सर्वप्रथम सौन्दर्य तथा प्रेमको अन्तर्सम्बन्धलाई उजागर एवम् उद्घाटन गर्नु कविको अभीष्ट हुन्छ। सबै कविको आआफ्नो दृष्टि एवम् दृष्टिकोण हुन्छ। यहाँ जापानी साहित्यमा प्रेमिल काव्य विधा कटौताको प्रसङ्गलाई व्याख्याकृत गर्ने कोसिस गरिन्छ, त्यो पनि संक्षेपमा।
‘सौन्दर्य’ शब्दको व्युत्पत्ति यसप्रकार गर्ने गरिन्छः ‘सुन्दं रातिइति सुन्दरम् तस्यभावः सौन्दर्यम्’अर्थात् ‘सुन्द’लाई जसले ल्याउँछ, त्यो सुन्दर र उसको भाव जहाँ हुन्छ त्यो सौन्दर्य हुन्छ। सौन्दर्य शब्दको अर्थमा वस्तुतः कति भावहरू समाविष्ट एवम् सन्निहित हुन्छन्। जस्तो ः सौम्य, मनोहर, उदात्त, रमणीय, मनोज्ञ, मनोरम, मधुर, पेशल, चारु, मञ्जुल, शोभन, रुचिर, साधु, कान्त, लावण्यमान, द्युतिवान्, छविमान, सुषमावन, अभिराम, मंगलकारी र शुभ आदि। यहाँ जापानी काव्य साहित्यमा प्रचलित प्रेममय काव्य विधामा अंकित एवम् अभिव्यक्त सौन्दर्य चेतनाको छोटकरीमा वर्णन गर्ने जमर्को गरिन्छ। प्रसिद्ध जापानी कवि मियाजावा केन्जीको सौन्दर्य सम्बन्धी अवधारणा उद्धृत गर्नु सान्दर्भिक नै होला ः
‘धर्मगुरु र कलाकारले ‘सत्यम् शिवम् सुन्दरम्’ माथि एकाधिकार जमाएर यसको व्यापार गरेका छन्। यस्तो धर्म र कला हामीलाई आवश्यक छैन। हामी सबैले सत्मार्ग अनुसरण गरेर आफ्नै सौन्दर्य सिर्जना गर्नुपर्छ।’
जापानी काव्य जगत्मा कवितात्मक सौन्दर्यानुभूति प्रशस्त एवम् प्रखर मात्रामा अंकित भएर अभिव्यक्त भएको पाइन्छ। जापानी कविहरू प्रकृति एवम् प्रवृत्तिले नै आभिजात्य वर्गका छन् किनभने जापान एसिया महादेशमा नै सर्वाधिक सम्पन्न, समृद्धशाली र वैभवशाली देशको रूपमा सुपरिचित छ। सुखी, समृद्ध र सम्पन्न वर्गमा सौन्दर्य र प्रेमचेतना सर्वाधिक मात्रामा पाइन्छ। जापानको आभ्यान्तरिक अभिव्यञ्जन सौन्दर्यको सारतŒव जापानी काव्यको विधा कटौताका माध्यमबाट अभिव्यक्त भएको पाइन्छ। जापानको आत्मिक एवम् आन्तरिक सौन्दर्यानुभूति र प्रेमिल भावनाको भंगिमा कटौतामा यसरी अभिव्यक्त भएको पाइन्छ ः
‘आँखाअगाडि
सधैं तिम्रै स्वरूप
आवाज नबुझिने’
‘मिठो सपना
प्रेयसीको जालमा
रात नै भताभुङ्ग’
विष्णुबहादुर सिंह ः प्रेम प्रणय पृ. ५८
कटौताका कविहरूको दृष्टि नै सौन्दर्यको अन्वेषण, अङ्कन र अभिव्यक्तिकेन्द्रित हुन्छ, त्यो सौन्दर्य र प्रेमचाहिँ जहाँसुकै किन नहोस्। साधारणतः कवि त्यस वस्तुलाई राम्रो भन्छ, जुन वस्तुबाट मानव मनमा सुखद अनुभूति उत्पन्न हुन्छ। यो अनुभूति तŒवतः एउटै किसिमको हुन्छ तर माध्यमबाट यो धेरै किसिमको हुन सक्छ, जस्तै ः चक्षु ग्रह्य सौन्दर्य, स्रोत ग्राह्य सौन्दर्य, जि≈वा, नासिका एवम् त्वचाद्वारा ग्राह्य सौन्दर्य, काव्य सौन्दर्य, मानस ग्राह्य सौन्दर्य आदि। यी सबैको माध्यमबाट जुन अनुभूति प्राप्त हुन्छ, त्यसको तुलना सौन्दर्य अनुभूतिसँग गर्न सकिन्छ, जुन काव्य रसास्वादनबाट प्राप्त हुन्छ। यसलाई प्रायःजसो रसानुभूति पनि भनिन्छ। जापानी काव्य जगको सौन्दर्यबोध (एस्थेटिक सेन्स) पनि मानस ग्राह्य नै भएर अभिव्यक्त भएको पाइन्छ।
‘नेपाली काव्यमा सर्वप्रथम कटौता प्रयोग गर्ने कवि पुष्कर लोहनी नै हुन् र उनको कटौतासम्बन्धी मान्यता के छ भने चीनको लिखित काव्यात्मक अभिव्यक्तिबाट प्रभावित भएर जापानी साहित्यकारहरूले काव्यात्मक अभिव्यक्तिको प्रदर्शन गर्न पुगे। मातृ सत्तात्मक परिवेशले जन्माएको यौनमय वातावरणलाई महŒव दिएर नै प्रेमिल वातावरणमा उभिएका यौन आकांक्षालाई नै चित्रण गर्न पुगियो सुरुमा। सम्पन्न परिवारभित्रको प्रेममय गाथाले उत्पन्न गराएको शारीरिक मान्यताको तस्बिर काव्यात्मक रूपमा लेखिन थाल्यो जापानमा।’ प्रेम प्रणय ः पृ. ८।
यस सन्दर्भमा पुष्कर लोहनीद्वारा रचित एउटा कटौता प्रस्तुत गरिन्छ ः
‘तिमी थिइनौ
मस्तसँग एक्लिँदै
पिएँ साथ पाएर’
यौन भावनाबाट परिपूरित प्रेमिल कटौताको एउटा उदाहरण ः
‘छिर्दै छिरेन
साट्नुपर्ने भएछ
परेछ सानो खाले।’ पृ. १०
कटौताका अर्का कवि विष्णुबहादुर सिंहको कथन– ‘प्रेम गाथाका रूपमा देखापरेको प्रेम–प्रणयले प्रेमी र प्रेमिकाबीचको सम्बन्धलाई अझ राम्ररी बुझाउने कुरामा कुने शंका छैन। एक किसिमको छोटो कविताका रूपमा कटौता देखा परे तापनि यसको आयाम धेरै माथिसम्म पुगेको छ। अझ खासगरी सम्पन्नताले पूर्ण भएको जीवनको तस्बिर नै जनताका सामुन्ने राख्ने प्रयाससमेत गर्छ। व्यस्तताले जीवनलाई अँगाले पनि समयको साथमा प्रेम मान्यतालाई सदुपयोग गर्न पछि पर्नेछैन। गाडीको मस्त तालमा आफ्ना प्रियतमलाई सम्झेर गरिएका यात्राले दिएको मनोरञ्जन कसले बिर्सन सक्ला र ? सम्झना मात्र होइन त्यही आनन्दले दिएको सम्झनारूपी प्रेमपत्रको झन् ठुलो महŒव हुन पुग्छ, जब प्रेमिकाले खोलेर कवितात्मक पत्र पढ्छिन्। यस कथनलाई समर्थन गर्दै कवि विष्णुबहादुर सिंहको एउटा कटौता प्रस्तुत छ ः
‘मनको भाषा
प्रेम प्रणयभित्र
छताछुल्ल पोखिँदै।’ पृ. ४७
कटौताका अर्का कवि श्रीराम श्रेष्ठले पनि कटौता कविताका बारेमा आफ्नो धारणा यसरी राखेका छन्ः
‘जापानमा प्राचीन शाही राजवंशीमा मनोरञ्जनका लागि कटौता (प्रेम पत्र) लेखिने गरिथ्र्यो। उक्त कटौता प्रत्येक घरको मूल ढोकाअगाडि गुलाफको बोटमा चीनबाट झिकाएको कागजमा रातको समयमा लेखेर छाडिन्थ्यो। बिहानीपख हेर्दा शीतले भिजेर लेखेको कुरा फुल्नाले पढ्नका लागि सजिलो हुन्थ्यो। राज घरानामा मात्रै हुने यो प्रचलन सर्वसाधारणको घरमा पनि चल्न थाल्यो।’ पृ. ८५
श्रीराम श्रेष्ठद्वारा रचित केही कटौताहरूः
‘हाम फालेर
माया जोड्न खोजेको
चिप्लिएर धस्सिँदा।’
‘बिहानीपख
उग्रेको डाँँडाकाँडा
पोखेको कामुकता।’ पृ. ९१
पुष्कर लोहनीका अनुसार सबैभन्दा पहिला आफ्ना १८ वटा कटौता छापिएका र त्यसपछि मधुपर्कले ६ वटा छापेको हो।
समीक्ष्य ‘प्रेम प्रणय’ संयुक्त कटौता सङ्ग्रहमा प्रत्येकका १४० वटा गरी जम्मा ४२० कटौता समाविष्ट छन्। प्रेमसम्बन्धी भाव बोकेका कटौता जापानी साहित्यको एक रूप हो।
एउटा कटौतामा पहिलो हरफमा ५, दोस्रो र तेस्रो हरफमा ७-७ गरी जम्मा १९ अक्षर हुन्छन्।
कटौता र हाइकुमा अन्तरः
जापानमा आठौं शताब्दीबाट कटौता लेखन सुरु भएको हो र यसको इतिहास पुरानो देखिन्छ। नेपाली साहित्यका लागि यो नयाँ देखिन्छ तर हाइकु चाहि ५, ७, ५ गरी जम्मा १७ अक्षरमा लेखिने परम्परा छ। हाइकुभन्दा कटौता पुरानो साहित्यिक विधा भए पनि हाइकुको लोकप्रियता अहिले विश्वभरि व्याप्त छ र विश्वका अनेकानेक भाषामा यो लेखिन्छ। नेपाली साहित्यमा पनि हाइकु लेखन परम्परा धेरै पुरानो छ र यसको प्रथम प्रयोक्ता हुन् शंकर लामिछाने।
उनले पारिजातको ‘शिरीषको फूल’ उपन्यासको भूमिकामा सबैभन्दा पहिला हाइकु लेखनको प्रारम्भ गरेका थिए। तदुपरान्त आजपर्यन्त हाइकु लेखन निरन्तर लेखिँदै छ, जब कि कटौता लेख्ने नेपाली साहित्यकारलाई औंलामा गन्न सकिन्छ। यीमध्ये हुन् पुष्कर लोहनी, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ र श्रीराम श्रेष्ठ। कटौता लेख्ने यी कविहरूको संयुक्त कटौता सङ्ग्रह प्रकाशित भइसकेको छ। समीक्ष्य ‘प्रेम प्रणय’ कटौता सङ्ग्रहमा पनि पुष्कर लोहनी, विष्णुबहादुर सिंह र श्रीराम श्रेष्ठका कटौता–कविता प्रकाशित छन् ।
प्रकाशित: २७ फाल्गुन २०७९ ०३:१४ शनिबार