८ वैशाख २०८१ शनिबार
कला

छोरीले जन्माएका आमाका संघर्ष–कथा

इतिहास या त राजा महाराजाका लेखिए अथवा विद्रोही र क्रान्तिकारी वा वीर योद्धा र महापुरुषहरूका लेखिए। आफ्नो जीवनमा आफ्नो अस्तित्वका लागि र आफ्नो परिवारको उन्नतिका लागि मरिमेट्ने सर्वसाधारणका जीवनकथा इतिहासका पानामा अटाएनन्। हालै बजारमा आएको पुस्तक ‘छोरीले जन्माएका आमाहरू’ त्यस्ता योद्धाहरूको वास्तविक कथा हो जसले कुनै राजनीतिक उथलपुथल र सत्ता परिवर्तनका लागि होइन, कुनै लडाइँ जित्नका लागि होइन, फगत् आफ्ना सन्तानको लालनपालन र शैक्षिक उन्नयनका लागि जीवनभर कठोर परिश्रम गरे। उनीहरू समाज र संस्कारद्वारा थोपरिएका अन्यायको जालोभित्र चुपचाप संघर्ष गरिरहे, आफ्ना सन्तानको उज्यालो भविष्य बनाउनका लागि। आपूmले पढ्ने अवसर नपाए पनि आफ्ना छोरीहरूले पढ्नुपर्छ र शिक्षित बनेर आफ्नो जीवन सुधार्नुपर्छ भन्ने उनीहरूले कतैबाट पढेर जानेका थिएनन्, आफ्नै जीवन भोगाइबाट सिकेका थिए।

हाल संयुक्त राज्य अमेरिकामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत इन्द्र गुरौकी आमा शान्तिदेवी गुरौले कहिले जमिनदारको घरमा कमलरी बसेर त कहिले आफ्नो घरमा बिहानको झिसमिसेमा उठेदेखि अबेर रातिसम्म अनवरत परिश्रम गरेर बिताउनुभयो। संयुक्त परिवारका तीसजना सदस्यलाई बिहान–बेलुका खाना खुवाउनुभयो। तर उहाँले आफ्ना शिक्षक श्रीमान्लाई सबैले सम्मान गरेको देखेर सोच्नुभयो, ‘पढेपछि राम्रो र ठूलो मान्छे हुने रहेछ। म पनि आपूmले दिनरात भान्छामा र दिउँसो घाँसपात गरेर भए पनि छोराछोरीलाई पढाउँछु।’ उहाँको यही ज्ञान र अठोटका कारण इन्द्र गुरौले पढ्ने अवसर पाउनुभयो र यस पुस्तकमा सुन्दर ढंगले आफ्नी आमाको प्रेरक कथा लेख्नसमेत सक्षम हुनुभयो।

लमजुङमा जन्मिएर चितवनमा बाल्यकाल बिताउनुभएकी उमा शर्माकी आमा राधा कँडेलले चौध वर्षमा विवाह भएर काठमाडौं घरमा भित्रिएपछि थप पढ्न पाउनुभएन। घरपरिवारका सारा सदस्यहरूलाई पकाउने, खुवाउने, पाहुनाहरूलाई सदैव स्वागत र सेवा गर्ने तथा घर–परिसर सधैं सफा राख्ने उहाँले जतिसुकै काम गरे पनि नथाक्ने, कहिल्यै गुनासो नगर्ने तथा सबै पीडा मनभित्रै लुकाएर सदैव हाँसिरहने भएकीले समाजमा सबैकी प्यारी र असल बुहारीको सम्मान पाउनुभयो। आपूmले विवाहपछि पढ्न नपाए पनि आफ्ना सन्तानलाई पढाएर उहाँले सन्तुष्टि लिनुभयो।  

काभ्रेकी कल्पना तामाङले आफ्नी हजुरआमा र आमाले गरेको संघर्षका कथा उल्लेख गर्दै त्यति बेलाको समाजमा रहेको गरिबी, अन्याय र सामाजिक कुरीतिहरूको चित्रण गर्नुभएको छ। रक्सीको कुलतले कसरी परिवार विकराल अवस्थामा पुग्छ भन्ने कुरा उहाँले आफ्ना मावलका हजुरबुबाको व्यवहारको वर्णन गरेर प्रस्ट पार्नुभएको छ। घरको अति कमजोर आर्थिक अवस्था र परिवारको दारुण अवस्थाका बाबजुद आफै काम गर्दै पढ्दै गरेर कल्पना तामाङले स्नातकोत्तर तहसम्मको पढाइ पूरा गर्नुभएको छ। यस क्रममा उहाँले आफ्नी आमा, बुबा र श्रीमान्को राम्रो सहयोग पाउनुभएको रहेछ।  

पुस्तकमा उल्लेख गरिएका बाह्रवटा कथामध्ये कमला न्यौपानेकी आमा राधा पौडेल जागिरे पतिको सरुवासँगै नेपालका विभिन्न ठाउँमा पुगेर बसोबास गर्नुभएको र अनेक काम गर्नुभएको प्रसङ्ग विशेष रोचक छ। दार्जिलिङमा शिक्षा हासिल गरेकी उहाँ नेपालका विभिन्न गाउँ र सहरमा गएर विद्यालयमा पढाउनुभएको थियो। उहाँले गुल्मी जिल्लामा पहिलोपटक सांस्कृतिक कार्यक्रमका रूपमा नाटक ‘सत्य हरिशचन्द्र’ को निर्देशन–आयोजना गरेको र छोरीलाई समेत त्यसमा पात्र बनाएको, सिलाइ–बुनाइ–कडाइ आदिमा निकै कुशल रहेकी उहाँले बनाएका स्विटर–टोपी–चोलो सबै त्यस क्षेत्रमै चर्चित हुने गरेको थियो भने उहाँ भैरहवा बस्दा माछापालन गरेर नौलो कामको थालनी गर्नुभएको थियो। यसबाहेक उहाँ उपन्यास पढ्ने, सिनेमा हेर्ने र खासगरी हिन्दी सिनेमाका नायक–नायिकाको सुन्दर अभिनयबाट प्रभावित हुने र आफ्ना छोराछोरीको नामकरण पनि उनै पात्रको नामबाट राख्ने गर्नुहुन्थ्यो।  

रजस्वला नहुँदै कन्यादान गरिदियो भने पुण्य कमाइन्छ भन्ने तत्कालीन मान्यताका कारण लेखक कविता घिमिरेकी आमा जया घिमिरेको विवाह १४ वर्षकै उमेरमा भयो र त्यसपश्चात् उहाँको पढाइ अवरुद्ध भयो। आफूहरूले जस्तो पढ्ने अवसर पाएकी भए आफ्नी आमा राम्रै इन्जिनियर बन्नु हुँदो हो भनेर अनुमान गर्ने कवितालाई विवाहपछि आमालाई पढ्ने अवसर उपलब्ध गराउन नसकेकोमा आफ्ना प्राध्यापक तथा पत्रकार बुबाप्रति ठुलै गुनासो रहेको देखिन्छ। साथै, उहाँको आलेखमा छोराछोरीको पढाइ, हुर्काइ र पारिवारिक व्यवस्थापनमा आमाले निर्वाह गर्नुभएको भूमिकाप्रति कृतज्ञता पनि महसुस गर्न सकिन्छ।  

दोलखामा जन्मनुभएकी आफ्नी आमालाई एघार वर्षकी हुँदा गुमाएकी लेखक जानु ओझाले अति दुर्गम क्षेत्रमा शिक्षा र प्रविधिबाट धेरै पर रहेर जीवन गुजारेकी आफ्नी आमा, टुकी बालेर कठिनाइका साथ पढेकी आपूm र सुविधासम्पन्न अमेरिकामा पढिरहेकी आफ्नी छोरीको फरक फरक समय र परिवेशको उल्लेख गर्नुभएको छ।  

सिन्धुली जिल्लाको दुम्जामा जन्मनुभएकी दुर्गा पोखरेल (तनुजा पोखरेलकी आमा) ले बनारस र विराटनगरमा शिक्षा आर्जन गर्ने मौका पाउनुभयो र सेभ द चिल्ड्रेन युकेमा काम गर्नुभयो। धनकुटामा रहेर उहाँले विभिन्न सामाजिक संघ–संस्थामा पनि काम गर्नुभएको थियो भने यही अवधिमा छोरीहरूको लालनपालन र शिक्षाका लागि अत्यन्त प्रभावशाली भूमिका निर्वाह गर्नुभएको प्रसङ्ग पुस्तकमा उल्लेखनीय छ।

सम्पन्न जीवनबाट झरेर सुकुम्बासीको जीवन बिताएर अनेक हन्डर–ठक्कर ब्यहोर्दै छोरी निर्मला राईलाई पढाउनुभएकी उहाँकी आमा लक्ष्मीदेवी राईले दिनुभएको मूलमन्त्र छ, ‘लोग्नेको कमाइमा भर नपर्नू। एक त आफ्नो हात–पाखुरा हुने जोकोहीले पनि काम गर्नैपर्छ, अर्को तिमीलाई लोग्नेका अगाडि शिर ठाडो गरेर हिँड्नु छ भने पनि उसको कमाइ नखानू। त्यसैले तिमी जति सक्छ्यौ, पढ्ने कोसिस गर।’  

पहिले पहिले पहाडतिर बुहारीहरूले जेठाजु र ससुराहरूका अगाडि जुत्ता लगाउन नहुने बरु फुकालेर अनि लुकाएर हिँड्नुपर्ने अनौठो संस्कारको जानकारी मीरा बस्नेतको लेखमा पढ्न पाइन्छ। सात वर्षमा बुहारी बनेकी लेखक मीराकी आमा पंमकुमारी बस्नेतले गुल्मीको सिमीचौरमा रहेको आफ्नो परिवारको ठूलो खेतीपातीको व्यवस्थापनको जिम्मेवारी आपूm एक्लैले लिएर भए पनि छोराछोरीहरूलाई बेरोकतोक पढ्ने अवसर उपलब्ध गराउनुभएको थियो।  

मञ्जु थापाले लेख्नुभएको आफ्नी आमा ईश्वरादेवी थापाको जीवनकथामा अरूभन्दा केही फरक विशेषता पाइन्छ। एघार वर्षमा विधवा हुन पुगेकी ईश्वरादेवीले श्वेत वस्त्रमा बेरिएर चौबीस वर्षसम्म एकल जीवन बिताउँदा उहाँ सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहनुभयो। आफ्नै पहलमा ‘स्वास्नीमान्छेको पार्टी’ खोलेर संगठन बनाउँदै हिँड्नुभयो। २०१७ सालको निर्वाचित संसद् विघटनसमेतको अभूतपूर्व राजनीतिक काण्डपछि छ महिना जेल पर्नुभयो र त्यहाँबाट रिहा भएपछि नेपाल महिला संगठनमार्फत तीस वर्षसम्म महिलाको उन्नति, प्रगति, जागरण र उनीहरूको शिक्षाका लागि निरन्तर रूपले सक्रिय रहनुभयो।  

त्यतिबेलाको कट्टर र कठोर समाजमा समेत विधवा जीवनलाई त्यागेर पुनर्विवाह गरी ईश्वरादेवीले छोराछोरीसमेतको घरपरिवार सम्हाल्ने, व्यापार–व्यवसाय चलाउने काम गर्नुका साथै आपूmले पढ्ने अवसर नपाएको कुरालाई मनन गरी गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा ‘कन्या विद्यालय’ खोल्ने पहल गर्नुभएको थियो। प्रतिकुल सामाजिक परिवेशमा एक अशिक्षित महिलाले यति कठिन काम गर्न सक्नुले हामी पढ्ने–लेख्ने अवसर पाएकाहरूले के गर्न सक्यौं भन्ने प्रश्न चिह्न खडा गर्छ। मञ्जु थापाले आफ्नी आमाको जीवनकथा लेख्दा फगत् आफ्नो परिवारकी सदस्य र अभिभावकका रूपमा मात्र उल्लेख नगरेर एक सामाजिक व्यक्तित्वको जीवनी एक अन्वेषकले लेखेजसरी लेख्नुभएको छ।  

पुस्तकमा अर्थशास्त्रमा स्नातकोत्तरसम्म पढेर विभिन्न गैरसरकारी संघ–संस्थामा काम गर्ने अवसर पाउनुभएकी निर्मला आचार्यको कथा पनि छ, जसले २०३० को दशकमै आपूmले मन पराएको इन्जिनियर प्रेमीसँग दाम्पत्य जीवन बिताइरहनुभएको छ। हजुरबुबाका पालादेखि नै शिक्षाको उज्यालो देख्न पाएका उहाँको परिवारमा पुस्तककी एक लेखक मोनिका आचार्यसहित सबै सदस्यहरू शैक्षिक क्षेत्रमा निकै अगाडि बढेको देखिन्छ।  

तेह्र वर्षको उमेरमा विवाह गरेर घर भित्रिनुभएकी रामेछापकी याममाया विश्वकर्माले संयुक्त परिवारमा बीसजना जति सदस्यलाई दिनहुँ खाना बनाउनेदेखि लिएर गाईवस्तु र मेलापातको काम गर्नुपथ्र्यो। खानपिनको काम सकिएपछि रातभरि जाँतोमा अन्न पिस्ने र ढिकीमा धान कुट्ने काम गर्नुपथ्र्यो। त्यसमाथि समाजमा जातीय भेदभाव र पटकपटक अपमान सहनुपथ्र्यो। यति दुःख–कष्ट सहेर पनि उहाँले छोरी पुस्तककी एक लेखक सञ्जिता बराइलीसहित सबै छोराछोरीलाई पढाएरै छाड्नुभयो।

आफ्नी आमाको जीवनकथा लेख्ने क्रममा केही लेखकले आमाका कमजोर पक्षको पनि उल्लेख गर्न छुटाएका छैनन्। उमा शर्माले आफ्नी आमाको अन्धविश्वासबारे चर्चा गर्दै लेख्नुभएको छ, ‘महापापको भयले जुन कष्टकर प्रथा आमाले जीवनका धेरै वर्षसम्म हरेक महिना चुपचाप मान्दै आउनुभयो, त्यसलाई मैले अव्यावहारिक, अवैज्ञानिक, अमान्य र एक्काइसौं शताब्दीको लज्जास्पद भोगाइ हो भन्ने मान्न थालें।’ त्यसैगरी अर्की लेखक कमला न्यौपानेले आफ्नी आमाका बारेमा लेख्नुभएको छ, ‘बुबा केही दिनका लागि घरबाहिर जानुपर्ने भयो भने हातमा पैसा राखेर जानू नत्र केटाकेटी निस्ताएर बिरामी हुन्छन् भन्नुहुन्थ्यो। बिरामी पर्दा भूतप्रेत लाग्यो होला भन्ने वा सातो गएको भनी ठान्ने र साँझमा मूलढोकामा राखेर आमाले पानी छ्याप्ने गर्नुहुन्थ्यो। अरूको आँखा नलागोस् भनेर काखका भाइबहिनीहरूलाई सधैं निधारको छेउमा कालो टीका लगाइदिने गर्नुहुन्थ्यो।’  

पुस्तकमा विभिन्न बाह्रजना लेखकका संस्मरण, अनुभव र स्मृति सङ्ग्रहित भएकाले फरक फरक लेखनशैलीको स्वाद पढ्न पाइन्छ। त्यति मात्र होइन, नेपालको पूर्व, पश्चिम र काठमाडौं उपत्यकाका भौगोलिक विभिन्नता र क्षत्री–बाहुन, जनजाति (तामाङ, राई) र दलित परिवारका भिन्न–भिन्न सांस्कृतिक परम्परा र समस्याबारे पढ्न पाइन्छ। तराई–मधेसका परिवारका कथा पनि समेट्न सकेको भए पुस्तक अझ समावेशी बन्ने थियो।  

इन्द्र गुरौकी आमा शान्तिदेवी गुरौको कथा पढेर हामी त्यतिबेला मध्य–तराईको थारु समुदायमा प्रचलित कमैया/कमलरी प्रथाको शोषण र उत्पीडनबारे जान्न पाउँछौं। त्यस्तै, कल्पना तामाङले लेखेको आमा सरिता तामाङको कथामा रक्सीको कुलतले कसरी कुनै परिवार तहसनहस हुनसक्ने रहेछ भन्ने बुझ्न सक्छौं। त्यसैगरी सञ्जिता बराइलीले लेखेको आमा याममाया विश्वकर्माको कथामा पितृसत्तात्मक तथा सामन्ती शोषणका साथै समाजमा हुने छुवाछूतजन्य विभेदका विरुद्धमा पनि उहाँले कडा संघर्ष गर्नुपरेको देखिन्छ।  

यस ‘छोरीले जन्माएका आमाहरू’ पुस्तकमा उल्लेख गरिएका संक्षिप्त जीवनकथाहरू पढ्ने अवसर पाउँदा पनि पढ्न अल्छी गर्ने, आफ्ना लागि वा आफ्नो सानो जहानका लागि खाना पकाउन पनि गाह्रो मान्ने अचेलका पुस्ताका छोराछोरीले पनि धेरै कुरा सिक्न सक्छन्। बिहान उठेदेखि राति नहुन्जेलसम्म घरको र खेतीपातीको काम भ्याएर, परिवारका सबै सदस्यहरूको खानपिन र स्याहार–सुसार गरेर पनि नथाक्ने, विचलित नहुने र सधैं सकारात्मक सोच राख्न सक्ने हाम्रा आमा र हजुरआमाहरूको त्याग र समर्पणकै कारण हाम्रो अध्ययन, करियर र प्रगतिको जग बसेको रहेछ भन्ने बुझिदिए उनीहरूले आफ्नो जीवनको महत्व राम्रोसँग आत्मसात् गर्न सक्ने थिए।  

बाह्रजना लेखकले यो पुस्तक लेख्ने क्रममा आफ्ना आमाहरूको जीवनका विभिन्न पक्ष, विपक्ष, घटना र प्रसङ्गहरूको खोजी गरेका छन्। यसरी खोज्ने क्रममा उनीहरू आमाका पनि आमा र हजुरआमाहरूसम्म पुगेका छन्। पहिले थाहा नपाएका धेरै तथ्यहरू थाहा लागेपछि उनीहरू आफै छक्क परेका छन्। सम्पादकले लेखनक्रममा र पहिलो खाका तयार भइसकेपछि समेत पटकपटक नघच्घच्याएको भए सम्भवतः त्यस्ता धेरै तथ्यहरू यसरी प्रकाशमा आउने थिएनन्। यसरी सधैंका लागि हराएर जाने नेपाली समाजका महत्वपूर्ण कथाहरू सम्पादक र बाह्रजना लेखकको प्रयासले भावी पुस्ताका लागि सुरक्षित र सङ्ग्रहित बन्न पुगेका छन्।

प्रकाशित: १७ मंसिर २०७९ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App