२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

द्वारकाधाम र केही ज्योतिर्लिङ्ग दर्शन

कल्पयात्री देवर्षि नारदले पुराण–पात्रहरूलाई यथासमय सतर्क गराएर, संस्कृत साहित्यका महान् कवि कालिदासले मेघदूत रचना गरेर तथा भारविले यात्रा गर्नुपूर्व ‘सहसा विदधीत न क्रियाम् (कुरा नबुझी हतारमा काम नगर्नू)’ लेखेर र चाणक्यले तक्षशिलासम्मको यात्रा गरेर हिन्दमहासागरीय क्षेत्रलाई सभ्य र सुसंस्कृत बनाउन सहयोग गरेकै हुन्। आदिकवि भानुभक्त आचार्यले यात्राकै क्रममा घाँसी फेला पारे र रामायण लेखे। प्रकृतिवादी कवि अल्डोअस हक्सले भन्छन्–भ्रमणले अरू स्थानबारे आफूमा रहेको गलत धारणा निकालिदिन्छ। महाकवि देवकोटाले ‘कुन मन्दिरमा जान्छौ यात्री’ भनेर सोधेको प्रश्नले धर्मभीरु भनाउँदा यात्रीलाई सतर्क गराएकै छ। यात्राले प्रत्यक्ष रूपमा ज्ञान, अनुभव, अविस्मरणीयता र सुचरित्रता दिन्छ।

प्राकृतिक पर्यटनसँगै संसारमा धार्मिक पर्यटनको पनि उत्तिकै महत्व छ। धर्म नमान्नेले पनि धर्म, अध्यात्म, संस्कृति र सामाजिक रहनसहन बुझ्ने वा अवलोकन गर्ने हिसाबले त्यस्ता स्थानहरूको भ्रमण गरेकै हुन्छन्। नीतिको यौटा भनाइ छ–अन्य क्षेत्रे कृतं पापं धर्म क्षेत्रे विनश्यति, धर्म क्षेत्रे कृतं पापं वज्रलेपो भविष्यति। अर्थात् अरूतिर गरेको कुकर्म धर्मस्थलमा पुगेपछि नास हुन्छ तर धर्मस्थलमा गरेको कुकर्म भने वज्रलेप भएर बस्छ। यस विषयलाई यसरी जोडेर हेर्न सकिन्छ।

मान्छेले जीवनमा जान–अन्जानवश केही गल्ती गरेकै हुन्छ। तीर्थाटन त्यसको प्रायश्चित्त पनि हो। आयन्दा कुनै नराम्रो कर्म पनि नगरौं भनेर धर्म क्षेत्र पुगेर गरिने प्रण पनि हो। चित्त शान्ति र भौतिक आनन्दका लागि पनि यस्तो यात्रा अनिवार्य ठानिन्छ।

श्रवणकुमारले आफ्ना बाबुआमालाई खर्पनमा बोकेरै भए पनि धार्मिक यात्रा गराए। यसरी धर्मयात्रा प्राचीन कालदेखि नै हाम्रो जीवनमा नङमासुजस्तो बनेको पृष्ठभूमिलाई सम्झेर हाम्रो ज्येष्ठ नागरिक समूह पनि निकै उत्साहित बन्यो।

केही सेवानिवृत्त र प्रौढ व्यक्तिहरूको जमघटले २०७९ सालको दशैंपछि र तिहारअघिको समयलाई सदुपयोग गरी तीर्थयात्रामा जाने निर्णय गर्‍यो। रेलबाट जानका लागि अगावै त्यति सोचिएन। यसर्थ यस पटकको यात्रा बसबाटै गर्ने निधो भयो।

राम जन्मभूमि (अयोध्या, उत्तरप्रदेश)

हाम्रो यात्राको पहिलो बिसौनी आयोध्या भयो। यो स्थानको दर्शन गर्नु आत्मिक तथा भावनात्मक अन्तर्बोध पनि हो। त्यहाँ एकजना मौनव्रत धारण गर्ने मौनी बाबा छन्। उनले राममन्दिर नबनेसम्म नबोल्ने वाचा गरेको बुझियो। उनीसहित अन्य योगी, विद्वान्, धर्मपालक, सिद्ध र मन वचन कर्मले श्रीरामप्रति समर्पित हुनेहरूको विश्वव्यापी आह्वान र सहयोगबाट हालसम्म ३२ अर्ब रूपैयाँ उठेको अनुमान छ। जसमा सरकारी रकम समावेश छैन। यस क्रममा हाम्रो पनि सानो योगदान रह्यो।

शालिग्राम र देवशिला पाइने नेपालको दामोदर कुण्ड तथा मुक्तिनाथजस्ता पवित्र धामबाट निःसृत हुँदै म्याग्दी जिल्लाको गलेश्वर नजिकमा प्रवाहित कालीगण्डकी जलाधारबाट क्वार्टसाइट तथा क्यालसाइट जातका २६ तथा १४ टनका दुई विशाल शिलाहरूलाई तत्स्थानमा क्षमापूजा गरियो।

हामी अयोध्याका मठमन्दिर घुम्ने क्रममा यौटा दरबारजस्तो महलमा पुग्यौं। सीताजी विवाहित भई अयोध्या आएपछि कौशल्या, सुमित्रा रानीहरूले मुख हेर्दा सीताजीलाई गरगहना दिएका थिए। तर कैकेयीले ‘कनक भवन’ नामको कलात्मक महल नै दिइछन्, यो त्यही रहेछ। राजा दशरथले चाहिँ तिम्रो नाम दुनियाँले रामभन्दा अगाडि अर्थात् ‘सीताराम’ भनी लिऊन् भन्ने कालजयी उपहार दिएको कुरा हामीलाई एक पथप्रदर्शकले रोचक हिसाबले भनेका थिए। त्यहाँ बाहिर रहेका अग्ला हनुमानको पनि दर्शन गरियो। यसै स्थानमा मोबाइलको सिमकार्ड लिन खोज्दा नेपालीको नागरिकताले नहुने, राहदानी नै चाहिने कुरा पसलेले भन्यो। सामान्यतः यसबाट के पूर्वानुमान गर्न मिल्छ भने अब भारतले बिस्तारै भारत प्रवेशका लागि नेपालीबाट राहदानी नै खोज्दै छ तर यस मामलामा नेपालले के हैसियत देखाउँछ मनन योग्य छ। जे होस् व्यवस्थापन समितिबाट नै हामी ५/७ जनाका निम्ति दिइएको सिममा ४ हप्तालाई पुग्ने रिचार्ज गरियो।

नैमिषारण्य क्षेत्र (उत्तर प्रदेश) को अवलोकन

 

नैमिषारण्य क्षेत्रमा भगवान् विष्णु र देवादिदेव महादेवको संयुक्त हरिहर मूर्ति। तस्बिर: काशीराज आचार्य

मार्कण्डेय पुराण अनुसार यस नैमिषारण्य क्षेत्रलाई ८८ हजार ऋषिहरूको तपस्थली मानिन्छ। निमेषभर मै भगवान्द्वारा असुरहरूको दस्तालाई नास गरिएकाले यसको नाम नैमिषारण्य रहेको भन्ने भनाइ छ। विष्णु भगवान्को चक्रको सानो भाग यहीं खसेको हुनाले यहाँको चक्रतीर्थ पोखरीमा स्नानको ठुलो महिमा छ। गोमती नदी किनारमा रहेका विष्णु, दुर्गा, सरस्वती, शिवका विशाल मनमोहक मूर्तिहरू र त्यस वरपरका ललिता देवी मन्दिर, व्यास तथा शुकदेवका गद्दीआसनको दर्शनले तीर्थालु मनलाई आह्लादित बनायो।

मथुरा वृन्दावन (उत्तर प्रदेश)

यस क्षेत्रका महत्वपूर्ण ठाउँहरू मथुरा, वृन्दावन र गोकुल हाम्रो यात्रामा परे। रमण रेती (बालुवामा खेल्ने) र वर्षाना (राधाको माइती) हामी पुग्न सकेनौं। मथुरा र वृन्दावनको दुरी १६ किलोमिटर छ। मथुरास्थित कृष्ण जन्मभूमि परिसरमा भगवान् श्रीकृष्णको मन्दिर, देवकी–वासुदेवलाई थुनामा राखिएको कारागार, विभिन्न देवीदेवता र ऋषिमुनिका मूर्तिहरू, आदिकवि भानुभक्त आचार्यसहित संसारमा रामायण लेख्ने महाकविहरूका मार्बलमा स्केच स्वरूप सबैतिर हाम्रो अवलोकन तथा नमन पुग्यो। यस भव्य कृष्ण मन्दिर साँझ आरतीका बेला दर्शनार्थीको ठुलो भिडले अझै गरिमामय बनायो। कृष्णमन्दिरसँगै टाँसेर मुस्लिम बादशाह औरङ्गजेबले मस्जिद बनाएको देख्दा अरूतिरजस्तै हिन्दु पवित्र स्थानलाई अतिक्रमण गरेको यहाँ पनि स्पष्टै देखियो।

दर्शन तथा अवलोकनका सिलसिलामा हामी ससाना झाडीजस्ता १०÷१२ फिट अग्ला बोटहरूले ढाकेको ‘निधिवन’ नामक एक ठाउँमा पुग्यौं, जहाँको वनस्पतिलाई तुलसी पनि भनिन्छ। त्यहाँ राति राधा र कृष्ण रासलीला गर्छन् र त्यो कसैले देखेमा त्यसको मृत्यु हुन्छ भन्ने विश्वास चलिआएको छ।

मेहन्दीपुर बालाजी (राजस्थान)

यात्राका क्रममा हाम्रो बिहानको खाना खाने समय मेहन्दीपुरमा पर्‍यो। खाना तयार होउन्जेलको समय हाम्रा लागि भगवान् बालाजीको दर्शन गर्न उपयुक्त क्षण बन्यो। हनुमानको वचपनको रूप वा कतिपय भनाइमा हनुमानजीका पुत्र मकरध्वजलाई समेत बालाजी भन्ने गरेको बुझियो। मूल मन्दिरमा यति भिड रहेछ कि भित्र पस्न गाह्रो भयो। तर गजब के भयो भने ठेलमठेल गरी जाँदा मूल ढोकाबाटै भगवान्को दर्शन मिल्ने पनि रहेछ। यसपछि हामी हनुमानजीको १५० फिट अग्लो मूर्तिमा दर्शनार्थ गयौं। योसँगै वालीसुग्रीव, सुरसा गुफा र यसभित्र राम, सीता, लक्ष्मण, दुर्गा र संक्षेपमा रामायणको झलक देखाउने खालका मूर्तिहरू रहेका छन्।

पुष्करराज (राजस्थान) श्राद्ध

गत साँझ नै भोलिको श्राद्धका निम्ति तयार हुन हाम्रो कोठामा ६÷७ भाइको मुण्डन कार्य सम्पन्न गरियो। भोलिपल्ट पुष्कर सरोवरको किनारमा राम्रोसँग निर्मित सिँढीमा क्रमशः माथिदेखि तलसम्म बसी पितृस्मरण, तर्पण र पिण्डदानका माध्यमद्वारा श्राद्धकर्म सम्पन्न गर्ने मौका पाइयो। यहाँका पण्डितले आफ्ना स्वर्गीय नातागोता सबैलाई तर्पण दिन आह्वान गरे। श्राद्ध सामग्री, पुरोहित दक्षिणा, ब्राह्मण भोजन आदिका लागि न्यायोचित हिसाबको रकम तोकिएको हुनाले यहाँ हामीले पण्डितजीसँग दानदक्षिणाका सन्दर्भमा कुनै पनि प्रकारको मोलमोलाइ गर्नु परेन।

ब्रह्मा मन्दिर (पुष्कर, राजस्थान)

पुष्कर तलाउदेखि थोरै दुरीमा स्थित सृष्टिकर्ता ब्रह्माजीको विश्वमा नै एक मात्र रहेको मन्दिर हामीले श्रद्धावश दर्शन गर्यौं। आफैंमा अलग आकर्षणको विषय बनेको यस मन्दिर र ब्रह्मापूजाबारे एउटा घतलाग्दो प्रसङ्ग छ। पौराणिक कथनअनुसार ब्रह्माजीले यज्ञ गर्ने स्थान निर्क्याेल गर्न पृथ्वीलोकमा छोडेको कमलको फूल पुष्करमा झर्‍यो। उनलाई तत्काल यज्ञ गर्नुपर्ने थियो तर उनकी श्रीमती सावित्री अन्यत्र गएकी र उनी फर्कन ढिला गरेकी हुनाले मुहूर्त छोप्न गायत्रीदेवीलाई प्रकट गरी पत्नी बनाई ब्रह्माले यज्ञकर्म सुरु गरे। त्यति बेला नै सावित्री टुप्लुक्क आइपुगिन् र आफ्नो अधिकार प्रयोग गर्न नपाएको झोंकमा ब्रह्माको पूजा कतै नहुने श्राप दिइन्। तर देवताहरूको अनुनय विनयपछि पुष्करमा मात्रै पूजा हुनसक्ने गरी स्थिति सम्हालियो। यसरी ब्रह्माजीको एकमात्र पूजा हुने दुर्लभ स्थलमा हाम्रो उपस्थिति र मन्दिर दर्शन आफैंमा महत्वपूर्ण रह्यो।

मातृगया (सिद्धपुर, गुजरात)

यहाँ अवस्थित बिन्दु सरोवर हिन्दु धर्मावलम्बीले मान्ने पाँचवटा धार्मिक सरोवरहरू मध्ये एक हो। यहाँ आमा नहुनेले श्राद्ध गर्छन्। हाम्रो यात्रामा सम्बद्ध तीर्थालुमध्ये करिब एक चौथाइबाट मातृश्राद्धको काम भयो। यो स्थान नजिक खुला र सुविधाजनक धर्मशाला पनि रहेकाले हाम्रो बसाइ पनि रमणीय रह्यो। हिन्दु मान्यताका अन्य सरोवरहरूमा मानसरोवर (तिब्बत), नारायण सरोवर (गुजरात), पुष्कर सरोवर (राजस्थान) र पम्पा सरोवर (कर्नाटक) हुन्, जुन हाम्रो यसपटकको यात्रामा परेनन्।

चामुण्डादेवी (गुजरात) को दर्शन

चोटिला सहरको पहाडी शिखरमा अवस्थित चामुण्डा देवीको मन्दिर पुग्न करिब ५०० खुड्किला उकालो चढनुपर्छ। फेदीको ढोका बिहान ५ बजे खुलेपछि भक्तजनको लर्को लगातार माथिसम्म नै पुग्ने गरी देखियो। चामुण्डाका तीनवटा मूर्ति रहेको मन्दिरमा पुजारीले बिहानीको पूजापाठ र आरतीसँगै हाम्रो दर्शनको काम पनि तमाम भयो। त्यही मन्दिर परिसरको तल्लापट्टि रहेको महादेवलाई पनि श्रद्धाभाव अर्पण गरियो।

द्वारकाधाम दर्शन (गुजरात)

हिन्दु धर्मावलम्बीले अनिवार्यतः आफ्नो जीवनकालमा गर्नुपर्ने चारधाममध्ये एउटा धाम हो द्वारकाधाम। यो धाम भारतको पश्चिम दिशामा रहेको छ। द्वारकामा बडेमाका पत्थरहरूको गाह्रो, ढुङ्गाहरू छापेको परिसर, बलिया काठ तथा पत्थरहरूको खम्बा, नाल आदिले थामिएको शिखर शैली बनावटमा बहुमूल्य धातु र मणिमाणिक्यबाट सुसज्जित श्रीकृष्णको मन्दिर छ। ठुलो सुरक्षाको साङ्लोबाट विधिवत् छिर्दै साँझपख र बिहानीको प्रत्यक्ष दर्शन एवं आरतीको भव्यतामा संलग्न भइयो। यो नै हाम्रो यात्राको उत्कर्ष हो र यहाँबाट हाम्रो फिर्ती भ्रमण सुरु भयो।

नैमिषारण्य क्षेत्रबाट बग्दै आएर अरब सागरमा समाहित हुनु ठिक अघि रहेको गोमती नदी किनार क्षेत्रमा बसी हामी सबै तीर्थालुले श्राद्धकर्म पनि सम्पन्न गरियो तर उचित थलो पत्ता लगाई गाई, साँढे र सुँगुरको आवतजावतबाट बचेर काम गर्न धेरै गाह्रो भयो।

नागेश्वर (गुजरात) ज्योतिर्लिङ्ग

हाम्रो यात्रामा ज्योतिर्लिङ्गहरूको दर्शन गर्ने क्रम यहाँबाट सुरु भयो। द्वारकाबाट बेटद्वारका जाँदा बाटोमा नागेश्वर (दारुका वन), ज्योतिर्लिङ्गको दर्शन गरियो। यहाँ हनुमानजीको पनि विशाल मूर्ति छ। भारतमा भएका १२ वटा ज्योतिर्लिङ्गमध्ये यसपटक हामीलाई ५ वटाको मात्र दर्शन गर्ने अनुकूल भयो, जुन क्रमशः तल उल्लेख गरिएको छ। हाम्रो यस पटकको यात्रा योजनामा नपरेका अन्य ७ ज्योतिर्लिङ्ग हुन्–मल्लिकार्जुन (आन्ध्र प्रदेश), भीमशङ्कर (महाराष्ट्र), वैद्यनाथ (झारखण्ड), त्यम्बकेश्वर (महाराष्ट्र), रामेश्वरम् (तमिलनाडु) र घ्रिष्णेश्वर (महाराष्ट्र) रहेका छन्। यसबाहेक उत्तराखण्डस्थित केदारनाथ चाहिँ महाभारत युद्धमा आफ्ना भाइबन्धुको हत्या गर्नुपरेकोमा प्रायश्चित्तस्वरूप पाण्डवहरूले स्थापना गरेको भन्ने भनाइ छ।

गोपी तलाउ हुँदै बेटद्वारका दर्शन

वैष्णवहरूले लगाउने पवित्र गोपीचन्दन वा तिलक यही गोपी तलाउबाट उत्पन्न भएको हो भन्ने भनाइ छ। सनातन हिन्दु धर्ममा यसको महत्व निकै ठुलो छ। हामीले पनि यहाँबाट गोपीचन्दन लिइयो। यस तलाउ वरपरका तेर्सा रुखहरूमा चढेर हाम्रा साथीहरूले मनोरञ्जनात्मक तस्बिरहरू लिए।

द्वारकाबाट करिब ३५ किलोमिटर स्थलमार्ग र ५ किलोमिटर जलमार्ग तय गरेपछि बेटद्वारका नामक प्रायद्वीपमा पुगियो, जसलाई तीनतिरबाट पानीले घेरिएको छ। गुजराती भाषामा द्वीपलाई बेट भनिदो रहेछ। यही स्थानमा सुदामासँग कृष्णको भेट भएको र सुदामाले कृष्णलाई कनिका–भेट दिएकाले पनि यसलाई भेटद्वारका भनिएको हो भन्ने कथन छ।

सोमनाथ ज्योतिर्लिङ्ग (गुजरात)

गुजरात सौराष्ट्रस्थित सोमनाथ मन्दिर सुन, चाँदी र श्रीखण्डजस्ता बहुमूल्य वस्तुबाट सजिएको छ। समूह–समूह गरी दर्शनको व्यवस्था मिलाइएको यस मन्दिरस्थित ज्योतिर्लिङ्गको दर्शन अपेक्षाकृत निकै सहज किसिमले गरियो। यस मन्दिरको पुनर्निर्माण, विकास र संरक्षणका सम्बधमा पछिल्लो समय (१९५१) मा आएर स्वतन्त्रता सेनानी लौहपुरुष बल्लभभाइ पटेलको योगदानलाई स्मरणीय मानिँदो रहेछ। नजिकै रहेका राम मन्दिर, शंकराचार्य गादी, शारदा मठ, सूर्य मन्दिर, हिंगलाज माता, गीता मन्दिर, लक्ष्मीनारायण मन्दिर, श्रीकृष्ण चरण पादुका आदिमा पनि हाम्रो दर्शन भेट रह्यो।

सोमनाथको तटीय भागलाई समुद्रतिरबाट अतिक्रमण नहोस् भनी बलियो तटबन्ध गरिएको छ। यसपछि हामी यान्त्रिक–नौकाबाट नजिकैको कपिल, हिरण र सरस्वती (अदृश्य) नदीको महासङ्गममा पुगियो। यसरी जाँदा बायाँपट्टि रामकथा वाचक प्रसिद्ध धर्मगुरु श्री मोरारि बापुको आश्रम पनि टाढाबाट दर्शन गर्न पाइयो।

सुदामा आश्रम (गुजरात)

सोमनाथबाट हिँडेपछि बाटोमा पर्ने सुदामा आश्रममा पसियो। त्यहाँ सुदामा र श्रीकृष्णका मन्दिर, भेटघाटका मूर्ति, अन्य देवीदेवताका ससाना मन्दिर आदिको दर्शन भयो। नेपालको पशुपतिनाथ मन्दिरसँगै रहेको चौसट्ठी लिङ्गको परिक्रमा–जालो भएजस्तै यस आश्रम परिसरमा पनि लखचौरासी भनिने पद–जालो रहेछ। मुस्किलले दुई खुट्टा राख्न मिल्ने ट्रयाकमा भिडसँगै घुम्नुपर्दा अलिक समय लाग्यो। यहाँका स्थानीयको भनाइ अनसार यसै सुदामा आश्रम परिसर नजिकै रहेको द्वारकाधीशको मन्दिर नै श्रीकृष्णको यस क्षेत्रको पहिलो र वास्तविक मन्दिर हो, द्वारकामा पछि मात्रै स्थापना भएको हो।

अयोध्यामा भगवान् राम, सीता र लक्ष्मणका मूर्ति (माथि)। द्वारकाधाम र केही ज्योतिर्लिङ्ग दर्शनमा सहभागी लेखक तथा अन्य भक्तजन । तस्बिर: काशीराज आचार्य

महात्मा गान्धी (गुजरात)

यसपछि महात्मा गान्धीको जन्मस्थान पोरबन्दर पुगियो। उनी जन्मेको खोपीसमेत त्यहाँ यथावत् छ। त्यस्तै उनका प्रत्येक उमेर तहमा भएगरेका काम, सम्बोधन, भेटघाट, राजनीतिक घटनाक्रम, देशदेशावर भ्रमण, स्वदेशी तथा विदेशी नेतासँगको वार्तालाप, सम्झौता, ठुलो कदको मूर्ति, पारिवारिक सम्बन्ध र मृत्युसम्मका सम्पूर्ण ब्यहोरालाई चित्र र वर्णनसहितका लेख, अभिलेखको सङ्ग्रहालयिक स्वरूप त्यहाँ देख्न पाइयो।

महाकालेश्वर ज्योतिर्लिङ्ग (उज्जैन, मध्यप्रदेश)

लगभग सबै ज्योतिर्लिङ्गहरूको स्वरूप उस्तै देखिए पनि विभिन्न मन्दिरको परिवेशचाहिँ अलग अलग महत्वले बनेको देखिन्छ। विक्रमादित्यद्वारा निर्मित महाकालेश्वर मन्दिरको बाहिरी परिवेश अद्भुत आकर्षक छ जहाँ नटराज, विष्णु, दुर्गा, अन्य ऋषिहरू, विक्रमादित्य आदिका मूर्तिहरू साँच्चै नै मनलोलुभ छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यस क्षेत्रमा भोलिपल्ट भ्रमण हुने भएकाले मध्यप्रदेशका मुख्यमन्त्री यसै दिन पूर्वतयारीका लागि आउँदा ट्राफिक पथान्तरण भई त्यसको असर दर्शनार्थीसम्म आइपुग्यो र थोरै अस्तव्यस्त बनायो।

ओमकारेश्वर ज्योतिर्लिङ्ग (मध्य प्रदेश)

ओमकारेश्वर मन्दिर मान्धाता पहाडको नर्मदा नदीतटमा रहेकाले छुट्टै महत्वको देखिन्छ। यसको पारिपट्टि ममलेश्वरको मन्दिर पनि छ। यी दुवै एउटै ज्योतिका प्रतीक लिङ्ग मानिँदा रहेछन्। भिरपहराको किनारबाट बगेको नर्मदा नदी प्रयागराजमा गङ्गा नदीसँग समाहित हुन्छ। त्यसबाट पर्ने वातावरणीय प्रभाव, डुबानमा पर्ने जग्गा, सिँचाइ हुने क्षेत्र, बाँधको उचाइ, जैविक विविधता आदि विषयलाई लिएर ‘नर्मदा बचाउ अभियान’ सँग कैयौं दशकसम्म मतान्तर भएको थियो। हालमा सम्झौता भएर निर्माण कार्य रफ्तारमा चलेको जानकारी प्राप्त भएको छ।

प्रयागराज (इलाहावाद, उत्तर प्रदेश)

प्रयागमा गङ्गा, यमुना र सरस्वती नदीको सङ्गम रहेको छ। तर्पणादि कार्यका लागि यो स्थान निकै पवित्र मानिन्छ। प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला पनि यहीं लाग्ने गर्छ। नदी किनार नजिकको सामान्य गहिराइमा तीनतिरबाट तीनवटा डुँगा जोडेर त्यसको बीच भागमा यौटा चौपाइ चारैतिरबाट झुन्डाई पानीमा डुबाएर राखिने रहेछ। डोरीमा समाती त्यही चौपाइमा टेकेर नदीमा डुबुल्की मारिन्छ। हामीले पनि यसै गरियो। अनि उक्लेर माथि नौकामा आएपछि पन्डाले भनेबमोजिम दक्षिणा दिई आफ्ना पितृलाई तर्पण दिइयो।

काशी श्राद्ध (उत्तर प्रदेश)

‘काशी मरणान् मुक्ति’ अर्थात् काशीमा प्राण त्याग गर्दा मुक्ति पाइन्छ भन्ने गडिलो विश्वास हाम्रा पितापुर्खामा रहेका कारण मलाई यस ठाउँको विशेष महत्व लाग्नु स्वाभाविकै थियो तर दुःखलाग्दो कुरा मणिकर्णिका घाट यति फोहोर थियो कि सहरका मलमूत्रका खुला नाली र जनावरको जथाभावी आवागमनले गर्दा स्नानादि कर्म गर्न सकिने अवस्था थिएन। हामीले माथिपट्टि रहेको धारोबाट काम चलायौं। श्राद्ध गर्ने स्थान पनि मुस्किलले मिलाइयो।

काशीविश्वनाथ ज्योतिर्लिङ्ग (उत्तर प्रदेश)

वाराणसीस्थित प्रख्यात काशीविश्वनाथको मन्दिर प्रवेशका लागि हाम्रो लाम घचेटिँदै गयो। दर्शनार्थीको घुइँचोले हामीलाई स्वचालित बनाइदियो। पौराणिक भनाइअनुसार महादेव स्वयंले पार्वतीका लागि विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा आफैलाई स्थापित गरेका हुन्। वाराणसीबाट गयातर्फ जाँदा बीच बाटोमा विन्द्याचल भगवतीको दर्शन भयो र त्यहाँ तीर्थेउपहार दिनका लागि केही किनमेल पनि भयो।

गया (बिहार प्रदेश)

फाल्गु नदीको किनारस्थित गया श्राद्धका निम्ति प्रसिद्ध तीर्थस्थल मानिन्छ। यस नदीमा पहिले पानी थिएन। बालुवा खोस्रेर पानी निकाली श्राद्ध गर्नुपर्थ्याे।

हामीसँगै जाने कतिपय साथीले ४ वर्षअघि यस ठाउँमा पुग्दा हिउँदमा नेपालका चुरे नदीको बगरजस्तै हुने र खोस्रेर पानी निकाल्नुपरेको कुरा गर्थे तर अहिले भने टन्नै पानी देखियो। उनीहरू पनि चकित परे। हालमा नदीको तल्लापट्टि बाँध बनाइएको रहेछ र पानी पूरा तालिएको छ। अलिक माथि विष्णु पादुका मन्दिर पनि छ। श्राद्ध कर्मपछि यस मन्दिरको दर्शन गर्नु अनिवार्य रहेछ।

श्राद्धका निम्ति यहाँ राम्रै स्थान पाइयो। एकजना पण्डितले पहिले अभिमुखीकरण तालिमजस्तो गरी गयाको धार्मिक र पिण्डदानको महत्वबारे प्रवचन दिए। यिनको बोलीवचन स्पष्ट थियो, टुटेफुटेको नेपालीमा नै बोल्थे।

हरिहर क्षेत्र (बिहार प्रदेश)

गयाको कार्य सकी हिँडेपछि गङ्गा नदी माथिको ९ किलोमिटर लामो पुल कटेपश्चात् गण्डक (नारायणी) नदीको वरपरको हरिहर क्षेत्रमा पुगियो। त्यहाँ हरिहर मन्दिरको दर्शन र साँझको गण्डक आरतीको झिलिमिली पनि अवलोकन भयो। एकजना व्यक्ति राति ११ः३० बजे हामी बास बसेको धर्मशालामा उही लालमोहरिया पन्डाको हवाला दिएर पैसा उठाउन आए। त्यतिबेला हामी यात्राको अन्तिम सङ्घारमा भएकाले पैसा पनि झन्डै सकिएको अवस्था थियो। पहिलो झमटमा नै म परेकाले मैले केही रकम दिएँ। अरू त उठ्नै मन गरेनन्।

यात्रा अनुभव र विश्लेषण

क. सिट प्लानिङ

यात्रामा सबै यात्रीलाई समान सुविधा मिलाएर गाडीको सिटमा कसरी राख्ने भन्ने कुराले धेरै महŒव राख्दो रहेछ। पहिलेदेखि नै अगाडि बसेको यात्री क्रमशः पछाडि सर्दै जाने र पछाडिको क्रमशः अगाडि सर्दै जाने योजना सोचिएको हो। यसको मेसो पाउन र हामीलाई २/३ दिन लाग्यो। यसको प्राविधिक पक्ष मिलाउन कमला पौडेल तथा सबला अधिकारीको बुद्धि र कमला आचार्यको पहिलो सुरुआतले काम गर्‍यो। हाम्रो समूहमा लगभग ४० देखि ७० वर्ष उमेरका यात्री थियौं। माथिको योजना सोलोडोलो सबै यात्रीका निम्ति लागु हुँदा केही पाका र ढाड तथा घुँडा दुख्ने समस्या भएका यात्रीका लागि त्यति न्यायसङ्गत नभएको कुरा पनि निस्कियो।

ख.धर्मशालाको बास

यात्राको क्रममा हाम्रो बास धेरैजसो धर्मशालामा नै भयो। सामान्य होटलभन्दा चालु धर्मशालामा बस्नु नै उपयुक्त लाग्यो। हाम्रो भ्रमण मार्गमा पर्ने धर्मशालामध्ये चामुण्डा धर्मशाला, पञ्चायत राजपुरोहित धर्मशाला, चक्रतीर्थ धर्मशाला, सूर्या प्यालेस (अयोध्या) आदि बस्नका लागि राम्रा नै लाग्यो। धर्मशाला बसाइको राम्रो पक्ष यो हो कि यी त्यति अग्ला हुँदैनन्, तलमाथि गर्न सजिलो हुन्छ, बार्दलीमा कपडा सुकाउन मिल्छ, बीचमा बहाल हुन्छ, जमघट हुन सजिलो पर्छ। प्रायः धर्मशाला मठमन्दिर नजिकै हुने हुनाले देवीदेवताको दर्शन गर्न र बिहान बेलुकाको आरतीमा संलग्न हुन सहज हुन्छ। धार्मिक मनस्थितिका मान्छे बस्ने भएकाले सुरक्षाका दृष्टिले पनि यस्ता ठाउँ उपयुक्त हुन्छन्।

ग. तीर्थस्थलमा पण्डाको बिगबिगी

तीर्थयात्रीलाई मठमन्दिर दर्शन, पाठपूजा र कर्मकाण्ड गराएर त्यसबाट प्राप्त आम्दानीले आफ्नो जीविका चलाउने व्यक्तिलाई पण्डा भनिन्छ। पण्डा शब्द पण्डितबाट आएको हुनुपर्छ।

पण्डाहरू सायद सबै खराब हुँदैनन्, तर शब्दले नै हामीलाई तर्साउने गरेको छ। टीका, प्रसादको अपेक्षा गरी बसेका भक्तजनलाई पण्डाले भनेबमोजिमको रकम नचढाउने हो भने ‘तुम्हें कुछ नहीं मिलता जाओ’ भनेर घचेटेरै पठाइदिएको अनुभव हामीलाई भयो।

घ.खाना तथा खाजा व्यवस्था

यात्रामा बिहान र बेलुकाको खाना व्यवस्थापन पक्षबाटै भएको थियो। दिउँसोको खाजा प्रबन्ध यात्रुबाटै गर्नुपथ्र्यो। धेरैजसो यात्रीले आफूले घरबाट ल्याएका र बाटोमा किनेका खाद्यहरू आपूर्ति गरेका थिए। बीच बाटोका ढावा, होटेलमा कहिलेकाहीं चियानास्ता गर्न रोकिइन्थ्यो। १० रूपैयाँमा यति सानो कागजी कपमा चिया पाइन्थ्यो कि ९० एमएल जतिको परिमाणको चिया यदि चिसो हुन्थ्यो भने एकै घुट्कोमा समाप्त हुन्थ्यो। कुनै कुनै मनकारी यात्रीले आफ्नै पैसाले होटेलमा चियानास्ता, फलफूल, चना, चिउरा, भुजिया, सातु र ड्राइफ्रुट्स आदि खुवाएर सेवा पुर्‍याए। धन हुनेको भन्दा पनि मन हुनेको सेवाले त्यहाँ प्रश्रय पायो।

ङ. दैनिक समीक्षा र समूहगत हिँडाइ

साँझको बासमा आज केके घटना भयो र कहाँकहाँ पुगियो, केके विषयमा सुधार गर्नुपर्ने थियो, केके कुराको अभाव रह्यो र भोलि कहाँ कहाँ गइँदै छ भनी छलफल हुन नसक्नु संयोजन समितिको कमजोरी हो। यस्तो विमर्शले यात्रुको मनोविज्ञान र मानसिकतालाई अर्को गन्तव्यप्रति सहजोन्मुख बनाउँथ्यो। तर हाम्रो यात्रातालिका निकै कसिएको हुनाले राति ९/१० बजेतिर बासस्थान पुग्ने र भोलिपल्ट ५ नबज्दै प्रस्थानका लागि तयार हुनुपर्ने अवस्था हुँदा यस्तो मौका मिलाउन गाह्रो भयो। मुख्यतः नै गन्तव्यको राम्रो अध्ययन गर्ने, मुख्य स्थानमा पुगेपछि दर्शन गर्नैपर्ने ठाउँको पूर्व जानकारी लिई यात्रातालिका तयार गर्नु बुद्धिमानी हुन्छ। प्रस्थानपूर्व नै यस्तो छलफल नहुँदा नारायण सरोवर र चित्रकूट भ्रमणको सन्दर्भ ख्यालख्याल मै निस्कियो र तुहियो पनि।

देवघाटधाम (चितवन, तनहुँ)

हाम्रो तीर्थयात्रा समूह पटना हुँदै गङ्गा नदीमाथिको ९ किलोमिटर लामो पुल पार गरी हरिहर क्षेत्र भएर अन्तिम दिन भिठामोर, महोत्तरीबाट पाशुपतक्षेत्र नेपालमा प्रवेश गर्‍यो। जनकपुरमा जानकीमाताको दर्शन गरी देवघाटधाममा पुग्दा रातको ११ बजिसकेको थियो।

भनिन्छ, भारतका तीर्थ गरिसकेपछि नेपालका तीर्थालुले लगत्तैजसो देवघाट वा पशुपतिनाथ वा मुक्तिनाथ दर्शन गर्नु अनिवार्य छ। दामोदर कुण्ड, मुक्तिनाथ हुँदै आएको कालीगण्डकी र गोसाईं कुण्डको जलप्रवाहलाई बोकी झरेको त्रिशूली नदीको सङ्गम देवघाट हिन्दुधर्मावलम्बीहरूका लागि विश्वकै उत्कृष्ट धाममध्ये एक हो। यसलाई आदिप्रयागका रूपमा पनि लिइन्छ।

देवघाटमा स्नान तथा सेंचनको कार्य सकेपछि अब काठमाडौं पुगेर आआफ्नो गन्तव्यतर्फ लागिने हुँदा यस देवघाट क्षेत्रमा नै औपचारिक बिदाइका शब्द व्यक्त गर्ने निधो गरियो।  

प्रकाशित: २५ चैत्र २०७९ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App