नौ महिने गर्भको पेट। हिँड्डुल गर्न नसकिने अवस्था। हातमा धुँवा उडिरहेको चुरोट र मदिराको बोतल। एकान्त कोठामा जुनकिरीको बास। न कुनै आफन्त, न कोही उनको गर्भ भएकामा खुसी हुने मान्छे। धुँवा नै धुँवाजस्तै बेफिक्री उसको जीवन उडिरहेझैं लाग्थ्यो। एक्लै नितान्त एक्लै।
‘तँ त आँटिली केटी पो त,' उसको आफ्नै अन्तरआत्मा एकान्तमै बोलिदिन्छ। निरीह जुनकिरीमा अचानक एउटा भिन्दै आवेग संचार हुन्छ। उ बहुलाही जस्तै हुन्छे। घरि चण्डी दुर्गाजस्ती। गाउँकी चञ्चले जुनकिरी सपना सहरको कोलाहलमा पूरै बदलिन्छे। बदलिँदैन त केवल द्वन्द्वपीडित भोलाप्रतिको माया। तर त्यही भोलाले पनि उसलाई अन्तिम अवस्थामा स्विकार्न आउँदैन।
बाबुबिनाको सन्तान जन्माउन खोजेकी जुनकिरी कसरी त्यो अवस्थामा पुगिहोली? भर्खरकी कलिली उनी त्यो भड्खालोमा रहरले पुगी कि वाध्यताले? माथिका परिस्थिति हेर्दा आख्यानले भरिएको उपन्यासजस्तो लागे पनि यो 'जुनकिरी' नाटकमा देखिने दृश्यांश हुन्। सर्वनाम थिएटरमा भदौ ३ देखि चलिरहेको नाटक 'जुनकिरी'को पूरै दृश्य हेर्न भने थिएटरमै पुग्नुपर्छ।
किशोरकिशोरीको चञ्चलतासँगै उनीहरुको महŒवाकांक्षाले निम्ताउने जघन्य अवस्थाको चित्रण नाटकले गर्न खोजेको छ। पढ्ने बहानामा गाउँबाट सहर छिरेका युवतीहरुले भोग्नुपर्ने पिडाको ज्वलन्त उदाहरण जुनकिरीले देखाउँछ।
लेखिका, नायिका र निर्देशक तीनवटै भूमिका २४ वर्षीया नानी थापाले निर्वाह गरेकी छिने। सिन्धुपाल्चोककी थापा नाटककी एक्ली पात्र हुन्। जसले झन्डै डेढ घन्टाको नाटकमा दर्शकको ध्यान तान्ने कोशिस गर्छिन्।
‘सहरमा गाउँबाट आउने किशोरी कलेजबाटै त्यस्तो सञ्जालमा पुग्ने विषयमा अध्ययन नै गरेको छु,' उनले भनिन्, ‘कामको बहानामा युवतीहरु शोषणमा परेको थाहै पाउँदैनन्। '
एउटा जागिरेजस्तै पेशागत रुपमा किशोरीहरु विभिन्न बहानामा गलत व्यवसाय गर्न पुग्नुले कलेजहरु नै उनीहरुका लागि असुरक्षित रहेको आफूले पाएको थापा उल्लेख गर्छिन्।
९–१० वर्षको उमेरदेखि नै सचेतनामूलक नाटक खेल्न थालेकी हुन् थापाले। मनोविज्ञानमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी थापाले नाटकमा महिला हकमा कानुनी पहिचानको प्रश्न समेत उठाएकी छिन्। अझै पनि बाबुबिनाका छोराछोरीलाई हेयको दृष्टिले हेर्ने प्रवृत्तिप्रति उनले प्रहार गरेकी छिन्।
आफैले लेखेको संवाद आफैंले प्रस्तुत गर्दा उनमा आत्मविश्वास प्रशस्त देखिन्छ। तर कतिपय ठाउँमा सामान्य संवाद र दृश्य लम्बिएझंै लाग्छ। जसले नाटकको मर्ममा असर परेको दर्शकहरुले प्रतिक्रिया दिए। संवादको नियन्त्रणमा कसी नलाएको हो कि भन्ने भान दर्शकमा पर्छ।
नाटकमा गाउँ सहर, शान्ति, द्वन्द्व, गीत, नृत्य, कविता, भावना, परिवेश सबै कुरा समेटने चेष्टाले दर्शकको ध्यान कुनैकुनै बेला छिरलिन्छ। एकल अभिनयमा उनले गरेको प्रयासको भने दर्शकहरु सराहना गर्छन्। ‘गम्भीर विषयको नाटक किशोरीहरुले भने हेर्नैपर्छ,' दर्शक अरुण सिपालीले भने, ‘नत्र जुनकिरीले जस्तै दुःख पाउँछन्।'
चेतनामूलक नाटक भएकाले युवापुस्तासँगै स्कुले बालबालिकाका लागि पनि यो नाटक उपयुक्त देखिन्छ। आमाबुबाले पढ्नका लागि सहर पठाउँदा गर्नुपर्ने हेक्काको लागि यो नाटक दह्रो प्रहार हो। नाटक भदौ ११ सम्म चल्नेछ।
प्रकाशित: ११ भाद्र २०७३ ०२:१४ शनिबार