१५ असार २०८१ शनिबार
image/svg+xml
कला

कथाकार शोभा ज्ञवालीको पुस्तक ‘सङ्घर्ष’ विमोचन

कथाकार शोभा ज्ञवालीद्वारा लिखित पुस्तक ‘सङ्घर्ष’ मंगलबार एक कार्यक्रम बीच  विमोचन गरिएको छ।

नारीका सङ्घर्षका कथाहरु समेटिएका पुस्तक ‘सङ्घर्ष’ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित समाजसेवी डा. माला खरेल, समाजसेवी अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा.नवराज लम्साल र कथाकार ज्ञवालीले  संयुक्त रुपमा विमोचन गरेका थिए।

पुस्तक सङ्घर्ष विमोचन पछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक आफूले पढिसकेको बताएका थिए। ‘कथाकारले मलाई दुई दिन अगाडीनै पुस्तक उपलब्ध गराउनु भएको थियो। मैले यो पुस्तकका सबै कथाहरु पढिसके। पुस्तकका कथाहरु महिला केन्द्रित छन्। बिषयवस्तु समसामयिक छ’, उनले भने, ‘नेपाली समाज अहिले अवस्थाबाट गुज्रिएको छ त्यो कुरा कथामा आएको छ।’

डा. भट्टराईले कथा सरल र जन भाषामा लेखिएको टिप्पणी पनि गरे। ‘कथा आख्यान हो। यहाँ जस्ताको तेस्तै लेखिदैन। यसमा कलात्मक बनाइन्छ’, उनले भने। डा. भट्टराईले पुस्तक पढन पाइने लोभले गर्दा पनि म विमोचनका कार्यक्रमहरु कुनैपनि नछुटाउने गरेको समेत उल्लेख गरे। 

साहित्यकार डा.नवराज लम्सालले पुस्तक माथिको समिक्षा गर्दै समाजमा देखिएका मसिना र सामान्य कथाहरुलाई टपक्क टिपेर कथा बुनिएको बताए। कथाको पात्रहरु मार्फत महिलाहरुलाई ‘सङ्घषर्’ गर्न सिक भन्ने सन्देश पुस्तकले दिएको उनको धारणा थियो।

डा. लम्सालले भने, ‘जीवनबाट हरेस खाएकी एउटी महिलाले पुस्तकका कथाहरु पढ्ने हो भने सङ्घर्ष गरेर पनि बाच्न सकिन्छ भन्ने कुरा सिक्ने छिन्।’ सन्देशमुलक विषयलाई सरल माध्यमबाट प्रस्तुत गरिएकाले नेपाली समाजका महिलाहरुका लागि यो पुस्तक ‘टर्निङ प्वाइन्ट’ हुन सक्ने उनले बताए।

‘कतिपय कथाकारहरु कथा लेख्दा पात्रहरुसम्म पुग्दैनन् तर कथाकार ज्ञवालीले कथाका पात्रहरुको ठाउँसम्म पुगेर कथा लेख्नुभएको छ,’ उनले भने, ‘आफैले भेटेका कुराहरुलाई कथामा उतारेको हुँदा कथाले मान्छेलाई हल्लाउन सक्छ।’

सरल विषयलाई सरल भाषामा प्रस्तुत गर्नु पुस्तकको बलियो पक्ष रहेको डा. लम्सालले बताए।  

समालोचक डा. ज्ञानु पाण्डेले पुस्तकको मुल्यांकन कथाकार आफैले लेखेको हुँदा पाठकहरुलाई पढ्नका लागि सहज भएको बताइन्। उनले पुस्तकमा नारीका पीडा, उत्पीडनका कुराहरुलाई शसक्त ढंगले उठाइएको बताइन्।  

डा. पाण्डेले भनिन्, ‘लैगिकताको बिषयलाई किताबमा दर्शाउनु भएको छ। नारीका पीडा, उत्पीडन र समग्रमा नारी पक्षलाई शसक्त रुपमा उठाइएको छ। त्यस्तै नारीको अवस्था सुधार गर्ने हो भने पहिले आफैलाई माया गर्नुपर्छ भन्ने कुरा पुस्तकमा देखाइएको छ।’

नेपालमा महिला शसक्तिकरणका लागि गैरसरकारी संस्थाहरुले खेलेको भूमिका सहनीय रहेको र उक्त कुरालाई पनि सुन्दर तरिकाले पुस्तकमा समेटिएको उनले बताइन्।

पुस्तकमा पीडित महिलाहरुको कथा मात्र लेखिएको र पीडकमा पुरुषहरुलाई देखाइएको हुँदा किन पुरुषले सधैं पीडा दिइरहेका छन्? भन्ने कुरा पनि बाहिर आउन आवश्यक रहेको डा.पाण्डेले बताइन्।

‘महिलाहरुमा आउने समस्या समाधान गर्न महिलाहरुको मात्र जिम्मेवारी हुँदैन् त्यसमा पुरुषको पनि जिम्मेवारी उत्तिकै रहन्छ। महिलाहरुको पीडा र ‘सङ्घर्ष’का कुराहरु बाहिर आइरहदा पुरुषको पीडाहरुलाई हामीले नजरअन्दाज गर्न हुँदैन्,’ उनले भनिन्।

पुस्तकमा महिलाहरुको बिषयलाई शसक्त रुपमा उठाइएको र आगामी दिनमा पुरुषहरुको कथालाई कथाकारले पुस्तकमा समेट्नेमा आफू आशाबादी रहेको डा. पाण्डेले उल्लेख गरिन। नेपाली विषयबस्तु, नेपाली धरातलीय अवस्था, सरल भाषमा पुस्तक रहेको उनले बताइन्।

त्यस्तै समाजसेवी अनुराधा कोइरालाले कथाकार ज्ञवालीले लेखिरहेका  कथाहरु आफूले पढिरहेको उल्लेख गर्दैै भनिन, ‘उहाँले कथामा समेटेका बिषयहरुमा अझै लेख्नुपर्छ।’ उनले महिलाका पीडाहरु उजागर गरेरमात्र नहुने तीनको समाधान कसरी गर्ने भन्ने तर्फ पनि ध्यान दिनुपर्ने बताइन।

‘पछिल्लो समय नेपाली समाजमा बलात्कारको घटनाहरु बढ्दै गएको छ। परिवार भित्रै बुबाले छोरीलाई, दाइले बहिनीलाई, हजुरबुबाले नातीनीलाई बलात्कार गरेका घटनाहरु छन्। यो हामीले सुन्दा पनि पत्याउनै सक्दैनौं,’उनले भनिन्।

त्यस्तै महिला बेचबिखनका घटनाहरु पनि नेपालमा बढ्दै गइरहेको उनको बुझाई छ । यस्ता समस्याहरु बाट बचाउन महिलालाई शिक्षा संगसंगै आर्थिक रुपमा बलियो बनाउनुपर्ने कोइरालाले बताइन्।

समाजसेवी डा. माला खरेलले पुस्तकमा महिलाहरुको हासो, रोदन, कुण्ठा सबैलाई समेटिएको बताइन्। ‘कथा आफुले भोगेको मात्र हुदैन, अरुका मुद्दा  र बिषयलाई सुनेर र बुझेर पनि जस्ताको त्यस्तै कथा लेख्न सकिन्छ भनेर कथाकार ज्ञवालीले प्रमाणीत गर्नुभयो’, उनले भनिन।  

समाजमा विभिन्न खालका समस्याहरु भइरहदा नारीलाई केन्द्रमा राखेर पुस्तक लेखिएको र नारी प्रेम, विश्वास, आस्था र सबैको उत्प्रेरणा रहेको भनी पुस्तकमा दर्शाइएको उनले बताइन्।

विमोचन कार्यक्रममा साहित्यकार डा. लम्सालले कथाकार शोभा ज्ञवालीलाई महिलाका सङ्घर्षका बारेमा प्रश्न राखेका थिए। उनले कथाकार ज्ञवालीलाई सोधेका थिए, महिला र महिलाकै मुद्दाहरु कथामा किन समेटनुभयो?

जवाफमा कथाकार ज्ञवालीले भनिन, ‘अहिले समाजमा महिलाहरु नै पछाडि परेको र अन्यायमा परेको हुँदा समाजलाई पढाउनका लागि पुस्तकमा महिलाका कुराहरु समेटेकी हुँ।’  

उनले भनिन्, ‘कथाका बिषयवस्तुहरु ९० प्रतिशत सत्यतामा आधारित छन्। हाम्रो समाजमा महिलाले राम्रो काम गरेर घर फर्किदा पनि गाली खार्नुपर्ने अवस्था छ। सम्पन्न परिवारकै महिलाहरु पीडित छन्। यो देखावटी समाजमा महिलाहरुको धेरै समस्याहरु छन् त्यसलाई मैले उठाएकी हुँ।’

महिला शिक्षित, आर्थिक सम्पन्नता, आफ्नो अधिकारका लागि लड्न सक्ने भए यस्ता पीडाहरु भोग्नु नपर्ने उनले बताइन।

आफूले काठमाडौका दिदिबहिनीका  कथाहरु मात्र नभई देशैभरका दिदिबहीनीहरुको समस्या पुस्तकमा समेटेको कथाकार ज्ञवालीले बताइन्।

‘महिलाहरु नेतृत्वमा पुग्न सङ्घर्षरत रहेको र राज्यले पनि महिलाहरुको समस्या समाधान गर्ने खालको कानुन बनाउन आवश्यक छ’, उनले भनिन। पुस्तक ‘सङ्घर्ष’ देशैभरका दीदीबहीनीको माझ पुर्याउन आफू लागी पर्ने उनले प्रतिवद्धता जनाइन्।

पुस्तक ‘सङ्घर्ष’मा २६ वटा कथाहरु समेटिएका छन्। पुस्तकको सम्पादन रघुनाथ लामिछानेले गरेका छन् भने नेपाल रिपब्लिक मिडियाले प्रकाशन गरेको छ। कथाकार ज्ञावाली नेपाल रिपब्लिक मिडियाको निर्देशक पनि हुन्।  

प्रकाशित: २ फाल्गुन २०७९ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App