coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कलाकार नीर शाह लण्डनमा सम्मानित

 कलाकार नीर शाह लण्डनमा सम्मानित भएका छन।उनलाई लण्डनस्थीत नेपाली जनम्पर्क समिति बेलायतको आयोजना भएको कार्यक्रममा सम्मानित गरिएको हो।  

सम्मानित कार्यक्रममा  बोल्ने वक्ताहरुले शाहले नेपाली कलाक्षेत्रमा पुरा–याएको   योगदानको चर्चा गरेका थिए ।  

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक समेत रहेका शाह चलचित्र, टेलिचलचित्रका लोकप्रिय कलाकार पनि हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाहले नेपाली चलचित्र क्षेत्र र नेपालको राजनीतिक ऐतिहासको बारेमा चर्चा गरे । उनले नेपाली चलचित्र क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपका कारणले ऐतिहासिक कार्यहरु समेत ओझेलमा परेको बताए । उनले भने नेपालको पहिलो चलचित्र हरीशचन्द्र भए पनि सो चलचित्रका निर्माताहरु नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमिसँग जोडिएको भन्दै तत्कालिन पंचायती व्यवस्थाले पहिलो चलचित्रको रुपमा स्वीकार नगरेको बताए । उनले नेपाली चलचित्रको उदय र विकास नेपाली कांग्रेस पार्टीसँग जोडिएको बताए ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै गायिका सरु शर्माले विदेशमा रहेर नेपाली भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न आग्रह गरिन् । उनले नेपालमा राजनीतिक अस्थिरता रहदा जनता र राष्ट्रिय सुरक्षामा चुनौती आएको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वअध्यक्ष बिनोद मोक्तानले नेपाली कांग्रेस सरकारमा भएको बेला कलाकार नीर शाहको शालिक निमार्ण गर्न माग गरे । उनले भने नीर शाहले नेपाली कला तथा संचार क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनी जिवित रहदै सरकारले शालिक निर्माण गर्नु पर्ने बताए । अनि मात्र उनको  योगदानको पूर्णरुपमा कदर हुनेछ मोक्तानले  भने ।  

प्रेमपिण्ड वसन्ती लगायत ऐतिहासिक विषयमा ८ फिल्म निर्देशन गरेका शाहले तीन सयभन्दा बढी फिल्म र त्यतिकै सङ्ख्यामा टेलिफिल्ममा अभिनय गरेका छन् ।

जनसम्पर्क समिति बेलायतको महामन्त्री रोमिन लिम्बुले संचालन गरेको कार्यक्रममा समितिका संस्थापक उपाध्यक्ष अनोज चित्रकार, सल्लाहकार राजकुमार सुनार लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कलाकारद्वय शाह र शर्मालाई नेपाली जनम्पर्क समिति बेलायतले खादा तथा फुलको गुच्छाले स्वागत तथा सम्मान गरेको थियो । शाह लगायत करिब दुई दर्जन नेपाली कलाकार एक साता लामो नेपाली फिल्म महोत्सवमा भाग लिन बेलायत आएका हुन् ।

प्रकाशित: २१ फाल्गुन २०७९ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App