कलाकार नीर शाह लण्डनमा सम्मानित भएका छन।उनलाई लण्डनस्थीत नेपाली जनम्पर्क समिति बेलायतको आयोजना भएको कार्यक्रममा सम्मानित गरिएको हो।
सम्मानित कार्यक्रममा बोल्ने वक्ताहरुले शाहले नेपाली कलाक्षेत्रमा पुरा–याएको योगदानको चर्चा गरेका थिए ।
नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक समेत रहेका शाह चलचित्र, टेलिचलचित्रका लोकप्रिय कलाकार पनि हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाहले नेपाली चलचित्र क्षेत्र र नेपालको राजनीतिक ऐतिहासको बारेमा चर्चा गरे । उनले नेपाली चलचित्र क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपका कारणले ऐतिहासिक कार्यहरु समेत ओझेलमा परेको बताए । उनले भने नेपालको पहिलो चलचित्र हरीशचन्द्र भए पनि सो चलचित्रका निर्माताहरु नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमिसँग जोडिएको भन्दै तत्कालिन पंचायती व्यवस्थाले पहिलो चलचित्रको रुपमा स्वीकार नगरेको बताए । उनले नेपाली चलचित्रको उदय र विकास नेपाली कांग्रेस पार्टीसँग जोडिएको बताए ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै गायिका सरु शर्माले विदेशमा रहेर नेपाली भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न आग्रह गरिन् । उनले नेपालमा राजनीतिक अस्थिरता रहदा जनता र राष्ट्रिय सुरक्षामा चुनौती आएको बताइन् ।
कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वअध्यक्ष बिनोद मोक्तानले नेपाली कांग्रेस सरकारमा भएको बेला कलाकार नीर शाहको शालिक निमार्ण गर्न माग गरे । उनले भने नीर शाहले नेपाली कला तथा संचार क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनी जिवित रहदै सरकारले शालिक निर्माण गर्नु पर्ने बताए । अनि मात्र उनको योगदानको पूर्णरुपमा कदर हुनेछ मोक्तानले भने ।
प्रेमपिण्ड वसन्ती लगायत ऐतिहासिक विषयमा ८ फिल्म निर्देशन गरेका शाहले तीन सयभन्दा बढी फिल्म र त्यतिकै सङ्ख्यामा टेलिफिल्ममा अभिनय गरेका छन् ।
जनसम्पर्क समिति बेलायतको महामन्त्री रोमिन लिम्बुले संचालन गरेको कार्यक्रममा समितिका संस्थापक उपाध्यक्ष अनोज चित्रकार, सल्लाहकार राजकुमार सुनार लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कलाकारद्वय शाह र शर्मालाई नेपाली जनम्पर्क समिति बेलायतले खादा तथा फुलको गुच्छाले स्वागत तथा सम्मान गरेको थियो । शाह लगायत करिब दुई दर्जन नेपाली कलाकार एक साता लामो नेपाली फिल्म महोत्सवमा भाग लिन बेलायत आएका हुन् ।
प्रकाशित: २१ फाल्गुन २०७९ ०५:३१ आइतबार