५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

राजधानीमा ‘जर्नी अफ फेसन शो’

बिहीबार साँझको समय छिप्पिँदै जाँदा  र्‍याम्पमाथि बिस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो। एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रूप रङ्ग, स्वरूप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए। 

नमुना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थीले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए। गए राति यहाँ आयोजित १७औँ संस्करणको जर्नी अफ फेसन: ‘कल्पनम् सत्यतात’ शीर्षकअन्तर्गत उनीहरूले तयार पारेका आ–आफ्ना डिजाइन प्रस्तुत गरेका थिए। 

तेत्तीस मोडलको प्रस्तुतिमा उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७औँ ब्याचका ८३ विद्यार्थी डिजाइनरको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिमा सम्पन्न भएको हो। कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेकी थिइन्। 

कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित ‘फेसन क्याटलग’को दोस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले  संयुक्तरुपमा विमोचन गरेका थिए।

उक्त परीक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुवी राणा, राष्ट्रिय सीप परीक्षण समितिका कार्यकारी निर्देशक डा कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

विद्यार्थीले तयार पारेका डिजाइन रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत गरिएका थिए। कलेजमा अध्ययनरत स्नातक तहको अन्तिम परीक्षामा सहभागी विद्यार्थीले परीक्षाअन्तर्गत डिजाइन प्रस्तुत गरेका हुन्।

प्रकाशित: २४ चैत्र २०७९ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App