१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

चार दशकअघिको बर्दियालाई नियाल्दा

समयको रफ्तार अति द्रूत गतिमा दौडिँदो रहेछ । जागिरका सिलसिलामा नयाँ मुलुक भनेर चिनिने बर्दया जिल्लाको धुलो र माटोसँग मित्रता गाँसेको पनि सैंतीस वर्ष बितिसकेछ। कहिलेकाहीं म सुरुमा बर्दिया आइपुग्दाका पुराना दिनतिर फर्केर हेर्ने गर्छु। एउटा अपत्यारिलो र अकल्पनीय परिवर्तनको कालखण्ड यति चाँडै बितेको पत्तै भएनछ मलाई। त्यतिबेलाको बर्दिया भौगोलिक हिसाबले अति बिकट, विकासका हिसाबले अति पिछडिएको, अशिक्षा, गरिबी र अभावैअभावले पिल्सिएको जिल्ला थियो। कुरा २०४२ सालको हो। ढोरपाटन सिकार आरक्षबाट म शाही बर्दिया वन्यजन्तु आरक्षमा सरुवा भएको थिएँ। बुटवलदेखि पश्चिमतर्फको भूगोलसँग म पूर्णरूपमा अनभिज्ञ थिएँ। पोखराबाट बुटवलसम्म बस चल्ने गथ्र्यो। बुटवलबाट राप्ती नदीसम्म बसमा यात्रा गरेपछि डुँगा तरेर भालुवाङ पुगेपछि नेपालगन्जका लागि अर्को बस चढ्न पाइन्थ्यो। नेपालगन्जबाट भारतको रूपैडियासम्म टाँगा चल्थ्यो। टाँगाबाट उत्रिएपछि नानपारासम्म र नानपारादेखि बस बदल्दै बिछियासम्म पुगिन्थ्यो। बिछियाबाट कोठियाघाट पुग्न धेरै कठिन थियो। कुनै सार्वजनिक सवारीका साधन चल्दैनथे। घनघोर जंगल छिचोलेर हिँड्नु पर्ने, चोर र डाँकाको डरले मानिस एक्लैदुक्लै हिँड्ने आँट गर्दैनथे। ठूलै जोखिम उठाएर म रिक्सा चढी कोठियाघाट पुग्दा सरकारी हात्ती भेटिएकाले मलाई ठाकुरद्वारा पुग्न सहज भएको थियो त्यतिबेला ।

ठाकुरद्वारा पुगेपछि सुरुका दिन निकै विरक्त थिए मेरा लागि। बिरानो ठाउँ, सुनसान वातावरण, भाषा र रहनसहनको नया अनुभव, मानिस आआफ्ना धुनमा केन्द्रित, कसैले कसैको वास्ता नगर्ने एउटा नौलो परिवेश थियो मेरा लागि। इँटाको पर्खाल भएको एउटा भवन थियो। तलपट्टि कार्यालय र माथिपट्टि कार्यालय प्रमुखको आवासका रूपमा प्रयोग भएको थियो त्यो भवन। हाल ब्यारेकले प्रयोग गरेका बाटो छेउका घरहरू ठुलो दर्जाका पुराना कर्मचारी रेन्जर, सुब्बा, लेखापालहरूले ओगटेर सपरिवार बस्ने गरेका थिए। अन्य साना दर्जाका कर्मचारीका लागि बस्ने आवास र खानाको व्यवस्था थिएन। सबै घर कर्मचारीले ओगटेकाले मेरा लागि गेस्टहाउसको कुनापट्टिको कोठा उपलब्ध गराइएको थियो। त्यहाँ खाना पकाउने ठाउँ थिएन। ठाकुरद्वारा गाउँमा रहेको पुनाराम बडघरको चिया पसलमा चियासँगै खाजा बिस्कुट खाएर केही दिन गुजारा गर्नुपरेको थियो मलाई। प्रायः हरेक दिन दिउँसो गस्ती हिँड्ने गरिन्थ्यो। त्यतिबेला गस्तीमा रेन्जरको सहभागिता अनिवार्य हुने गथ्र्यो। गस्तीबाट फर्केपछि हाकिमलाई प्रतिवेदन गर्नुपथ्र्यो। गस्तीका क्रममा ठाकुरद्वाराबाट पैदल हिँडेर कर्णाली चिसापानी, खयरभट्टी, सैनावार, दानवताल र परेवाओडारसम्म पुगेर फर्किनुपथ्र्याे। वन्यजन्तुको संख्या निकै कम भएकाले चोरीसिकारी र मानव–वन्यजन्तु द्वन्द्वको समस्या शून्यजस्तै थियो। आरक्षभित्रबाट पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने काम भरखर सुरु भएको थियो। अम्रेनीदेखि कर्णाली चिसापानीसम्म सडकमा पर्ने रुखहरूको लगत लिने कामको जिम्मेवारी मलाई दिइएको थियो। मैले गेमस्काउट टीकाराम थारु र खुसीराम थारुको सहयोगमा उक्त काम सम्पन्न गरेको थिएँ। हामीले पैदल हिँडेर नै त्यो काम सम्पन्न गरेका थियौं ।

ठाकुरद्वारा क्षेत्र यातायातका दृष्टिकोणले पनि बिकट र आवास तथा खानपानको राम्रो सुविधा नभएकाले यस क्षेत्रमा पर्यटकीय गतिविधि लगभग शून्य अवस्थामा नै थियो। नेपाल सरकारले पश्चिम नेपालमा पर्यटकीय गतिविधि सञ्चालन गर्न टाइगर टप्सलाई आग्रह गरेपछि सन् १९८८ मा टाइगर टप्सले चिडकैयामा पर्यटकीय होटल स्थापना ग¥यो। त्यसै वर्ष नेपाल सरकारसँग सम्झौता गरी लालमाटी क्षेत्रमा टेन्टेड क्याम्पसमेत सञ्चालन गरेको थियो। टाइगर टप्स खुलेपछि ठाकुरद्वारा क्षेत्रमा व्यावसायिक रूपमा पर्यटकीय गतिविधि सुरु भएको हो। बर्दियामा जंगल ड्राइभ र हात्ती सफारीको सुरुवात पनि टाइगर टप्सले नै गरेको हो। नेपाल सरकारले टाइगर टप्सलाई निकुञ्जभित्र पर्यटकीय सेवा सञ्चालनका लागि छुट्टै प्रवेशद्वारको सुविधासमेत प्रदान गरेको थियो ।

पूर्व पश्चिम राजमार्ग निर्माण सम्पन्न भएपछि बर्दिया घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या क्रमशः वृद्धि हुँदै गयो। टाइगर टप्सबाहेक अन्य साना स्तरका होटल नहुँदा बर्दिया घुम्न आउने पर्यटकहरूलाई धेरै नै असुविधा थियो। तत्कालीन बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सुझावबमोजिम ठाकुरद्वारा निवासी खड्कबहादुर खड्का ‘प्रेमी’ ले खोलेको बर्दिया जंगल कटेज टाइगर टप्सपछिको दोस्रो पर्यटकीय होटल हो। त्यसपछि बर्दियामा होटल थपिँदै गएका छन्। हाल ठाकुरद्वारामा सानाठुला गरी करिब तीन दर्जन पर्यटकीय होटल रहेका छन्।  

बर्दिया नेपालमा वन्यजन्तुमा आधारित दोस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यहाँ घुम्न आउने पर्यटकलाई निकुञ्जभित्र हात्ती सफारी, जंगल ड्राइभ, पैदल भ्रमण, रात्रिकालीन क्याम्पिङ, फिसिङ, राफ्टिङजस्ता सेवाका अतिरिक्त आदिवासी थारु समुदायका परम्परागत मौलिक सांस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन प्रदान गरिन्छ। विदेशी पर्यटकको आग्रहमा सन् २०१६ देखि टाइगर टप्सले पर्यटकलाई हात्ती सफारी सेवा बन्द गरेको थियो। हाल निकुञ्ज भ्रमणमा आउने प्रायः कुनै पनि विदेशी पर्यटकले हात्ती सफारी गर्ने चाहना राख्ने गरेको पाइन्न। बर्दियाको गेरुवा नदीतटीय क्षेत्र र बबई उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यन्तै महŒवपूर्ण क्षेत्र हुन। पूर्वमा चेपाङस्थित रत्न राजमार्गमा रहेको बबई नदीको पुलदेखि पश्चिममा परेवाओडारस्थित पूर्वपश्चिम राजमार्गमा रहेको बबई नदीको पुलसम्मको करिब ४६ किलोमिटर लम्बाइ भएको बबई उपत्यका बर्दियाको गहना हो। साबिक सानोश्री गाउँपञ्चायतको पूरै बस्ती स्थानान्तरण गरी उक्त क्षेत्र खाली गरेर आरक्षमा समावेश गरिएको थियो। यस क्रममा २६ वटा गाउँका १५ सय ७२ घरधुरी र ८५ सय जनसंख्यालाई उक्त क्षेत्रबाट ताराताल क्षेत्रमा स्थानान्तरण गरिएको थियो। हात्ती, गैंडा, बाघजस्ता दुर्लभ वन्यजन्तु अवलोकनका साथै न्यून मानवीय गतिविधि र मनोरम प्राकृतिक भू–दृश्यका कारण सुन्दर, शान्त बबई उपत्यका पर्यटकीय दृष्टिकोणले बर्दियाको एक अनुपम सम्पदाका रूपमा रहेको छ। विगतमा भेरी बबई डाइभर्सन परियोजनाअन्तर्गत विद्युत उत्पादन केन्द्र निकुञ्जको कोर एरियामा पर्ने गरी प्रस्ताव गरिएकोमा पछि बबई उपत्यकाको महŒवलाई आत्मसात गर्दै परिमार्जन गरिएको भन्ने चर्चा परिचर्चा हुनेगरेको पाइन्छ। बर्दियाको सुन्दर भविष्यका लागि बबई उपत्यकाजस्तो जैविक विविधताले भरिपूर्ण सम्पदाको संरक्षणमा सबै बर्दियावासीको ध्यान केन्द्रित हुन जरुरी छ ।

सरकारी सेवा निवृत्त भई हाल जीवनको उत्तराद्र्ध दिनहरू व्यतीत गरिरहँदा मैले बर्दियाको बाटो र बर्दियाको माटोसँगको मेरो सम्बन्धलाई निरन्तरता दिइरहेको छु। कहिलेकाहीं मैले हिजो देखेको एवम् भोगेको बर्दिया र आजको बर्दियालाई एकै ठाउँमा राखेर तुलना पनि गर्ने गर्छु। आजको बर्दियालाई राजनीतिक विभाजनका हिसाबले उपेक्षा गरिएको छ तर पनि बर्दियाले आफ्नो सान, मान र प्रतिष्ठालाई नेपालका सतहत्तर जिल्लामध्ये कुनै पनि हिसाबले पछाडि पर्न दिएको छैन। बर्दिया नेपालमा सबैभन्दा पहिला रेल चलेको जिल्ला, नेपालमा सबैभन्दा पहिला किसान विद्रोह गरेर सहिद बनेकी कोइरी थरुनीको जिल्ला, नेपालको सबैभन्दा लामो कर्णाली नदीलाई मित्र राष्ट्र भारतसँग जोड्ने जिल्ला, नेपालको सबैभन्दा लामो पक्की पुल भएको जिल्ला, संसारकै सबैभन्दा ठुलो एसियाली हात्ती राजागजको जिल्ला, नेपालको एक मात्र कृष्णसारको प्राकृतिक वासस्थान भएको जिल्ला अनि नेपालमा तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज रहेको जिल्ला हो ।

बर्दिया त्यसमा पनि ठाकुरद्वारा क्षेत्र संसारभरिका मानिस हिँड्ने र संसारले चिन्ने ठाउँ हो। बर्दिया राष्ट्रिय निकुञ्जले बर्दियालाई संसारमा परिचित गराउने काम गरेको छ। यस अर्थमा बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाको सान र सम्पत्ति पनि हो। यो सान र सम्पत्ति जोगाएर हाम्रा भावी पुस्तालाई योभन्दा अझ राम्रो अवस्थामा हस्तान्तरण गर्न सकियो भने यसले हाम्रा भावी सन्ततिको भाग्य र भविष्य उज्ज्वल बनाउन ठुलो योगदान गर्ने छ। भनिन्छ प्रकृति संरक्षणमा नै मानव जातिको कल्याण निहीत छ। हामी पनि प्रकृतिको अनुपम उपहार बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणमा सहभागी बनौं, सुन्दर, समृद्ध र विकसित बर्दिया निर्माणमा योगदान गरौं।

(लेखक थापा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा संरक्षणकर्मी हुन्।)

प्रकाशित: १४ माघ २०७९ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App