१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

भोर्ले दाइ

लोककथा

एकादेशमा भमरकोट भन्ने गाउँमा एउटी मनकला नामकी वृद्धा बस्दथिइन्। उनको मन फटिक जस्तै सफा थियो। उनको लोग्ने मनकलाबाट बच्चा नभएपछि अर्की स्वास्नी लिएर बसेका थिए। त्यसैले गाउँलेहरू उनलाई बाँझी बूढी भनेर साह्रै हेला गर्थे। दुःख, बिमार पर्दा पनि कोही उनको घर जाँदैनथे। उनले एउटा बोको पालेकी थिइन्। आफूले खान नपाएर भोकभोकै पर्दा पनि उनले त्यस बोकालाई बेचेकी थिइनन्। बोकालाई उनी छोरालाई जस्तै माया गर्थिन्। एकदिन वृद्धा धेरै बिरामी परिन्। घरमा अन्नको गेडा पनि थिएन। वृद्धाले रुँदै पिंढीमा बसेर निधारमा हात राख्दै बरबराइन्, ‘मेरा पनि छोरा, बूढा भएको भए हाट गएर केही किनेर ल्याउँदा हुन् अनि म भोकभोकै मर्नुपर्ने थिएन। म मरें भने बोकाको हेरचाह कसले गर्ला?’

वृद्धाको यी कुराहरू बोकाले सुन्यो। उसलाई वृद्धाको अति नै माया लाग्यो। त्यो कुरा सुनेपछि ऊ छिमेकीको घरमा गयो। छिमेकी वृद्धा नैनामाया तरकारी केलाउँदै थिइन्। बोकाले मायालु स्वरमा भन्यो,‘बजै, हाम्री आमासँग केही खानेकुरा छैन, केही खानेकुरा दिनुहोस् न। म हाट गएर आएपछि तपाइले दिएको सबै कुरा तिरिदिन्छु।’

नैनामाया व्यंग्य हाँसो हाँस्दै चर्किइन्, ‘कस्ताकस्ता कहाँ गए, मुसाको छाउरा दरबार!’ भनेको यही हो। हाम्रा लबितिघ्रे छोराहरूले केही गर्न सकेका छैनन्। तँ पशु मोराले हाटमा गएर आएपछि तिर्ने अरे! कुरा पनि पत्याउने गर्नुपर्छ नि! त्यो अलच्छिने बूढीका लागि मेरो हातबाट एक गेडा पनि अन्न झर्दैन। ल जा, गइहाल।’

उनको कुराले बोको निराश भएर दमयन्ती बजैको घरतिर लाग्यो। दमयन्ती गुन्द्री बुन्दै थिइन्। बोकाले म्याँम्याँ गर्दै भन्यो, ‘दमयन्ती बजै! मेरी आमा भोकै हुनुहुन्छ, केही खानेकुरा दिनुहोस् न। म हाट गएर आएपछि सबै तिर्छु।’

दमयन्तीले बुन्दाबुन्दैको गुन्द्री छोडेर हाँस्दै भनिन्,‘हरे भगवान्! क्या जवाना आयो। तँ नाथे हाट गएर मलाई खानेकुरा तिर्ने अरे? हाट कहाँ लाग्छ तँलाई थाहा छ? त्यो पापिनी बूढीले आफ्नो पापको फल भोगोस्। मसँग केही पनि छैन। तँ भागिहाल् नत्र...।’ भन्दै लठी उठाइन्।

बोको आँसु झार्दै घरतिर फर्किंदै थियो। एउटा दस-बाह्र वर्षको सानो केटो जलवीरेले आफूले बोकेको सानो भारी बिसाउँदै भन्यो, ‘हैन, किन रोएको बोका भाइ?’

बोकाले सानो स्वरमा भन्यो, ‘हेर्नुहोस् न दाइ! घरमा खाने अन्न छैन। आमा भोकै हुनुहुन्छ। म हाट गएर आएपछि तिर्छु भनेको कसैले पनि पत्याउँदैनन्, त्यही पीरले रोएको...।’  

जलवीरेले मायालु स्वरमा भन्यो, ‘यति सानो कुरामा पनि रुने हो र? नरोऊ, ल हिंड्, मैले घट्टबाट पीठो ल्याएको छु, तिमीलाई जति चाहिन्छ,दिन्छु।’

बोकाले खुसी हुँदै भन्यो, ‘दाइ, तपाईंहरू कति दुःखी हुनुहुन्छ भन्ने मलाई थाहा छ। तीन-चार दिनका लागि मात्र पीठो छोडिदिनुहोस्। म हाटबाट आएपछि सबै तिरौंला।’ जलवीरेले पीठो पिँढीमा रहेको बोरामा राख्दै भन्यो, ‘केही तिर्न पर्दैन। केही पीर नगरी हाट जाऊ। म आमाको हेरचार गरौंला। वनको बाटो कसरी हाट जान्छौ? आफ्नो पनि ख्याल गरे।’

बोकाले भन्यो, ‘हुन्छ, ख्याल गर्छु। आमालाई भन्यो भने हाट पठाउनु हुन्न। तपाईंले राम्रोसँग उहाँको स्याहार गर्नुहोला। आमा उठेपछि अन्त कतै गयो भनेर सम्झाउनुहोला। म तपाईंको गुन कहिल्यै भुल्ने छैन।’ भन्दै बोको हाटबजारतिर लाग्यो।

बाटामा हिंड्दा पनि बोकालाई बिरामी भएकी आमाको मात्र याद आयो। ऊ डराईडराई जङ्गलको बाटो जाँदै थियो। बोकालाई देखेपछि स्यालले दौडेर आएर भन्यो, ‘ए बोका पख, म भोकले लखतरान परेको थिएँ, बल्ल आहारा पाएँ।’

बोकाले सम्झाउँदै भन्यो, ‘हेर्नुहोस्, म यति दुब्लो छु। तपाईंको पेट पनि भरिंदैन। म हाटमा गएर मीठोमीठो खाएर मोटाएर आउँछु अनि खानुहोला। अहिलेलाई छोडिदिनुहोस्।’

स्यालले ‘ल छिटो फर्किनु’ भनेर छोडिदियो। केही पर पुगेपछि बोकाको बाघसँग जम्काभेट भयो। बाघले गर्जिंदै भन्यो, ‘आज आहारा नपाएर रन्थनिएको थिएँ, बल्ल आहारा पाएँ, केही भए पनि पेट भरिने भयो।’

बोकाले स्याललाई भनेकै कुरा भन्योे, ‘हेर्नुहोस्, म यति दुब्लो छु। तपाईंको पेट पनि भरिंदैन। म हाटमा गएर मीठोमीठो खाएर मोटाएर आउँछु अनि खानुहोला। अहिलेलाई छोडिदिनुहोस्।’

बाघले पनि ‘ल हुन्छ त चाँडै आउनु’ भनेर छोडिदियो। बोको खुसी हुँदै हाट गयो। हाटमा कतै तरकारीका थुप्रा, कतै चामलका थुप्रा, कतै जेरीस्वारी पकाएको थियो। यो सबै देखेर बोको छक्क पर्‍यो। ऊ अलि बूढो भएकाले ‘यो त भगवानको नाममा छोडेको बोको रहेछ’ भन्दै खान दिन्थे। कसैले त ढोगेर पनि हिंड्थे। उसलाई मान्छेको डर भएन, खान पनि दुःख भएन। सबैले माया गरेर खानेकुरा दिंदादिंदै ऊ टन्न अघायो। उसले आमाको दुःख देखाएर केही खानेकुरा लैजाने सुर गर्‍यो। केहीबेर थकाइ मार्छु भनेर हाटबजारबाट अलि पर गएर आनन्दले बस्यो। एउटा युवा दौड्दै आएर उसको मुखमा केही कोच्याएर गयो। बोकाले सकीनसकी त्यो कपडाको पोको निल्यो। केही क्षणपछि अरू दुई जना मानिस आएर यताउति हेर्दै सोधे, ‘ए बोका, तैंले एउटा युवक कता गयो देखिस्? त्यो बदमासले लाखौं जाने हीरा पो चोरेर भाग्यो।’

बोकाले सबै कुरा बुझ्न चाह्यो र सानो स्वरमा भन्यो, ‘हीराजस्तो चीज पनि जतनले राख्नु पर्दैन त?’

अधबैंसेले रिसाउँदै भन्यो,‘सोधेको उत्तर खुरुक्क भन न। सधैं हाटमा आउँदा झोलामै हालेर ल्याउँथ्यौं। केही हुँदैनथ्यो, आज पापी चोरले...।’

बोकाले मनमनै सोच्यो,‘यिनीहरू धनी नै रहेछन्। चोरले मलाई जस्तै दुःख परेरै चोरेको होला।’

हीरा व्यापारीहरूले ठूलो स्वरमा भने,‘देखेको छ भने छ भन्, छैन भने छैन भन्। किन नबोलेको हँ?’

बोकाले पूर्वतिर देखाउँदै भन्यो, ‘त्यो मान्छे यतातिर गएको छ।’

व्यापारीहरू पूवतिर लागे। बोकाले अब चाँडै घर पुग्नुपर्छ भनेर सोच्यो। बाटामा भेटिने बाघ र स्याल सम्झेर ऊ निराश भयो। अब कसरी घर पुग्ने भनेर सोच्न थाल्यो। त्यसै समयमा डोकाभरि भोर्लाको पात बोकेर आएको मान्छे देखेर बोको खुसी भयो। बोकाले भरियानजिकै गएर भन्यो,‘हेर्नुहोस् न भरिया दाइ, मेरी आमा घरमा भोकै र बिरामी पनि हुनुहुन्छ। मलाई बाघ र स्यालले बाटामा खान पर्खिरहेका छन्। म के गरौं?’

भरियाले बोकोको मायालु कुरा सुनेपछि तुरुन्तै पसलबाट सियो र धागो ल्यायो। कही बेरमा नै भोर्लाको पात सिलाएर बोकालाई छोपिने गोलो कपडाजस्तो बनाइदियो। त्यो बोकालाई ओढाइदिंदै भन्यो,‘ल अब तिमी जाऊ। तिमीलाई कसैले पनि चिन्दैन। कसैले सोध्यो भने म भोर्ले दाइ हुँ भन्।’

बोकाले खुसी हुँदै भन्यो,‘तपाईंलाई धेरैधेरै धन्यवाद छ। तपाईंलाई केही दुःख पर्‍यो भने अवश्य मलाई सम्झिनुहोला म भमरकोट गाउँमा बस्छु म तपाईंलाई अवश्य सहयोग गर्छु।’

भरियाले हुन्छ भन्दै मुन्टो हल्लायो। बोको अगाडि लाग्यो। चाँडै घर पुग्ने धुनमा ऊ रातभरि पनि हिंडिरह्यो। रातमा कतै सल्याङसुलुङ गरे पनि ऊ डराउँथ्यो। फेरि मन बलियो बनाएर अगाडि बढ्थ्यो। रातभरि त जङ्गलमा केही भएन। अब बाघ र स्याललाई नभेटिने भयो भनेर खुसी भयो। वन सिद्धिन लाग्दा स्याल टुप्लुक्क देखापर्‍यो,बोकाको सातोपुत्लो गयो। स्यालले तलदेखि माथिसम्म हेर्दै भन्यो, ‘हैन मैले त आजसम्म यस्तो जीव देखेकै थिइनँ। तिमी को हौ? कतै तिमीले बोकालाई देखेनौ?’

बोकाले सानो स्वरमा भन्यो, ‘तिमीले ठीक नै भन्यौ, म जस्तो जीव धेरै हुँदैनन् त्यसैले नदेखेका हौ। मलाई भोर्ले दाइ भन्छन्। बोको हाटमा यताउता गर्दै थियो। भरे, भोलि आउला।’

स्यालले ‘ल हुन्छ त’ भन्दै आफ्नो बाटो लाग्यो। बोको पनि खुसी हुँदै आफ्नो बाटो लाग्यो। केही पर पुगेपछि फेरि बाघ भेटियो। बाघले झम्टौला जस्तो गरी भन्यो,‘तँ को होस्? बोकालाई कतै देखिस् कि?’

बोकाले डराउँदै उत्तर दियो,‘मलाई भोर्ले दाइ भन्छन्। म पातैपातले बनेको हुँ। मैले बोकालाई हाटमा देखेको थिएँ। भरे, भोलि आउला।’

बाघ ‘त्यसलाई भेटें भने के बाँकी राखौंला’ भन्दै अगाडि लाग्यो। बोको पनि खुसी हुँदै घरतिर लाग्यो। जङ्गल सिद्धिएपछि भोर्लाको पातको कपडा फ्याँक्यो। घर पुग्दा बिहानको आठ बजिसकेको थियो। मनकला बोकोको मायाले टोलाएर पिंढीमा बसिरहेकी थिइन्। बोकालाई देखेपछि उनले आँखाबाट हर्षको आँसु झारिन् अनि बोकालाई मुसार्दै भनिन्,‘जलवीरेले सबै कुरा भनेपछि मेरो भोक, निद्रा सबै हराएको थियो, बल्ल मनमा शान्ति भयो। तेरो कुरा मानेर जलवीरेले दुई छाक पकाएर खान दियो।’

बोकाले रुन्चे स्वरमा भन्यो,‘ए राम्रै भयो। मलाई साह्रै गाह्रो भएको छ। पहिला गाईको गोबरले भित्र कुनामा लिप्नुहोस्, अनि पछि कुरा गरौंला।’

‘हैन के भन्छ यो’ भन्दै मनकलाले कुनामा गोबरले लिपिन्। बोकाले लिपेको ठाउँमा हग्यो। बडकौंलासँगसँगै हीराको टुक्रा पनि हग्यो। मनकला हीरा देखेर हेरेको हेरै भइन्। उनलाई डर पनि लाग्यो। बोकाले सबै कुरा बुझाउँदै भन्यो,‘तपाईंले डराउनु, पीर गर्नु नै पर्दैन। भगवान्ले हामीलाई दुःख भयो भनेर सहयोग गर्नुभएको हो। ती हीरा व्यापारी नभएको भए म यो हीरा नै ल्याउन्नथें। बरु त्यो हीरा चोर्नेले चाहिं दुःख परेरै हीरा चोरेको होला। ऊ आयो भने सहयोग गर्नुपर्छ। मैले हीरा ल्याएको कुरा कसैलाई पनि नभन्नुहोला। फेरि एककान दुईकान मैदान हुन्छ। हीरा व्यापारीहरूले मलाई मार्नेछन्। यी हीराका टुक्राहरू जतनले राख्नुहोस्। कोही गरिबलाई सहयोग गर्नु छ भने सहयोग गर्नुहोस्।’

मनकलाले बोकालाई मुसार्दै भनिन्,‘तँलाई हानि हुने काम म गर्दै गर्दिनँ। हीरा नचिनेको जुहारीलाई बेचौंला। मजस्ता मान्छे कति आउँछन्, कति जान्छन्। जलवीरे, हीरा चोर्ने मान्छे,तँलाई बाघ र स्यालबाट जोगाउने र अरू गरिबहरूको दुःख हामीले टार्नुपर्छ।’

बोकाले हुन्छ भनेर समर्थन जनायो। आफूलाई भोक, प्यास लागेको कुरा गर्‍यो। मनकलाले हतारहतार बोकालाई पानी दिइन्। खानका लागि खोले बसालिन्। बोको थकाइले लखतरान परेकाले त्यहीं निदायो। यसरी मनकला र बोकाको दिन हाँसीखुसीमै बित्दै गयो। मनकलाले हीरा बेचेर आफ्नो चुहिने छानालाई मर्मत गरिन्। जलवीरेको परिवारलाई चाहिनेजति सहयोग गरिन्। हीरा बोकाको मुखमा कोच्याउने मान्छे बोको खोज्दै मनकलाको घरमा आयो। उसलाई देखेर बोको र मनकला नै खुसी भए। बोकाले हीरा व्यापारीहरूले चोर कता गयो भनी सोद्धा उल्टो बाटो देखाएको कुरा गर्‍यो।

ती मानिसले खुसी हुँदै भने,‘धन्यवाद बोका भाइ! मैले छोरा बिरामी भएर औषधि गर्न पैसा नपाएपछि हीरा चोरेको हुँ। एउटा पाप गरे पनि हामी सबैको दुःख हट्यो। अब म कहिल्यै चोर्ने छैन।’

मनकलाले चोर्ने काम राम्रो होइन। बोकाले मैले हीरा निलेको छु भनेको भए व्यापारीहरूले मार्न पनि सक्थे। जे हुनुभयो अब पाप कर्म छोड्नुपर्छ। त्यस मान्छेले पनि हो भन्दै पैसा लिएर गयो। भोर्लाको पात सिएर ओढाइदिने मान्छे पनि केही समयपछि आफ्नो दुःख बिसाउन आयो। उसलाई पनि मनकलाले सहयोग गरिन्।

‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ भनेझैं पैसा भएपछि सबै छिमेकी मनकलालाई माया गर्न थाले। नैनामाया आएर आँखाभरि आसु पार्दै भनिन्,‘मैले अहं गरेर तपाईं र बोकोको अपमान गरें। ‘नपत्याउने खोलाले बगाउँछ’ भनेको ठीक रहेछ। मेरा छोरा र लोग्नेभन्दा आफ्नो ज्यानको बाजी राखेर तपाईंलाई खुसी दिने यो बोको ठूलो हो। भोर्लाको पात लगाएर बाघ र स्याललाई समेत छक्काएकाले यसलाई अबदेखि हामी पनि भोर्ले दाइ नै भन्छौं। अब तपाईं र भोर्ले दाइलाई कहिल्यै हेला गर्नै छैनौं।’

नैनामायाको कुराले मनकला खुसी भइन्। मनकलाले पनि ‘हो यही मेरो छोरा हो’ भनिन्। नैनामायाले बोकालाई भोर्ले दाइ भनेपछि सबैले भोर्ले दाइ नै भन्न थाले। दमयन्ती पनि आएर मैले ठूलो भुुल गरेछु भन्दै माफी मागिन्। सारा गाउँलेहरूले पनि अब मनकला बजै र भोर्ले दाइको प्रशंसामा नै धेरै समय बिताउन थाले।

‘फलेको हाँगो निहुरिन्छ’ भनेझैं मनकला बजै आफूसँग धेरै पैसा भए पनि सबैसँग राम्रो व्यवहार गर्थिन्। दुःखीको दुःख टार्थिन्। यसरी मनकला बजै र भोर्ले दाइको दिन हाँसीखुसीमै बित्दै गयो। मनकलालाई कहिल्यै लोग्ने र छोराको अभाव भएन। त्यस्तै भोर्ले दाइलाई पनि आमाको अभाव भएन।

सुन्नेलाई सुनको माला

भन्नेलाई फूलको माला

यो कथा वैकुण्ठ जाला

भन्ने बेलामा तुरुन्तै आउला।

(नोट-दैलेख, हाल दुल्लु नपा वडा नं. १२, का ७६ बर्से बमबहादुर (खत्री) दाहालको सहयोगमा लेखिएको।)

प्रकाशित: ११ फाल्गुन २०७९ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App