५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

१२ वर्षपछि चौथो मिस्टर कोशी चैत पहिलो साता हुने

चौथो मिस्टर कोशीबारे जानकारी दिदै आयोजक। तस्बिर: रोहित राई

चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आगामी चैत पहिलो साता आयोजना हुने भएको छ।

आयोजक एलाइनेट जिमले मंगलबार पत्रकार सम्मेलन गर्दै चैत ३ र ४ गते प्रतियोगिता हुने जानकारी दिएको हो। २०६५ सालमा पहिलो सँस्करण भएको मिस्टर कोशीको १२ वर्षको अन्तरालमा चौथो सँस्करण हुन लागेको हो। २०६६ मा दोस्रो र २०६७ मा तेस्रो सँस्करण भएयता मिस्टर कोशी आयोजना हुन सकेको थिएन। आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बुले प्रायोजन, प्राविधिकलगायत विविध कारणले प्रतियोगिता रोकिएको र अब निरन्तरता दिइने पनि बताए।

चौथो सँस्करणको विजेताले उपाधि ट्रफीसँगै नगद १ लाख १० हजार पुरस्कार पाउने छन्। दोस्रो हुने ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथो हुनेले ३० हजार, पाँचौं हुनेले २० हजार र छैटौं हुने खेलाडीले नगद १५ हजार पुरस्कार हात पार्ने छन्। यस्तै, व्यक्तिगत विधातर्फ विजेता खेलाडीहरुले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन्। व्यक्तिगत विधातर्फ बेष्ट पोजर, मोष्ट इम्प्रुभ र मोष्ट मस्कुलर उपाधि दिइने पनि अध्यक्ष लिम्बुले जानकारी दिए।

धरान ८ स्थित सभागृहमा हुने प्रतियोगिताको पहिलो दिन प्रि जजिङ राउण्ड हुनेछ। जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी माथिको प्रत्येक तौल समुहबाट ६ जना खेलाडीहरु फाइनल राउण्डको लागी छनौट हुने कोषाध्यक्ष केशव श्रेष्ठले जानकारी दिए। दोस्रो दिन फाइनल राउण्डको स्पर्धामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडी मात्र उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धाको लागि छनौट हुने छन्। ओभरअल राउण्डको प्रतिस्पर्धामा प्रथम हुने खेलाडी चौथो मिस्टर कोशी च्याम्पियन हुने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगितामा साविक कोशी अञ्चलका जिल्लाहरुबाट मात्र खेलाडी सहभागी हुन पाउने छन्। प्रतियोगितामा ६ लाख खर्च हुने अनुमान गरिएकोमा धरान उपमहानगरपालिकाबाट २ लाख मात्र बटेज प्राप्त हुने र अन्य खर्च टिकट, सहयोग रसिद र प्रायोजनहरुबाट जुटाउने पनि आयोजकले जनाएको छ। एलाइनेट जिमको यो प्रतियोगिता २० औं प्रस्तुती हो। यसअघि ४ वटा राष्ट्रिय प्रतियोगिता, ७ पटक मिस्टर पुर्वाञ्चल, ३ पटक मिस्टर कोशी, ४ पटक मिस्टर धरान र एक पटक वेञ्चप्रेस च्याम्पियनसिप पनि आयोजना गरिसकेको अध्यक्ष लिम्बुले बताए।  

प्रकाशित: २७ मंसिर २०७९ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App