काठमाडौं – पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा नेपाल प्रहरी र नागरिकको पहिलो रियालिटी गेम शो ‘पहुँच’ को विजेता घोषित भएका छन्। सर्च फर कमन ग्राउण्डले तयार गरिरहेको १३ भागको ‘पहुँच’ रियालिटी शोमा राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतेन र मोडल पर्बिना दहित फस्ट रनर अप र सेकेन्ड रनरअप घोषित भएका छन्।
गत साउनबाट टेलिभिजनमा प्रसारण भएको ‘पहुँच’ का विजेताको उपाधीसँगै पूर्व माओवादी लामाले दुई लाख प्राप्त गरेका छन्। त्यस्तै फस्ट र सेकेन्ड रनरअपले भने पचास हजार र तीस हजार प्राप्त गरेका छन्।
‘नेपाल प्रहरी टोलीले प्रदान गरेको तालिम र मागर्दन उपयोगी भएको छ। अबका दिनमा नेपाल प्रहरीसँग मिलेर काम गर्ने भएको छु । द्वन्द्वकालमा पुलिसप्रति मेरो मनमा नकारात्मक भावना थियो, तर पहुँच रियालिटी शोमा भाग लिँदा मैले पुलिस पनि हामीजस्तै हुन् र उनीहरुलाई हामी नागरिकको सहयोग चाहिन्छ भन्ने कुरा बुझें,’ विजेता लामाले भने।
रियालिटी शोमा सहभागिहरुले सुरक्षासँग सम्बन्धित विभिन्न बौद्धिक कार्यका मानव हत्या, चोरी डकैती, मानव बेचबिखन तथा तस्करी र सडक सुरक्षा लगायत चरणहरु पार गरेका थिए। सुरक्षा तथा न्याय क्षेत्रप्रति आमनागरिकलाई जागरण गराउने उदेश्यले रियालिटी शो निर्माण गरिएको हो। ‘प्रहरीले कामका दौरान भोग्ने कठिनाइ तथा दैनिक सामना गर्नुपर्ने चुनौतीहरुबारे नागरिकमा सचेतना जगाउने उद्देश्य समेत यस रियालिटी शो निर्माण गरेका थियौंं, ’सर्च फर कमन ग्राउण्डका युवाकरराज राजकर्णिकारले भने।
रियालिटी गेम शोलाई निर्देशक छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन्। यो कार्यक्रममा विभिन्न सामाजिक र राजनीतिक सोच बोकेका मेकअप आर्टिस्ट सोफीश्रेष्ठ, राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङ्तेन र पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा लगायत आठ सहभागीहरु सहभागि भएका थिए। त्यस्तै निश्चल बस्नेत, खगेन्द्र लामिछाने र गौरी मल्ल सहभागिहरुलाई प्रोत्साहन गर्दै रियालिटी शोमा देखिएका थिए।
प्रकाशित: ८ पुस २०७३ ०९:४४ शुक्रबार