(क)
एकैछिन है आमा
म कुरा गर्दै छु
देशसँग/माटोसँग
उसका कुरा सुन्नु ल आमा
देश दुखेको छ आमा
साँच्चै देश दुखेको छ
उसका कुरा सुन्नु ल
माटो बोलेको हैन चिच्याएको छ यहाँ
ढुंगा रोएको हैन अलल्लिएको छ यहाँ
सातो खाएका छन् यिनले
सिद्धान्त र निष्ठा बेचेर राजनीतिले
इमानदारी र नैतिकता बेचेर प्रशासनले
स्वाभिमान र मौलिकता बेचेर सिर्जनाले
संस्कार र अस्तित्व बेचेर साहित्यले
आफैंले आफैंलाई बेचेर जनताले
आमा! म होइन होला भन्छु?
सिमाले हो भन्छ
झुक्किइस् होला तँ भन्छु
‘झुक्याएका हुन पक्कै’ भन्छ हिमाल
कुरा के हो भन्छु
सुक्खा बाँझै छु मेरो पानी खै?
उल्टै सोध्छ पहाड
आफ्नै गर्भमा राखिस् होला भन्छु
‘हैन! बेचिस् नहर खनाएर दक्षिण’
‘आफैं भएर बग्दा पनि म सुक्खा छु!
देख्दैनस् भन्छ तराई
के हो सत्य कुरा भनी सोधेको देशलाई
सबै मिलेर सक्न आँटे मलाई भन्छ
आमा!
भन्छ
पूर्व मेची र पश्चिम महाकाली तन्किएको म
उत्तर हिमाल र दक्षिण दश गजामा चेप्टिएको म
‘उत्तर दक्षिणको दशगजा बनाइसके’ थाहा पाउँदैनस् भन्छ
मलाई विश्व शान्तिको आधार होइन
सिमा बनाउन लागिसके मित्रहरूले
एक अर्काको सुरक्षा बार बनाइसक्न आँटे मित्रहरूले
भाषाले तँ रहँदैनस भने
भेषले तँ रहँदैनस भने
चेतनामा आफू देख्दैनस् भने
संस्कार, संस्कृति र आचरणले आफू,
आफू बन्न सक्दैनस् भने
कसरी मेरो र म हुन्छस् भन्
कसरी आफू बन्छस र नेपाली भन्छस् आफूलाई भन भनी
उत्तर माग्छ मसँग मेरो देश आमा
के तँ नेपाली होइनस्?
तेरो चित्त छैन?
तेरो मन छैन भन्दै
छाती चिरा पारी सोध्छ देश
आमा!
अनि सोध्छ फेरि
के तँलाई मेरो माया छैन?
अलिकति दया छैन?
आँखैबाट उसका
टुप्लुक्क दुई थोपा आँसु मेरो हातमा झार्दै
भक्कानिएर रुँदै भन्छ
के यी आँसु होइनन् मेरा?
के यसमा दर्द छैनन् तेरा?
के यसमा पीडा छैनन् नेपालीका?
तँलाई पनि नदुखे यो देश
कसलाई दुख्छ?
ए, भन कस्लाई दुख्छ भन्दै
सोध्छ देश मलाई आमा
अनि भन्छ
‘म आफू म हुँ’
मलाई कसैको दशगजा नबनाऊ
मलाई म हुन देऊ
मलाई म भएर नै बाँच्न देऊ
हो यसरी नै
दुखेको छ देश आमा
साँच्चै देश दुखेको छ
(ख)
खै नेपाली खै कहाँ छौ?
अब पनि आफूमै लडिरहन्छौ भन्छ
अब पनि आफूमै मरिरहन्छौ भन्छ
म नै सकिए तिमी कसरी तिमी हुन्छौ बरै!
म नै नरहे कसरी कहाँ रहन्छौ तिमी बरै!
अस्तित्व तिम्रो तिमी हुनुमा कहाँ खोज्दछौ?
अब त बुझ न ए!
अब तँ बुझा न ए!
तैंले बुझाए पनि हुन्छ नि!
तँ आफैले बुझा न उनीहरूलाई
तिमी नेपाली हौ नेपाली भनेर
तिम्रो पहिचान नेपाली हो नेपाली भनेर
तिम्रो अस्तित्व र अस्मिता नेपाली हो भनेर
‘अब त होशमा आऊ नेपाली बन’ भनेर
‘अब त आफूलाई नेपाली भन भनेर
निरन्तर यो चित्कार सुन्दैछु
आमा!
यसरी नै निरन्तर।
(ग)
एकैछिन सुन्नु ल
भन्दै छ देश
भावनात्मक एकतासहितको
राष्ट्रिय एकताको मूलमन्त्रमा आबद्ध
तिमी सबैको सबै तिमी
सबैमा सबैको सबै तिमी
नेपाली हौ तिमी नेपाली
तिम्रो नाम नेपाली,
तिम्रो थर नेपाली
तिम्रो पहिचान नेपाली
तिम्रो भाग्य नेपाल, तिम्रो भविष्य नेपाल
अहिले एक नभए कहिले एक हुन्छौ ए भन्दै
यसरी बोल न अरूसँग तँ
जाँगौ न जागौं ए नेपाली
अब त ब्यूँझ न, जगाउनु छ
ब्यूँझ त, ब्यूँझ न, जाग्नु छ
हाम्रै पालामा हामी नेपाली हुनु छ
भूगोलले मात्र होइन
भावनाले पनि
अनेकताले मात्र होइन
एकताले पनि
विभिन्नता र विविधताले मात्र होइन
राष्ट्रियताले पनि
हामी भनौ जय नेपाल
हामी बनौ जय नेपाली
जय नेपाल
जय भूगोल
आमा! जय नेपाल।
प्रकाशित: १० चैत्र २०७९ ०२:४२ शुक्रबार





