२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

लेकालीलाई बीडी त्यागी स्मृति सम्मान

बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृति सम्मान-२०८० साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निर्णय गरेको छ। लेकाली यसअघि ५ दर्जनभन्दा बढी राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित भइसकेका छन्। लेकालीका १ दर्जन बढी कृति र विभिन्न सम्पादनका कृति प्रकाशित छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष लेकाली हाल साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष हुन्।

केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो।

यसैगरी एक सय एक रुपैयाँको सिक्काको थैली रहेको बीडी त्यागी स्मृति पुरस्कार साहित्यकार रामचन्द्र दाहाललाई, बीडी त्यागी योगदान सम्मान प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे र बीडी त्यागी प्रतिभा सम्मान साहित्यकार सरु पोखरेललाई प्रदान गर्ने पनि निर्णय गरेको छ।

यसरी नै केन्द्रले हरेक वर्ष साहित्यिक गतिविधि र उत्थानका लागि अनुकरणीय कार्य गर्ने गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान यसपटक बुढानिलकण्ठ नगरपालिका १२ नम्बर  वडाका वडाध्यक्ष शम्भु भट्टराईलाई प्रदान गर्ने भएको छ।

सो निर्णय उपन्यासकार शंकर भारती संयोजक र साहित्यकार गंगा पौडेल र संस्थाका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरिएको केन्द्रले जनाएको छ।

आगामी वैशाख १८ गते साहित्यकार बीडी त्यागीको बीसौं स्मृति दिवसमा सम्मान अर्पण गरिने अध्यक्ष कृष्ण आचार्यले बताए।

१०८ स्वामी गोपालानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शिशाभित्र कथासंग्रह, उत्पात हास्यव्यंग्य उपन्यास, वैराग्य नाटक, शुभेच्छा कवितात्मक एल्बम, अठार अध्याय गीता महात्म्य, धोती न टोपी लोककथासंग्रह, समृद्धि सपना राजनैतिक उपन्यास, चार थुम्का उपन्यास कृतिहरू प्रकाशित भएका साहित्यकार बीडी त्यागीको २०६० साल वैशाख १९ गते ६४ वर्षको उमेरमा निधन भएको थियो।

उनको निधन भएपछि उनको सम्झनामा स्थापना गरेको बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष स्मृति दिवसमा सम्मान अर्पण गर्दै आएको छ।

हालसम्म सयभन्दा बढीले त्यागी स्मृति सम्मान पाएका छन् भने उनको हीरक जन्मजयन्तीको अवसरमा एकैपटक पचहत्तर जना स्रष्टालाई त्यागी हीरक जयन्ती सम्मान प्रदान गरिएको थियो।

प्रकाशित: २६ चैत्र २०७९ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App