आमा!
पराई देश छोडेर आउँदैछु
आँसु, रगत र पसिनाले साटेर
ओठमा-
अलिकति खुसी समेटेर ल्याउँदैछु
अगेनाको आगोभन्दा पनि धेरै तातो मरुभूमिमा
दुखी पाइतलाले टेक्दा-टेक्दा
चहर्याएर कुर्कुचा कमजोर स्वेटर जसरी फाटे पनि
तिम्रो सम्झनामा चिराचिरा हुने गरी
यो छाती फाटे पनि
फाटेको छैन आकाश जस्तो तिम्रो माया
सपनाको जहाजमा चढेर
सपनाकै महल उभ्याउन
आमा!
तिमीलाई घरको शून्य पिंढीमा छोडेर
एक्लैएक्लै
परदेश लागेको थिएँ
केके नै ल्याउँला भनेर
चराले जस्तै मिर्मिरेमा गाउँ छोडेको थिएँ
तर, केही ल्याउन सकिनँ
मलाई माफ गर आमा!
मैले तिम्रो चोली-बुलाकी फेर्न सकिन
खालि ल्याउन सकें मैले
मरुभूमिको हावाले पोलेको डाम
र,घर सम्झिएर रुँदा खसेको
आँसुको नाम
अनि केही कहालीलाग्दो सम्झना
हो आमा!
तिमीसित जुन बेला साथ टुट्यो
मलाई मायाले डोर्याउने हात छुट्यो
रातमाटे डाँडाको एक्लो वर जस्तो
पीडाको हुरी घाम र असिना सहँदै
बटुवालाई शीतल दिइरहनुपर्ने
न देखाउन मिल्ने मनको पिर
न जान सकिने हाम फाल्न भिर
पौडिएर तर्नुबाहेक आँसुको नदी
आइया भन्दै छाम्न मात्रै सकें
हृदयको घाउ
तर पनि आमा!
बाँचे कसरी वियोग सहेर
हाँसे कसरी विष पिएर
तर थियो मेरो जीवनमा
सँगै उभिने दुखहरूमा
जसको सागर जस्तो चोखो मायालाई
साक्षी राखेर
यति भन्न सक्छु आमा!
म तिमीलाई न गुमाउन सक्छु
न अरू पाउन सक्छु
बरु तिम्रो काखमा सिरानी राखेर
हरेक रात सपनामा पनि निदाउन सक्छु।
प्रकाशित: २४ चैत्र २०७९ ०७:४१ शुक्रबार