१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

हिमालको फेदीमा

बालकविता

 १) हिमालको फेदीमा

हिमालको फेदीमा मेरो सानो घर छ,

सानुसानु घरको छानामाथि खर छ।

दिनमा छ शीतल न्यानो हुन्छ रातमा,

पहिलोचोटि झुल्किन्छ झुल्के घाम प्रातःमा।

हिउँ खोलीले गाउँदा डाँफे चरी नाच्दछ,

डाँडाकाँडा सिंगारी लालीगुराँस हाँस्दछ।

यार्सागुम्वा चारौंले खाई हामी बाँचेका,

हेर्न आऊ साथी हो डाँफे मुनाल नाचेका।

सानोसानो घरको सानोसानो आँगनी,

मिलिमिली नाचौंला मारुनी र सँगिनी।

  २) पाले दाजु

पाले दाजु  टिङ् टिङ् टिङ् टिङ् घण्टी बजाइदेऊ न,

गमलामा फूल सारी स्कूल सजाइदेऊ न।

स्कूलको हाताभित्र कसले पार्‍यो मैलो,

उघारिदेऊ न पाले दाजु हाम्रो क्लासको दैलो।

हामी खेल्ने मैदानमा दूबो रोपी देऊ न,

डढ्ने फोहोर डढाइदेऊ सड्ने छोपी देऊ न।

पाले दाजु हाम्रै साथी हामी दिन्छौ साथ,

स्कूल घर सफा राख्न हाम्रो पनि  हात।

हामी पनि स्कूलको सरसफाइ गर्छौ,

धुलो पुच्छन् पाले दाजु हामी पानी छर्छौ।

हामीलाई नि सानोसानो कुचो बनाइदेऊ न,

हामी पनि फूल रोप्छौ स्कूलको छेउमा।

पोहोर साल रुख रोप्यौं अहिले ठूलो भयो,

रुख बुटा काटिदिंदा वनमा पहिरो गयो।

यो साल पनि असारमा रुख रोप्छौं हामी

हाम्रो स्कुल हाम्रो कोठा बनाउँछौ दामी।

 ३) मेरी सानी नानी छ

सानीसानी नानी छ,

सारै राम्रो बानी छ।

सुन्दरताकी खानी छ,

हामीभन्दा ज्ञानी छ।

पुतलीको हाँसो छ,

जेमा पनि चासो छ।

जून जस्तो हाँस्दिन्छे,

पुतलीझैं नाच्दिन्छे।

बुबुमाम खाएर,

राम्रो नाना लाएर।

तातेताते गर्छे,

अनि मक्ख पर्छे।

(हरि कट्टेलकाे बालकवितासंग्रह ‘हिउँचुलीमा हिउँ ’मा सङगृहीत।)

प्रकाशित: २७ चैत्र २०७९ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App