coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'सरसर्ती संसार'मा जीवाका अनुभूति

काठमाडौं- चितवन निकुञ्जसँग जोडिएको एउटा पिछडिएको टापु पुरानो पदमपुर गाविसमा हुर्किए जीवा लामिछाने। वन्यजन्तुको ओहोरदोहोर गर्ने बाटो भएकाले त्यो बस्ती अहिले अन्यत्र सारिएको छ। पुरानो पदमपुरमा वन, वन्यजन्तु, राप्ती नदी र वनको सुन्दरता उनको आँखैमा बसेको छ।

राप्ती किनारैकिनार सौराहाकै छेउबाट कयौं पैदल यात्रा उनले गरे। विश्वसम्पदा सूचीमा सूचीकृत चितवन निकुञ्जको सुन्दरता उनको मानसपटलमा सधैं ताजा रहन्छ। 'राप्तीमा बाढी आएपछि अरु गाउँसँग मेरो गाउँको सम्पर्क नै नहुने बस्ती थियो,' लामिछानेले भने, 'बाघ, गैंडा आँगनमै खेल्थे।'

रत्ननगरको नेपाल माविबाट एसएलसी गरेका उनले ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजबाट ओभरसियर सकेर २०४३ सालमा उनी मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर गर्न रुस गए। जुन बेला सोभियत संघ टुक्रिएको थिएन। साम्यवादी नीतिको सोभियत संघभित्रका देशले एउटै नीति अख्तियार गर्थ्यो।

'त्यहाँको मानिसका आफ्नो सम्पत्ति हुन्थेन सबै राज्यको हुन्थे,' उनले विश्व इतिहासको एउटा कालखण्ड सम्झे, 'व्यक्तिका लागि राज्यले सबै व्यवस्था गर्दथ्यो।' मानिस मन लागेर वा नलागेर पनि नीति मान्दथे। विदेशीका लागि भने थोरै उदार थियो नीति। छात्रवृत्ति पाएर अध्ययन गर्दा सबै खर्च सरकारले दिन्थ्यो उनलाई। तर पनि छुट्टीका बेला काम गरेर पैसा जम्मा गर्थे। अनि घुम्न हिँड्थे। दोस्रो विश्वयुद्धपछि बेलायतसँगको शीतयुद्ध सोभियत संघको चल्दै थियो।

सन् १९९१ मा सोभियत संघ विघटन भयो। १५ वटा स्वतन्त्र देश बने। रुसमा शासक मिखायल गोर्भाचोभले सुधारवादी नीति अख्तियार गरे। खुला बजार अपनाएपछि रुसमा व्यक्तिगत सम्पत्तिको नीति अपनाइयो।

पढाइ सकेपछि त्यही विद्युतीय सामग्रीको व्यापार सुरु गरे। जापान, दुबई लगायत विभिन्न देशमा उनी दैनिक उपभोग्य विद्युतीय उपकरणको निर्यात गर्थे। त्यही क्रममा अरु देशमा बसेका नेपालीसँगको सम्पर्क बढाउँदै गैरआवासीय नेपाली महासंघका पहिलो अध्यक्ष बने।

'नेपालीहरु विदेशमा ठूलो संख्यामा छरिएर बसेका छन्, उनी बाहिर रहेका नेपालीका बारेका बोल्छन्, 'संगठनमा एक भएर जाँदा नेपालमै लगानी गर्न सक्षम हुन्छौं भन्ने सोच मेरो छ।' उनले सुरु गरेको अभियानकै फलस्वरुप ४० लाख नेपालीको प्रतिनीधित्व गर्दै ७५ देशमा संगठन बिस्तार भइसकेको छ।

हाल पनि उनी गैरआवासीय नेपाली संघका अभियन्ता नै हुन्। यात्री हुन मन पराउने उनी आफूले देखेभोगेका कुरा अक्षरमा व्यक्त गर्न मन पराउँछन्। साहित्य कर्म नभए पनि उनले जन्मस्थान पुरानो पदमपुरकै  नामबाट पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साहित्य सम्मान स्थापना गरी सर्जकको सम्मानमा समर्पित छन्।

अढाई दशकको व्यावसायिक जीवनमा उनले आफूले कमाएको लगानी नेपाल पनि भिœयाए। नेपालमा  सानिमा बैंक, जलविद्युत, अस्पताल, कलेज लगायतका क्षेत्रमा उनको लगानी रहेको छ। पछिल्लो समय उनी जर्मनीको फ््रयाङ्कफर्टमा होटल व्यवसाय गरिरहेका छन्।

व्यवसाय र लगानीबाट जोगाएका रकमबाट उनी विश्वका विभिन्न देश डुल्ने गर्छन्। विश्वका पाँच महादेशका २९ रमणीय स्थानको भ्रमणपछि 'सरसर्ती संसार' नामको नियात्रा संग्रह लिएर पाठकमाझ उदाउँदैछन्। देखेका, भोगेका कुरामात्र यसमा छैन। विदेश र नेपालको तुलनात्मक विकासक्रम र सम्भावना उनले उजागर गरेका छन्।

'म सोखले लेख्ने मान्छे साहित्यिक खुबी छैन,' उनी आफ्नो लेखनीका बारेमा सुनाउँछन्, 'पढ्नु, भ्रमण गर्नु र भ्रमणका क्रममा सरसर्ती अनुभूत गरेका कुरा टिपोट गर्दै शब्दमा बुनेको मात्र हुँ।' स्कुले जीवनमा राम्रो निबन्ध लेख्ने कलाका कारण पनि उनको यात्रा लेखनीलाई सहयोग पुगेको छ।

'सरसर्ती संसार'भित्र स्विस विकास र नेपालको सुन्दरता शीर्षकको उनको यात्रा वर्णन छ। जसमा उनले स्विजरल्यान्ड र नेपालको समानता र सम्भावना औंल्याएका छन्। गैरआवासीय नेपाली संघको बैठक उद्घाटनमा स्विजरल्यान्डकी पूर्व फेडरल चान्सलर अन्नामारी ह्युबर होट्ज उपस्थित भएकी थिइन्।

बैठकको उद्घाटन समारोह सकिएपछि उनीसँग एकैछिन भलाकुसारी गर्ने अवसर मिल्यो। नेपाललाई असाध्यै माया गर्ने यी महिलाले दुई जना धर्मपुत्रीसमेत नेपालबाटै ल्याएकी रहिछन्। निकैपटक नेपाल भ्रमण गरेकी पूर्व चान्सलरले मसँग एउटा प्रश्न सोधिन्, 'यति सुन्दर र असल मानिस भएको देशले किन विकास गर्न नसकेको होला? हाम्रो देशजस्तै नेपाल पनि समृद्ध भएको देख्ने मेरो सपना प्रत्येक भ्रमणमा दुर्घटनाग्रस्त हुन्छ र म सधैं मलिन भाव बोकेर फर्किन्छु।' पहाडैपहाडका बीच सुरुङबाट कुद्ने सवारी देख्दा उनी नेपालको पहाडमा त्यस्तै कल्पना गर्छन्। 'स्रोत र साधन अझ हामीसँग धेरै छ,' उनी भन्छन्, 'उपयोग कसरी गर्ने भन्ने रणनीति आवश्यक छ।'

सानो भुभागमा पनि मरुभूमिदेखि चिसो हिमालको विविध मौसमले नेपाललाई भाग्यमानी बनाएको उनी ठान्छन्। 'नेपालजति धेरै विश्वसम्पदा अरु देशमा भेटिन्न,' उनी थप्छन्, 'यसले पनि प्रकृतिले नेपाललाई पूरा न्याय गरेको देख्छु।' अफ्रिकाको निकुञ्जमा नपाइने एकसिंगे गैंडा यहाँको दुर्लभ जीव भएकोमा गर्व गर्छन्।

पोल्यान्डको रेलयात्रामा आफ्नो पाकेट मारिएको घटना होस् वा जेनेभामा सुटकेस चोरी भएको, वा युक्रेन जाँदा पासपोर्ट खोसिएर अलपत्र परेका घटना हुन्। निकै मर्मस्पर्शी भाव उनले लेखेका छन्। नेपालयको प्रकाशन रहेको उनको नियात्रा वर्णन 'सरसर्ती संसार' आउँदो शनिबार विमोचन हुँदैछ।

प्रकाशित: २४ मंसिर २०७३ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App