२० आश्विन २०८१ आइतबार
image/svg+xml
निर्वाचन विशेष

रौतहटका दुई पालिकामा महिला बने नगर प्रमुख

रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।

रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित भएकी छिन् भने ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छिन्। दुई महिला नगर प्रमुखमध्ये मौलापुरकी साह नेकपा एमालेबाट निर्वाचित भएकी छिन् भने ईशनाथकी कौशल्यादेवी लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित भएकी छिन्।

रौतहटमा नगर प्रमुख पदमा नेपाली कांग्रेसले ईशनाथ नगरपालिकामा अन्जु झालाई उम्मेदवार बनाएको थियो। एकै नगरपालिकामा नेपाली कांग्रेस र लोसपा नेपालले एक एक गरी दुई शक्तिशाली महिलालाई उम्मेदवार बनाएका थिए तर नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी झा मुख्य प्रतिस्पर्धामा आउन सकिनन्।

यसैगरी नेकपा एमालेले माधव नारायण नगरपालिकामा नगर प्रमुख पदमा निवर्तमान उपमेयर सिमलकुमारी साहलाई उम्मेदवार बनाएको भए पनि खासै प्रतिस्पर्धामा आउन सकिनन्। जिल्लामा अन्य प्रमुख पार्टीले उपप्रमुखबाहेक प्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिएनन्।

एक नगर प्रमुखबाट दुईको संख्यामा पुगेको रौतहटको नारीशक्तिलाई अन्य जिल्लाले पनि अनुकरण गर्नुपर्ने देखिन्छ। महिला साहित्यकार रेणु गुप्ताले घरव्यवहार, नोकरी, अन्य पेसा तथा व्यवसायका साथै राजनीतिमा पनि मधेसी महिला सफल र सक्षम भएको उदाहरण दुई महिला नगर प्रमुखमा निर्वाचित भएर साबित भएको प्रतिक्रिया दिएकी छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App