२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दरबार स्कुलमा गुञ्जियो २५ जिल्लाका ११ भाषाका कविता

बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसर पारेर युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालयको सहयोगमा राजधानीमा बहुभाषिक कवि गोष्ठीको आयोजना गरेको छ।

सन् १९९९ देखि युनेस्कोको घोषणा अनुसार २१ मार्चलाई विश्व कविता दिवसका रूपमा मनाइने गरिएको छ। नेपालमा पनि विश्व कविता दिवस मनाउने क्रममा मञ्चले २५ जिल्लाका झन्डै चार दर्जन स्रष्टा समेटेर ११ भाषामा बहुभाषिक कवि गोष्ठी आयोजना गरेको हो।

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले नेपालमा बोलिने सबै भाषाभाषीलाई यसरी अनेक हिसाबले संरक्षण र प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिए।

युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालयका सचिव हरि खनालले हरेक भाषाको आफ्नै अस्तित्व र महत्त्व हुने भएकाले तिनलाई साहित्यका माध्यमबाट जनमानसमा पुयाउन सके संस्कृति समेत जोगिने बताए।

कार्यक्रममा अतिथि डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, जगदिश्वर पोखरेल, मञ्चका पूर्वअध्यक्ष छायादत्त न्यौपाने, अध्यक्ष डा. सीता सुवेदी पन्थी, उपाध्यक्ष गोपीकृष्ण ढुंगानाले नेपालमा बहुभाषाको प्रयोग र महत्त्व, नेपाली साहित्य र सर्जकबारे बोलेका थिए।

कार्यक्रममा ‘राष्ट्रिय पहिचान’, ‘सुशासन’, ‘जंगे पिलर’ जस्ता राष्ट्रिय मुद्धामा पनि कविता वाचन गरिए। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, लमजुङ, पर्वत, कञ्चनपुर, मकवानपुर, तनहुँ, इलाम, दोलखा र धनकुटा गरी १४ जिल्लाका कविले सिर्जना वाचन गरेका थिए।

कार्यक्रममा मगही, मैथिली, दमै, संस्कृत, तामाङ, केवरत, राई र नेपाली गरी ११ भाषामा रचना वाचन गरिएको थियो। वाचन गर्ने कविमा, डा. जिताली, सिग्देल, भगवती रोका भूमिका, उषा केसी, आर. मानन्धर, श्याम राई, इन्द्र चौधरी, राजकरण महतो, नेत्र तामाङ, आनन्द गुप्ता, बालकृष्ण श्रेष्ठ पासा, जुनु घिमिरे, राजबाबु श्रेष्ठ ‘सागर’, रूद्र अधिकारी, रविन्द्र आशिष् ’ शैली’ लव खड्का लगायत झन्डै ५० कविले वाचन गरेका थिए।

गोष्ठीमा काठमाडौं प्रज्ञाकुञ्ज स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, भक्तपुर र आदर्श मावि, भक्तपुरका विद्यार्थीले पनि कविता वाचन गरेका थिए। बाल सिर्जना मञ्च नेपालले बालसाहित्य लगायतमा क्षेत्रमा अनवरत सिर्जनशील कार्य गर्दै आएको मञ्चका अध्यक्ष डा. सीता सुवेदी पन्थीले बताइन्। कार्यक्रम जितेन्द्र रसिकले सञ्चालन गरेका थिए।

प्रकाशित: १० चैत्र २०७९ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App