खर्च चलाउने थियो। नत्र त खाजा खाने पैसाका लागि पनि बा वा दाजुहरूको मुख ताक्नुपर्ने अवस्था थियो।

कसैलाई अफर गरेर सिनेमा हेर्न जाऊँ वा रेस्टुरेन्टमा गएर खाजा खाऊँ भन्ने औकात पनि कहाँ थियो र? त्यसैले मैले उनलाई मायाको नजरले हेर्न पनि खोजिनँ। मात्र उनीसँगको कुरामा हाँसेर बोलें, मुसुक्क मुस्कुराएँ। उनी पनि मुसुक्क हाँसेर बोलिन्। बस्, यहाँभन्दा अगाडि म बढ्दै बढिनँ तर लुकेर भए पनि मेरो कोठाको झ्यालबाट उनी आफ्नो घरको छतमा कतिखेर जान्छिन् भनेर हेरिरहें। उनीसँगको कुराले मलाई विगतमा फर्कन बाध्य बनायो। तर, मैले उनलाई याद गरे पनि माया गरें भनेर भन्न सक्ने अवस्थामा थिइनँ।

म्यासेन्जरमा कुरा हुन थालेपछि उनी दिन प्रतिदिन नजिक हुन थालिन्। वास्तवमा मेरो जीवनको एउटा मोडमा उनको पुनरागमन भयो। परिस्थिति उही थिएन। मेरो काँधमा दुई छोरा र श्रीमतीको जिम्मेवारी पनि थियो। उनको विवाह म बसोबास गर्ने उक्त घर छाडेर हिँडेपछि नै भएको हो भन्ने सुनेको थिएँ।

 उनी पनि सन्तानकी आमा र कसैकी श्रीमतीको भूमिकामा रहेकी थिइन्। म्यासेन्जरको गफपछि हामी निकै नजिकियौं। यति नजिक कि मानौं हामी लामो समयदेखि बिछोडिएका दुई प्रेमिल प्राणी थियौं।

 भेट बाक्लिँदै थियो। पहिलो भेटमा उनी खुसी देखिइन्। आफ्नो श्रीमान्को पनि प्रशंसा गरिन्। आफू खुसी रहेको बताइरहँदा पनि कतैकतै कुनै कुरा लुकाएको मैले प्रस्ट देखें तर मैले सोध्ने हिम्मत गरिनँ। उनी कतै न कतै दुःखी थिइन्। उनी जति हाँस्न खोजे पनि कतै न कतै दुःखको घेरा प्रस्ट देखिन्थ्यो।  

हामी साथी थियौं र साथीकै रूपमा कुराकानीलाई निरन्तरता दिने कुरामा सहमत भयौं। उनले मलाई त्यतिबेलै मन पराएको कुरा गरिन्। मैले होइन होला, गफ हो भनेर जिद्दी गरें। उनले हो भनेर अनेक तर्क दिइन्। मलाई एकातिर अचम्म लाग्यो भने अर्कातिर पछुतो पनि। सायद यो कुरा त्यसबेला व्यक्त भएको भए भन्ने कुराले धेरै बेरसम्म सोच्न बाध्य बनायो।

आफूले चाहेअनुसारको मात्र हुने पनि त होइन। उनीसँग पहिलाभन्दा पनि नजिकको साथी हुन पाउँदाको खुसी मसँग धेरै थियो। सायद उनी पनि खुसी नै देखिन्थिन्। हाम्रो सामीप्यले जीवनमा निकै खुसी ल्याएको थियो।

एकदिन उनले भनिन्, ‘हाम्रो भेटघाट रोक्नुपर्छ।’ उनको कुरा सुनेर म स्तब्ध भएँ। मबाट गल्ती भयो कि भन्ने लागिरह्यो। मलाई नमजा लाग्यो। जवाफ दिएँ, ‘तिम्रो त्यही इच्छा हो भने म के भनम्।’

अर्को दिन म्यासेन्जरमा कुरा गर्न नसक्ने जनाउ आइसकेको थियो। म ब्लक लिस्टमा परेछु। आजसम्म मैले थाहा पाएको छैन, आखिर लामो समयपछि किन जोडिइन् र म ब्लक लिस्टमा किन परें। मैले उनलाई कतै भेटें भने यही प्रश्न सोध्न मन छ कि हिजोसम्म सर्वाधिक नजिकको भनिएको म कसरी निषेधित सूचीमा परें? 

प्रकाशित: २ वैशाख २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App