बर्देवालाई गीति श्रद्धाञ्जलीः ‘गोरेटो अनि उस्तै छ गल्ली...’ (भिडियो)
काठमाडौं–बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गढमा उपस्थित धेरैले एकै स्वरमा गीत गाए– ‘गोरेटो अनि उस्तै छ गल्ली...।’ माहोल एकाएक भावविव्हल बन्यो। धेरैका आँखा रसाए। गाउनेहरु धेरै रोकिए र सुँकसुकाउन थाले।
प्रज्ञा भवनमा राखिएको चर्चित गायक तथा संगीतकार सुनील बर्देवाको शव अगाडी सांगितिक श्रद्धाञ्जली चढाउन उल्लेख्य कलाकार जुटेका थिए। बर्देवाको मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।
मंगलबार साँझ अचेत अवस्थामा धुम्वाराहीस्थित घरबाट ४४ वर्षे गायक बर्देवालाई उपचारको लागि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याए लगत्तै मृत घोषित गरिएको थियो। पछिल्लो समय एक्लै बस्दै आएका गायक बर्देवा जण्डिसबाट ग्रसित रहेका उनका आफन्त पर्ने गायक प्रमोद निर्वाणले बताए।
‘पछिल्लो समय भाउजुको सम्झनामा गीत रेकर्ड गराएर भिडियो तयार गर्ने कुराकानी भइरहेको थियो।’ प्रमोदले भने ‘जण्डिस ग्रसित भएको एकवर्षजस्तो भइसकेको थियो।’
बर्देवाका ‘जव म’, ‘मेरो गिटार’ र ‘बेस्ट अफ सुनिल बर्देवा’ नामक एल्बम सार्वजनिक छन्।
नारायगढस्थित मामाघरमा बसेर अध्ययन गरिरहेका उनका दुई छोरी र एक छोरा उनलाई अन्त्येष्टि दिन राजधानी आएका छन्। आर्यघाटमा नाबालक छोराले पार्थिव शरीरमा दागबत्ती दिएका छन्। बर्देवाकी पत्नीले आत्महत्या गरेपछि उनी विक्षिप्त बनेका थिए।
बर्देवाले ‘जव म निद्रामा’, ‘म पर्खि बस्छु’, ‘यो साँझ यो रात’, ‘भन तिमीले दिएको’, ‘जस्तै तिमीले’, ‘आज भोलि’, ‘प्रियसी’, ‘मन परेको मायालुलाई’, ‘गोरेटो’ लगायत गीतहरुमा स्वर दिइसकेका छन्। झण्डै २० वर्षदेखि निरन्तर नेपाली संगीतमा सक्रिय गायक वर्देवा नयाँ एल्बमको तयारमा जुटेका थिए।
मेटिक नामक सांगीतिक ब्यान्डमार्फत नेपाली संगीतमा प्रवेश गरेका उनी नेपाली संगीतको गायन, संगीत र एजेन्जरको रुपमा स्थापित कलाकार हुन्। उनले समकालिन नवीनके भट्टराई, संजीव सिंह, निमा रुम्बा र शर्मिला बर्देवाको गीत तयार गरेका थिए।
‘बोल्ने स्वभाव थियो, कन्सर्टहरुमा दाँतले गिटार बजाउने गायकको रुपमा पनि चर्चा निकै थियो,’ गीतकार नरेशदेव पन्तले सम्झिए ‘मुम्बईबाट फर्किए लगत्तै नेपाली संगीतमा कमब्याक गर्ने तयारमा जुटेका थिए, तर अब रहेनन्।’
कसरी तयार भयो ‘गोरेटो अनि उस्तै छ गल्ली...’
झण्डै १७ वर्षअघि नेपाली पप संगीतले बजार पाइरहेको थियो। गीतकार नरेशदेव पन्त र गायक सुनिल बर्देवाको काम र भेटघाट गर्ने थलो बनेको ओपस स्टूडियो । नेपाली पप गीतमा सक्रिय गायक बर्देवा नेपाली पप संगीतमा नयाँपन ल्याउन जुटेका थिए। गीतकार नरेशदेव पन्त संगीतमा सक्रिय भएकाले ओपस स्टूडियोमा बेलाबखत पुगिरहन्थे।
एक्कासी गायक बर्देवाले ‘गोरेटो अनि उस्तै छ गल्ली’ लाइन तयार गरेपछि बाँकीको गीत तयार गर्ने जिम्मा पाए गीतकार नरेशदेव पन्तले। एक घण्टामा गीत लेखेपछि तत्काल रेकडिङ गराइयो। नेपाली एफएमले नेपाली संगीतहरुलाई प्राथमिकता दिइरहेको अवस्थामा झण्डै २ दिनको अवधीमा गीत एफएमहरुमार्फत बज्न थाल्यो।
फोटो/भिडियोः प्रविन कोइराला