१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

बागलुङमा गठबन्धन हावी हुँदा एमाले किनारामा

जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।

उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात पाँच दलीय गठबन्धनबीच सहमति जुटेपछि अन्य दलहरूको मुख ताकेर बसेको एमाले एक्लै निर्वाचनमा जान बाध्य भयो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीककृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मध्यरातमा गठबन्धनको टुंगो लगाएर निर्वाचनमा गए पनि बागलुङमा पाँच दलीय गठबन्धनले राम्रो नतिजा निकालेको छ।

बागलुङमा रहेको १० पालिकामध्ये ९ पालिकामा गठबन्धन आवद्ध दलका उम्मेदवारले प्रमुख पद जितेका छन् भने १० वटै पालिकामा उपप्रमुख पद जितेका छन्। बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहलाई साथमा लिएर निर्वाचनमा गएको नेकपा एमालेले ढोरपाटन नगरपालिकामा मात्र नगर प्रमुख जितेको छ।

यसपटक गठबन्धन दलहरू स्थानीय निर्वाचनमा हाबी हुँदा एमालेले भने ठूलो क्षति व्यहोरेको छ। एमालेले यसअघि नगरप्रमुख जितेको बागलुङ नगरपालिका, गाउँपालिका अध्यक्ष जितेको काठेखोला, बडिगाड गाउँपालिका, उपप्रमुख जितेको जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिका यसपटक गुमाएको छ।

अघिल्लो पटक निर्वाचनमा प्रमुख उपप्रमुख दुवै एमालेले जितेको ढोरपाटन नगर एमालेले प्रमुख मात्र जित्न सक्यो। यसअघि एमालेले प्रमुख जितेको बागलुङ नगर, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा यसपटक गठबन्धनबाट नेपाली काँग्रेसले प्रमुख पद जितेको छ। यसअघि काँग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको जैमिनी नगरपालिकामा काँग्रेसले यसपटक प्रमुख राष्ट्रिय जनमोर्चालाई छोडेर उपप्रमुख जितेको छ। एमालेले प्रमुख उपप्रमुख दुवै जितेको ढोरपाटनमा यसपटक काँग्रेसले उपप्रमुख जितेको छ। बागलुङका १० पालिका र ८५ वडामध्ये नेपाली काँग्रेसले ६ पालिका प्रमुख/अध्यक्ष, ५ पालिका उपप्रमुख/उपाध्यक्ष र ३७ वडामा वडाध्यक्ष जितेको छ।

राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख/अध्यक्ष, २ पालिका उपप्रमुख/उपाध्यक्ष र ११ वडाध्यक्ष जितेको छ। ११ वडाध्यक्षमध्ये एकजना एमालेसँग मिलेर निर्वाचन लडेका विद्रोही जनमोर्चाका नेता छन्। नेकपा एमालेले एक पालिका प्रमुख र १६ वडा जितेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले ३ वडाध्यक्ष जित्दा एक जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन्। बागलुङका चार नगरपालिकामध्ये बागलुङ नगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठले प्रमुख जित्दा माओवादी केन्द्रका राजु खड्का उपप्रमुखमा विजयी भएका छन्। गलकोट नगरपालिकामा नेपाली काँग्रेसका भरत शर्मा गैरे प्रमुख र नेकपा माओवादी केन्द्रका फमलाल निउरेले उपप्रमुख जिते।

जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले प्रमुख र नेपाली काँग्रेसका हरिहर शर्माले उपप्रमुख हात पारे। ढोरपाटन नगरपालिकामा एमालेका देवकुमार नेपाली मेयर निर्वाचित हुँदा नेपाली काँग्रेसका धनबहादुर कायत ‘कल्याण’ उपप्रमुख बने। ६ गाउँपालिका मध्ये काठेखोला गाउँपालिकामा काँग्रेसका राजु थापा अध्यक्ष, राजमोका तेजबहादुर थापा ‘तिलक’ उपाध्यक्ष, बडिगाड गाउँपालिकामा काँग्रेसकी गण्डकी थापा अधिकारी अध्यक्ष र राजमोका भीमसेन वन उपाध्यक्ष निर्वाचित भएका छन्।

ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ अध्यक्ष, काँग्रेसका भीमबहादुर रोका उपाध्यक्ष, बरेङ गाउँपालिकामा राजमोका कृष्णप्रसाद शर्मा अध्यक्ष र काँग्रेसका दिलीप पुन उपाध्यक्षमा विजयी भएका छन्। निसीखोला गाउँपालिकामा काँग्रेसका सूर्यबहादुर घर्तीले गाउँपालिका अध्यक्ष हुँदा माओवादी केन्द्रका प्रेमबहादुर घर्ती उपाध्यक्ष बन्न सफल भए। तमानखोला गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुवै नेपाली काँग्रेसले जितेको छ। अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भए। जिल्लाको ९ पालिकामा पाँच दलीय गठबन्धन भए पनि तमानखोलामा भने गठबन्धन भएको थिएन।

जसको प्रत्यक्ष फाइदा नेपाली काँग्रेसले उठाएको छ। गठबन्धनबाट प्रत्यक्ष फाइदा पनि काँग्रेसलाई बढी भएको देखिन्छ। अघिल्लो निर्वाचनमा एक्लै होमिएको काँग्रेसले बागलुङका चार वटा पालिका प्रमुख/अध्यक्ष र चार उपप्रमुख/उपाध्यक्ष जितेको थियो। यसपटक त्यो संख्या बढाएर ६ प्रमुख/उपाध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष पुर्‍याएको छ। अघिल्लो निर्वाचनमा चार प्रमुख/अध्यक्ष र २ उपप्रमुख/उपाध्यक्ष जितेको एमाले एउटा मात्र प्रमुख पदमा चित्त बुझाउन बाध्य भएको छ। १४ वडा रहेको बागलुङ नगरपालिकामा ७ काँग्रेस, ३ एमाले २ समाजवादी र १ माओवादी तथा १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अघिल्लो निर्वाचनमा बागलुङ नगरमा तीन वटा वडामा खुम्चिएको काँग्रेसले अरू चार वडा थप्दा एमालेले ५ वटा जितेका वडा गुमाएको छ। बागलुङ नगरपालिका १ मा  काँग्रेसका जयबहादुर केसी, वडा नम्बर २ मा नेकपा एसका सुरज बोसेल, वडा नम्बर ३ मा काँग्रेसका शनि केसी लक्ष्मण, वडा नम्बर ४ मा माओवादीका कुमार क्षेत्री निर्वाचित भए। वडा नम्बर ५ मा एमालेका हरिप्रसाद शर्मा, वडा नम्बर ६ मा एमालेकै रुद्र केसी र वडा नम्बर ७ मा पनि एमालेका नै मेघनाथ गैरे विजयी भए। वडा नम्बर ८ मा काँग्रेसका छमबहादुर कार्की, वडा नम्बर ९ मा काँग्रेसकी राजु थापा विजयी हुँदा वडा नम्बर १० मा नेकपा एसका तिलबहादुर थापाले बाजी मारे।

२०४९ को स्थानीय निर्वाचनदेखि एमालेको एकलौटी वर्चस्व रहेको वडा नम्बर १० भकुण्डे यसपटक गठबन्धन मार्फत नेकपा एसले जितेको हो। वडा नम्बर ११ मा काँग्रेसका ज्ञानेन्द्र गौतमले जित्दा वडा नम्बर १२ मा स्वतन्त्रबाट कोपिलामणि शर्माले जिते। गठबन्धन गर्दा वडा नम्बर १२ जनमोर्चाको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। वडा नम्बर १३ मा काँग्रेसका नारायण शर्मा पौडेल र वडा नम्बर १४ मा काँग्रेसकै चक्रबहादुर खत्री विजयी भए।

५ वटा वडा रहेको बरेङ गाउँपालिकामा वडा नम्बर १ मा राजमोका नरसेङ पुन, वडा नम्बर २ मा राजमोकै हिराबहादुर थापा, वडा नम्बर ३ मा एमालेका शेरबहादुर खनाल, वडा नम्बर ४ मा काँग्रेसका किसनबहादुर खत्री र वडा नम्बर ५ मा काँग्रेसकै अमरबहादुर शेरवुजाले जित हात पारे। १० वटा वडा रहेको जैमिनी नगरपालिकामा वडा नम्बर १ मा काँग्रेसका विष्णु आचार्य, वडा नम्बर २ मा काँग्रेसकै प्रेमप्रसाद सापकोटा, वडा नम्बर ३ मा माओवादीका कृष्ण भुजेल र वडा नम्बर ४ मा नेकपा एसका चक्रबहादुर थापाले जिते।

वडा नम्बर ५ मा नेपाली काँग्रेसका ठकबहादुर थापा, वडा नम्बर ६ मा माओवादीका कृष्णबहादुर थापा, वडा नम्बर ७ मा काँग्रेसका केन्द्रबहादुर सुनार, वडा नम्बर ८ मा काँग्रेसका बिमल श्रीस, वडा नम्बर ९ मा एमालेका सन्दिप थापा र वडा नम्बर १० मा राजमोका श्रीप्रसाद शर्माले वडाध्यक्षमा बाजी मारे। ८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा वडा नम्बर १ मा काँग्रेसका खडक थापा, वडा नम्बर २ मा एमाले विद्यापति शर्मा, वडा नम्बर ३ मा एमालेकै कुलबहादुर विक, वडा नम्बर ४ मा राजमोका लक्ष्मण पुनले जिते।

वडा नम्बर ५ मा काँग्रेसका ज्ञामनाथ कँडेल, वडा नम्बर ६ मा काँग्रेसकै बृहस्पती कँडेल, वडा नम्बर ७ मा एमालेका प्रेमबहादुर लामिछाने र वडा नम्बर ८ मा परमानन्द कँडेल विजयी भएका छन्। ११ वडा रहेको गलकोट नगरपालिकाको वडा नम्बर १ मा राजमोका लालबहादुर राना, वडा नम्बर २ मा काँग्रेसका हिमबहादुर भण्डारी, वडा नम्बर ३ मा काँग्रेसकै फमबहादुर खत्री, वडा नम्बर ४ मा काँग्रेसका बलबहादुर खत्री, वडा नम्बर ५ मा काँग्रेसकै पवन हमाल विजयी भए।

वडा नम्बर ६ मा माओवादी रामप्रसाद कँडेल र वडा नम्बर ७ मा माओवादीका राजबहादुर थापा, वडा नम्बर ८ मा काँग्रेसका रेमलाल सापकोटा, वडा नम्बर ९ मा काँग्रेसका तेजबहादुर थापा, वडा नम्बर १० मा काँग्रेसका भक्तबहादुर काउचा र वडा नम्बर ११ मा एमालेका डम्बरबहादुर श्रीसले जित हात पारे। १० वटा वडा रहेको बडिगाड गाउँपालिकामा वडा नम्बर १ मा राजमोका बोमबहादुर थापा, वडा नम्बर २ मा एमालेका ढालप्रसाद शेरचन, वडा नम्बर ३ मा एमालेकै खडकबहादुर पुन, वडा नम्बर ४ मा माओवादी मिलन रेश्मी, वडा नम्बर ५ मा एमालेका विष्णु आचार्य विजयी भए।

वडा नम्बर ६ मा काँग्रेसका वीरबहादुर खत्री, वडा नम्बर ७ मा काँग्रेसका दीपेन्द्रप्रताप केसी, वडा नम्बर ८ मा राजमोका जंगबहादुर बराल, वडा नम्बर ९ मा काँग्रेसका कृष्णबहादुर केसी र वडा नम्बर १० मा माओवादीका वीरेन्द्र बुढा वडाध्यक्ष निर्वाचित भएका छन्। ९ वटा वडा रहेको ढोरपाटन नगरपालिकामा वडा नम्बर १ मा काँग्रेसका बानबहादुर छन्त्याल, वडा नम्बर २ मा राजमोका भेगबहादुर खत्री, वडा नम्बर ३ मा एमालेका खिमबहादुर विक, वडा नम्बर ४ मा विद्रोही राजमोका तिलक पुन वडाध्यक्ष बने।

वडा नम्बर ५ मा एमालेका दीपेन्द्र बुढा, वडा नम्बर ६ मा एमालेका उमेश बुढा, वडा नम्बर ७ मा राजमोका धनबहादुर अदै, वडा नम्बर ८ मा माओवादी केन्द्रका भद्रमणि सुनार र वडा नम्बर ९ मा एमालेका खिमबहादुर घर्तीले जित हात पारे। ६ वडा रहेको तमानखोला गाउँपालिकामा वडा नम्बर १ मा माओवादी थमबहादुर रोका, वडा नम्बर २ मा माओवादीकै नारायण सुनार, वडा नम्बर ३ मा काँग्रेसका झकबहादुर बुढा, वडा नम्बर ४ मा माओवादीका छवि सिर्पाली, वडा नम्बर ५ मा काँग्रेसका हिराबहादुर सिर्पाली र वडा नम्बर ६ मा काँग्रेसकै चित्रबहादुर छन्त्याले विजयी भएका छन्। ५ वडा रहेको ताराखोला गाउँपालिकामा पाँच वटै वडा माओवादी केन्द्रले जितेको छ।

वडा नम्बर १ मा यामबहादुर श्रीस, वडा नम्बर २ मा भद्रबहादुर रोका, वडा नम्बर ३ मा कर्णबहादुर कार्की, वडा नम्बर ४ मा जितबहादुर खत्री र वडा नम्बर ५ मा मनबहादुर रोका विजयी भए। ७ वटा वडा रहेको निसीखोला गाउँपालिकामा वडा नम्बर १ मा काँग्रेसका चन्द्रसिंह राम्जाली, वडा नम्बर २ मा माओवादीका कविर विश्वकर्मा, वडा नम्बर ३ मा राजमोका रमेशविक्रम शाही, वडा नम्बर ४ मा काँगेसका टीकानिधि पौडेल, वडा नम्बर ५ मा काँग्रेसका हर्कमान घर्ती, वडा नम्बर ५ मा काँग्रेसका हेमबहादुर बुढा र वडा नम्बर ७ मा काँग्रेसकै दीपक कुँवर वडाध्यक्ष निर्वाचित भए।

७ जना एमालेका केन्द्रीय सदस्य रहेको बागलुङमा अधिकांश पालिका र वडामा समेत नराम्ररी पराजित भएपछि एमालेका केन्द्रीय नेताहरूको कार्यकर्ताबाट चर्को आलोचना भएको छ। गठबन्धन र उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै काँग्रेसका केही नेता कार्यकर्ता एमालेमा गएर उम्मेदवार बने पनि यो निर्वाचनमा भने काँग्रेसलाई खासै ठूलो असर पारेन। गठबन्धन गर्दा अहिले काँग्रेसले उपलब्धि हासिल गरे पनि आगामी दिनमा एक्लै निर्वाचनमा होमिनुपर्दा अहिलेको सांगठनिक क्षतिको भने ठूलै मूल्य चुकाउनुपर्ने काँग्रेस कार्यकर्ता बताउँछन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App