८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

मानवीय मर्म बोल्ने मार्मिक कथा

पुस्तक

सिद्धनारायण आचार्य

विज्ञानले भनेको छ ‘हरेक कुराको आफ्नै गति अनि लय हुन्छ।’ लयलाई निश्चित दिशामा बगाउन सक्यो भने धुनको जन्म हुन्छ। धुन खुसीयालीको मात्र हुँदैन, सन्तापको पनि हुन्छ। मनको तापको पनि आफ्नै गति र यति हुन्छ होला। सबैको कानले सन्तप्त मनको गति र यतिलाई पर्गेल्न सक्दैनन्। सन्तापको गति र यति छुट्याउनु जटिल काम हो, मुटुमाथि ढुङ्गा राखेजत्तिकै। सन्तापको आरोह-अवरोहलाई निश्चित दिशा दिएर धुन बजाउन सफल भएको छ डा. अशोक थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह।

डा. थापा व्यक्तिगत रूपमा शालीन र भद्र त छँदै छन्, उनी त्यतिकै संवेदनशील पनि छन्। यसैकारण उनको कलमबाट सन्तापको मिठो धुन निस्केको हुनुपर्छ। जुन यस्तो लाग्छ निरन्तर सुनिरहूँ। जति सुने पनि तृप्त नबनेजस्तो हृदय। तेह्र ओटा सन्तापका भिन्नभिन्न लयलाई निश्चित दिशा दिएर ‘सन्तापको धून’ कथासङ्ग्रह तयार पारेका छन् थापाले।

बरु पढ्दै पढ्दिनँ, पढें भने मजाले पढ्ने बानी छ मेरो। जे पढे पनि स्वादले पढ्छु। धेरै कृति पढेर समय र रूपैयाँ बर्बाद भएपछि पछुताएको पनि छु। यसको अर्थ यो होइन कि मैले सबै कृतिबाट धोका खाएको छु। केही कृतिले मलाई तीव्र सन्तोष दिएका पनि छन्। केही कृतिले मन लुटेका पनि छन्। मेरो स्मृतिमा कुनै कृति लामो समय रह्यो भने सोउपर केही कोर्न मन लाग्छ र यो पनि बुझ्ने गर्छु त्यस कृतिले मलाई मजाले छोयो। त्यही मनमा गढेको कुराको लिपिकरण गर्ने प्रयास गरेको छु यहाँ ‘सन्तापको धून’ कथासङ्ग्रहलाई साक्षी राखेर। ‘सन्तापको धून’मा सङ्कलित १३ वटा कथामध्ये ‘डडुवाई आमा’ सबैभन्दा बेजोड कथा लाग्यो मलाई। यसले मलाई ७ दिनसम्म विक्षिप्त बनायो। डडुवाई आमा परिवेशप्रधान कथा भएकाले परिवेशमा आएकी झालेमाले कुकुर्नीले नै म पात्रको मनलाई परिवर्तन गरिदिएको घटनाले मन उम्लिएर आँखाबाट झरेको झरै भयो।

मेरो अश्रुवर्षा भएपछि मैले धेरै कुरा सम्झिएँ। साहित्य सिद्धान्तकारलाई सम्झिएँ। एरिस्टोटलको विरेचन सिद्धान्तलाई सम्झिएँ। उनी भन्छन्, पाठकलाई आनन्द दिलाउन विरेचनको आवश्यकता पर्छ। विरेचन हुनका लागि मुख्य पात्रको भुलका कारण निधन अथवा कथामा अरू कोही प्रमुख पात्रको अन्त्य भएर मुख्य पात्रको पश्चात्तापको आवश्यकता पर्छ भनेर पढेको थिएँ। डडुवाई आमा कथा पढेपछि एरिस्टोटलको सिद्धान्त कताकता अधुरो लाग्यो। यो कथा सुखमा अन्त्य हुँदा पनि मेरो त मन विरेचित भयो। मलाई एकदमै आनन्द दियो।

‘नुच्छेमान’ कथामा दशैंको सांस्कृतिक परिवेशलाई कथामा डुबाएर नुच्छेमान कसरी दलालको चङ्गुलभित्र पर्‍यो। त्यसलाई सफल रूपमा कथाको फ्रेममा उतारिएको छ। ‘भजाइनल ट्रमा’ कथामा आफ्नो यौनवासना तृप्तिका लागि प्रेमलाई बलिदान गर्ने पुरुष प्रवृत्तिमाथि शालीन रूपमा आक्रोश पोखिएको छ। ‘उदास बिहीबार’ कथामा बिहीबारलाई उदासीको रङले रङ्ग्याएर अनाथको पीडालाई सुन्दर चित्र बनाइएको छ।

अझै अनाथ बच्चा छोरी भयो भने हाम्रो पितृसत्तात्मक समाजले छोरीलाई दोस्रो दर्जामा राख्ने कुराले कथालाई कारुणिक मात्र बनाएको छैन, लैङ्गिक विभेदको यथार्थलाई थप नङ्ग्याएको छ। ‘वीर्यदान’ कथामा नाता र सम्बन्धभन्दा प्रेम धेरै महान् छ भनेर देखाउन खोजिएको छ। ‘गाजल बेच्ने केटी’ कथामा तिहारको झिलिमिली उज्यालोमा गाजल बेच्ने कुरूप अनुहारभित्र लुकेको सुन्दर मनलाई देखाउन खोजिएको छ। ‘रित्तो आँगन’ कथामा आँगनमा सन्नाटाको रङ भरिएको छ। जुम्ल्याहा गर्भमा एक छोरी हुँदा छोरा जोगाएर छोरीलाई गर्भमै मार्ने अति क्रूर लैङ्गिक विभेदको यथार्थलाई प्रकाश पार्न खोजिएको छ।

‘भित्ताका कान’ कथामा पात्रहरूलाई कुसे औंसीको अँध्यारोमा डुबाएर परिवारमा ससुरा र बुहारीको अनैतिक सम्बन्धलाई देखाइएको छ। यही अप्रत्यासित घटनालाई मनमा लिएर सासूले आत्महत्या गरेको कारुणिक दृश्यमा कथालाई बिट मारिएको छ। शीर्ष कथा ‘सन्तापको धून’मा जातीय विभेदलाई स्पष्ट रूपमा देखाउन खोजिएको छ। जिउँदो हुँदासम्म जातका कारणले अछुत भएको पात्र किस्ने मरेपछि पनि अन्तिम संस्कारबाट वञ्चित भएको घटना देखाइएको छ। यो प्रगतिशील प्रकृतिको कथा हो।

प्रस्तुत सँगालोका अधिकांश कथामा पोथी गद्यको प्रयोग भएको छ। आञ्चलिक भाषाको जादु चलाएका छन् कथाकारले। स्थानीय बिम्बले कथालाई यस्तोसँग रङ्ग्याएका छन् जुन प्रशंसनीय छ। यस कथासङ्ग्रहको बलियो पक्ष कथामा कौतुहलता सिर्जना गर्न सक्नु हो। कथाको खुला अन्त्यले पाठकलाई केही बेर सोच्न बाध्य पार्नु यस सँगालोको अर्को राम्रो पक्ष हो।

यी यावत सबल पक्ष हुँदाहुँदै पनि केही कथाहरू दोषमुक्त भने हुनसकेका छैनन्। विषयवस्तुका तहमा पनि ठाउँठाउँ अधकल्चा सन्दर्भहरू पाउन सकिन्छ। हात्तीछाप चप्पल कथामा रेनुप्रतिको म पात्रको खास आकर्षण तेज पढाइ मात्र हो कि अन्य कुरा पनि छ? पात्रको रूपरङको वर्णन नहुँदा पात्रको स्पष्ट चित्र पाठकको मस्तिष्कमा बस्न सकेको छैन।

प्रेमको पहिलो ढोका नै अनुहारको सुन्दरता हो। बाहिरी रूपमा रेनु कस्ती थिई? यसको जवाफ पाठकले पाउँदैनन्। वीर्यदान कथामा सरलाले रोमुसँग गरेको च्याटिङ रमेशले कसरी फेला पारेके हो ? कथामा पुष्टि हुन सकेको छैन। सरला पढेलेखेकी, एकदमै बाठी (स्मार्ट) केटी हो। उसले आफ्नो च्याट हिस्ट्री सजिलै मेटाउन सक्छे। कानुनी हिसाबले प्रहरी अनुसन्धान बेगर अरूको विद्युतीय वार्तालाप पढ्न प्रायः असम्भव नै छ। रित्तो आँगन कथामा छोरा विदेश गएका कारण रित्तिएको घरलाई देखाइएको छ।

यो ५० को दशकमा सुहाउने कथा हो। अहिले छोरी पनि उत्तिकै सङ्ख्यामा विदेश जान थालेका छन्। छोरी नै भएको भए पनि आँगन रित्तो नै हुने सम्भावना त्यतिकै छ। फेरि छोरीले आमाको रेखदेख अनिवार्य रूपमा नै गर्छन् भन्ने के ग्यारेन्टी छ र ? कथाकार छोराप्रति यसरी खनिनुले आग्रहको गन्ध आउनु स्वाभाविक छ।

कतै कतै कथाकारले बिम्बको प्रयोग सही रूपमा गर्न चुकेका छन्। ‘मेरी आमा मोटरसाइकलमा चमेरे बनेर झुन्डिइन्’ भनिएको छ। चमेरो त उँधोमुन्टो लगाएर झुन्डिन्छ हैन र? कुनै कुनै ठाउँमा भाषाको अनावश्यक विचलन गरी भाषाको मिठासलाई झन् खल्लो बनाइएको छ। अधिकांश कथा प्रथम पुरुषमा समाख्यान गर्दा लेखक थापाकै स्मृति कथा पढेको भान हुनु सबै ठाउँमा उपयुक्त लाग्दैन।

ठाउँठाउँ पात्रको स्तर अनुसारको भाषा नभेटिनु अर्को कमजोर पक्ष देखिन्छ। समग्रमा भन्दा कथासङ्ग्रहले नारी समस्या, जातिगत विभेद, छेलिएका, छोपिएका स्वरहरूलाई सबैले देख्ने गरी सतहमा ल्याइदिएको छ। तेह्र वटा कथाका विषयगत र शिल्पगत रूपमा कतैकतै भाषाको केही कमीकमजरी रहे पनि एकदमै नयाँ तरिकाले कथाको विषयवस्तु पस्केका छन् कथाकारले। 

प्रकाशित: २३ पुस २०७९ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App