coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौंका नगरपालिकाहरुमा कांग्रेसकै वर्चश्व

तीन पालिकामा विजयी, चार वटामा अग्रता

काठमाडौं जिल्लाका ११ वटा स्थानिय तह मध्ये ६ वटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। चार वटा नगरपालिका र १ महानगरपालिकाको मतगणना जारी छ।  

नागरिकन्यूजलाई प्राप्त अन्तिम नतिजाअनुसार ६ वटा नगरपालिका मध्ये ३ वटा नगरपालिकामा कांग्रेसले प्रमुख पदमा जित हात पारेको छ। पाँच वटा नगरपालिकामा उपप्रमुख जितेको छ।  

काठमाडौंको कीर्तिपुर, तारकेश्वर र दक्षिणकाली नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार निर्वाचित भएका छन् भने टोखा र बुढानीलकण्ठ नगरपालिकामा एमाले र शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख पदमा जित हात पारेको छ।  

यस्तै मतगणना जारी रहेको कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर, चन्द्रागिरी र नार्गाजुन नगरपालिकाको मेयर पदमा कांग्रेसले अग्रता लिईरहेको छ भने काठमाडौं महानगरपालिकामा स्वतन्त्र बालेन्द्र शाहले अग्रता लिईरहेका छन्।  

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका नेकपा एमाले विजयी भएको छ। एमालेका मिठाराम अधिकारी १४ हजार २५० मतका साथ प्रमुखमा निर्वाचित हुँदा उपप्रमुखमा एमालेकी अनिता लामा १४ हजार ३१४ मत ल्याएर विजयी भएकी हुन्। १३ वटा वडाहरु मध्ये १० वटा वडामा एमाले, दुई वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन्।

यस्तै कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। एमालेका उम्मेदवारहरुलाई पछि पार्दै मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर र उपमेयरमा शुभलक्ष्मी शाक्य ८ हजार ८ सय ६५ मत ल्याएर निर्वाचित भएकी हुन्। १० मध्ये ९ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटा वडामा स्वतन्त्र उमेद्वार वडा अध्यक्ष निर्वाचित भएका छन्।

यस्तै टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी १० हजार ३४० मत ल्याएर प्रमुख पदमा निर्वाचित भएका छन् भने उपपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मत ल्याई निर्वाचित भए। नगरपालिकाको ११ वटा वडाहरुमध्ये ९ वटा  वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन्।

यस्तै तारकेश्वर नगरपालिकामा पनि कांग्रेसले प्रमुख–उपप्रमुख दुबै पदमा जित हात पार्न सफल भएको छ। नगरपालिकाको प्रमुखमा कृष्णहरी महर्जन ११ हजार ९ सय ८८ मत ल्याएर र उपप्रमुखमा सृजना बुर्लाकोटी १० हजार ७ सय ८६ मत ल्याई निर्वाचित भएकी छन्। नगरपालिकाको ११ वडामध्ये आठ वटा वडामा कांग्रेसको उम्मेदवारहरु  विजयी भएका छन् भने बाँकी तीन वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।  

यता दक्षिणकाली नगरपालिकामा पनि कांग्रेसको प्यानलनै विजयी भएको छ। नगरपालिकाको प्रमुखमा मोहन बस्नेत ७ हजार २ सय १ मत ल्याएर र उपप्रमुखमा वसन्ती तामाङ ७ हजार ६ सय २३ मत ल्याएर विजयी भएकी छन्। ९ वटा वडा रहेको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले ६ र एमालेले ३ वडामा जितेको छ।  

यस्तै शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित ४ हजार ७ सय मत ल्याएर प्रमुख पदमा निर्वाचित भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठ ६ हजार ३ सय ६२ मत ल्याई निर्वाचित भएकी छन्। नगरपालिकाको ४ वटा वडामा कांग्रेस, तीन वटा वडामा राप्रपाका उम्मेदवारहरु निर्वाचित भएका छन् भने एमाले र माओवादीले एक–एक वडामा जीत हासिल गरेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App