६ मंसिर २०८१ बिहीबार
image/svg+xml
ग्राहक विशेष

हिमाली भूमिको मोहनी

जिमी रबर्ट्स

जिमी रबर्ट्स

म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्‍याएको छु । तर, म आफूलाई ‘बूढो भएको’ भन्न रुचाउन्नँ ।

देशका अन्य ठाउँ विदेशीका लागि पूरै बन्द थिए । एउटा मात्र अपवाद थियो कञ्चनजङ्घाको पश्चिम–दक्षिण मोहडाको हिमनदी क्षेत्र, जहाँ विशेष परिस्थितिमा उत्तर सिक्किमको उच्च भञ्ज्याङ हुँदै प्रवेश गर्न अनुमति पाइन्थ्यो ।

मैले कतै व्यक्तिगत धारणा र अनावश्यक झैं लाग्ने नितान्त निजी प्रसङ्ग घुसाउन खोजे जस्तो लाग्यो भने क्षमा गर्नुहोला । यद्यपि तिनले मेरो भोगाइलाई जीवन्त बनाउन सघाउ नै पुर्‍याउँछन् । आधुनिक हिमाली पर्वतारोहणको इतिहास रोचक भए पनि वर्तमान भने त्यस्तो हुन छाडेको छ ।

म सन् १९३६ अन्त्यतिर भारत आएर पुरानो ब्रिटिश–इन्डियन सेनामा भर्ती भएँ । यसको एउटा कारण म बौद्धिक रोजगारीका लागि अयोग्य ठहरिनु थियो । मुख्य कारण चाहिं म हिमाल आरोहण गर्न चाहन्थें । एउटा–दुइटा आरोहण मात्र होइन, पूरै जिन्दगी हिमाल आरोहण र अन्वेषणमा बिताउने । यस क्रममा सर्वोच्च शिखरहरूमा पुग्न नसके पनि मलाई कुनै पछुतो छैन । भाग्यले मलाई सुन्दर अवसरहरू दिएकै हो । त्यस्ता अवसरको सदुपयोग गर्न नसक्नु मेरै कमजोरी थियो ।  

त्यस वेला हिमालय–काराकोरम शृखला एउटा विशाल एवं रोचक पुस्तक झैं खुला थियो । त्यहाँ पुग्न सामान्यतः अनुमति लिनु पर्दैनथ्यो, पथ्र्यो भने पनि सजिलै उपलब्ध हुन्थ्यो । त्यति वेलासम्म सबैभन्दा उच्च आरोहणको कीर्तिमान भनेको भारतमा पर्ने २५,६०० फिटको नन्दादेवीमा बनेको थियो । २६,००० फिटमाथिका कुनै पहाड चढिएको थिएन ।

तस्बिर सौजन्य: माइन्टेन ट्राभल्सको वेबसाइट र लिसा चोग्याल

त्यो वेला तिब्बत प्रवेश गर्न पनि सामान्य औपचारिकता पूरा गरे हुन्थ्यो, वैज्ञानिक कार्य या अध्ययन–अनुसन्धानका लागि जान मुश्किल थिएन । भुटानको स्थिति पनि त्यस्तै थियो । हिमाल आरोहीका लागि तिब्बत या भुटान दुवै उत्तिकै आकर्षक र सम्भावना भएका गन्तव्य थिए । हिमाली किताबको ‘नेपाल’ अध्याय लेखिन र त्यसका पृष्ठहरू भरिन चाहिं बाँकी थियो ।

प्रतिबन्धित बाटो

सन् १९४८ सम्म राणाशासक या बेलायती दूतावासको आमन्त्रणमा मात्र काठमाडौं भ्रमण गर्न पाइन्थ्यो । देशका अन्य ठाउँ विदेशीका लागि पूरै बन्द थिए । एउटा मात्र अपवाद थियो कञ्चनजङ्घाको पश्चिम–दक्षिण मोहडाको हिमनदी क्षेत्र, जहाँ विशेष परिस्थितिमा उत्तर सिक्किमको उच्च भञ्ज्याङ हुँदै प्रवेश गर्न अनुमति पाइन्थ्यो । सम्झ्ँदा पनि अनौठो लाग्छ, त्यति वेला धेरैलाई ह्लासाभन्दा पोखराको आकर्षणले तानेको थियो । र, निश्चय नै पोखरा कम परिचित पनि थियो । मैले १४ वर्षको लामो प्रतीक्षापछि नेपालमा पाइला टेक्न पाएको थिएँ ।

पर्खाइका यी वर्षमा आफ्नो मानसपटलमा कोरिएका मनोरम दृश्यलाई मैले नेपाल प्रवेश गर्न पाएको अपत्यारिलो अनुमति एवं विशेष सुविधाको साक्षीका रूपमा अहिलेसम्म पनि बिर्सेको छैन । अरूको फरक दृष्टिकोण पनि हुन सक्छ, तर मानिसहरूले सुरक्षाका कारण सरकारले प्रतिबन्ध लगाएका क्षेत्रमा प्रवेश गर्न पाउनुपर्छ भन्ने तर्क गर्दा मेरो अनुहार भयले रातो हुन थाल्छ ।

सन् १९३९ को अन्त्यतिर दोस्रो विश्वयुद्ध शुरू हुने वेलासम्म हरेक वर्ष सम्भवतः चारमध्ये तीन आरोहण दल यूरोप वा अमेरिकाबाट आउँथे । अन्य आगन्तुकहरू सयौंको संख्यामा भारत (अहिलेका ‘पाकिस्तान’ र ‘बाङ्लादेश’ भनिने देश समेत) का प्रायः बेलायती सैनिक अधिकृत र निजामती कर्मचारी तथा व्यापारी–व्यवसायी हुन्थे । तीमध्ये धेरैजसो नजिकैका डाँडाकाँडामा गर्मी बिदा मनाउन जान्थे ।

भारतीय सेनामा हामी हरेक वर्ष दुईदेखि तीन महीना स्थानीय बिदा र हरेक तीन वर्षमा एक पटक नौ महीना बिदा पाउँथ्यौं । वार्षिक बिदा हक नभई सुविधा थियो र सम्बन्धित कमान्डिङ अधिकृतले कुनै पनि वेला रद्द या कटौती गरिदिन सक्थे । यस्तो निर्णय बिदामा कसले के गर्न लागेको हो भन्नेमा निर्भर गथ्र्यो ।

सामाजिक जीवनमा रमाउने वा महिलाहरूसँग घुलमिल हुन रुचाउनेहरू बिदाको प्राथमिकतामा त्यति पर्दैनथे । राइफल लिएर अबोध जङ्गली भेडा–बाख्राको शिकार गर्न मध्य एशियाका उच्च भञ्ज्याङतिर जाने र हिमाल चढ्न चाहनेहरूले चाहिं सहजै अनुमति पाउँथे । तर, त्यो समय साँच्चै हिमाल आरोहणको आकाङ्क्षा राख्ने थोरै र ट्रेकिङ एवं सामान्य घुमफिर गर्न चाहने धेरै हुन्थे ।

सोही वर्षका पदयात्रीमध्ये ६० प्रतिशतलाई आतिथ्य प्रदान गर्ने अन्नपूर्ण क्षेत्रका लोकप्रिय पदमार्गको स्थिति बढी नाजुक थियो । किनभने, तीमध्ये आधाभन्दा बढी आफैं जाने पदयात्री थिए ।

यही वेला यो महत्त्वकांक्षी युवा हिमाल आरोही आफ्नो उद्देश्यमा चाँडै लामो फड्को मार्न पुग्यो । उसको हिमाल चढ्ने योजना भारतीय सेनाको घेरा बाहिर समेत फैलिसकेको थियो । ऊ आफूलाई पीर पन्जल हिमशृङ्खलाको धर्मशाला (हालको हिमाञ्चल प्रदेश राज्य)मा तैनाथ गोर्खा रेजिमेन्टको ६,००० फिट उचाइमा अवस्थित प्रधान कार्यालयमा स्थापित गराउन सफल भएको थियो ।

यसरी म सन् १९३७ मा करीब तीन साता धौलाधरका चट्टानी शिखरहरूको आरोहण गर्न सक्षम भएँ । सन् १९३८ मा काराकोरम हिमशृङ्खलाको माशेरब्रुम हिमालको आरोहण दलमा संलग्न भएँ । टोलीमा चार शेर्पा अनि हामी थप पाँच जना थियौं । हामीलाई आफ्ना मालसामान बोक्न ६० जना भरिया चाहिएको थियो । सोही वर्ष अर्को बेलायती आरोहण दलले उत्तरी मोहडाबाट सगरमाथाको, पल बाउएरले नेतृत्व गरेको जर्मन आरोहण दलले नङ्गा पर्वतको र एउटा अमेरिकी आरोहण दलले केटुको आरोहण गर्न लागेका थिए ।

अमेरिकी दलसँग केही ठाउँमा हाम्रो मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । हामीले उनीहरूसँग बाटोमा कतै कतै एउटै रूट प्रयोग गरेका थियौं, तर हाम्रो भेट कहिल्यै भएन । ह्युस्टन र बेटस् सहितको सिङ्गो टोलीलाई एक पटक सिन्धु नदीको पानीमा ठेला उठेका खुट्टा शीतल पार्दै पङ्क्तिबद्ध भएर हिंडेको देखिएको भन्ने एउटा रिपोर्ट प्राप्त गरेर सन्तोष मानियो ।

म जस्ता २० वर्षे लक्का जवानका लागि पनि माशेरब्रुम बिर्सनलायक अनुभव थियो । मलाई त्यो उचाइमा अभ्यस्त हुन एकदमै समय लाग्यो । हिउँले हात–गोडा खायो, सुत्न पनि सकिनँ (ओहो ! ती कहिल्यै नटुङ्गिने डरलाग्दो सपना सहितका भयानक रातहरू) र हिउँ थामिएला जस्तो पनि थिएन । अन्ततः एउटा शिखर चढ्ने प्रयासमा हाम्रा दुई साथीका हात–गोडा हिउँले खाएर क्षतविक्षत भए । डाक्टरलाई ड्रेसिङ गर्न मद्दत गर्दा मैले उनीहरूका खुट्टाका औंला सुकेका, काला भएका र झ्रेका देखेको थिएँ ।

श्रीनगर पुगुन्जेल म केही फुर्तिलो भइसकेको थिएँ । त्यसैबीच मैले अखबारमा ब्रिटिश आरोहण टोली सगरमाथाको शिखरमा पुग्न असफल भएको तर आउने शरद् याममा टोलीले पुनः प्रयास गर्न सक्ने समाचार पढें । मैले टोली नेता बिल टिलमनलाई पत्र लेखेर दोस्रो प्रयासमा सामेल हुन आफू पनि तयार रहेको खबर पठाएँ । तर, केही समयपछि दार्जीलिङको प्लान्टर्स क्लबबाट लेखिएको छोटो र रुखो जवाफ पाएँ । त्यसमा शरद् याममा आरोहण प्रयास नहुने, भए पनि मेरो आवश्यकता नहुने लेखिएको थियो ।

मैले सन् १९३९ मा दुई महीना गोर्खा रेजिमेन्टका तीन राइफलम्यानसँग कुलु र स्पिती (भारतको हिमाञ्चल प्रदेशमा पर्ने) आरोहण गरेर बिताएँ । त्यसैबीच क्षितिजमा प्रकाशका नयाँ किरण देखापरे ।

माशेरब्रुमपछि १९४० को शरद् याममा तिब्बततर्फबाट सगरमाथा चढ्न नयाँ आरोहण दल बनाइँदै थियो । त्यसमा मलाई पनि सहभागी हुन आग्रह गरियो । मूलतः यो नयाँ समूह थियो, पछिल्ला ६ वर्ष दार्जीलिङ र रोङबुक हिमनदी ओहोरदोहोर गरेर समय बिताइरहेकाहरूलाई प्रतिस्थापन गर्न ल्याइएको ।

क्याप्टेन जोन हन्ट टोलीका एक सदस्य थिए । मिल्दो उमेर, घर बिदा अनि तीन महीना ‘अल्प्स’ हिमालमा अभ्यस्त गराउने अवसरले गर्दा यो एउटा लोभलाग्दो सम्भावना थियो ।

मलाई युद्ध भएकोमा पछुतो थिएन, यद्यपि केही वर्षलाई आरोहण स्थगन गरेको भए हुन्थ्यो भन्ने चाहिं लागेको थियो । हिमाल आरोहणमा असफलता भोगेर निराश भएका वेला युद्धले मलाई पारासुट उडान र दक्षिणपूर्वी एशियामा पहिलो युद्ध कारबाहीको नेतृत्व गर्ने अनुभव प्रदान ग¥यो । अहिले पनि म १९४२ मा उत्तर बर्मातिरको सानो र खासै जोखिम नभएको ‘पारासुट’ कारबाहीको मधुरो सम्झ्नामा फर्किने गर्दछु ।

युद्धले दिएको निराशा, घाउ र पीडालाई केही क्षणका लागि उच्च हिमाली आरोहणको वास्तविक परीक्षाको घडीसँग तुलना गर्नु पनि कहिलेकाहीं सार्थक नै हुने रहेछ । हिमाल आरोही युवाहरूले राजा वा राष्ट्रको आह्वान विना आफ्नै इच्छाले अग्ला र ठाडा भीरमा युद्धकै जस्तो दुःख खेपिरहेको देख्दा ठूलै सराहना गर्न मन लाग्छ । शायद उनीहरूको काम युद्ध जति खतरनाक नहोला र टेलिभिजनले पनि उनीहरूलाई महŒव नदेला । जे भए पनि म उनीहरूको भरपूर प्रशंसा गर्छु ।

सन् १९४९ को आगमनसँगै हाम्रा हिमालहरूको किताबमा ‘नेपाल’ अध्यायका प्रारम्भिक पाना भरिन पनि शुरू भयो । यसमा कञ्चनजङ्घा आरोहणको साहसिक प्रयास पनि पर्छ । त्यस वेला यो महान् शिखरको माथिल्लो ८,००० फिट मात्र चढ्न बाँकी राखेर २०,००० फिटसम्म पुगियो ।

अन्ततः नेपाल

त्यस वर्ष रोयल जियोग्राफिकल सोसाइटी तथा अल्पाइन क्लबको हिमालयन कमिटीले सगरमाथा आरोहण अनुमतिका लागि नेपाल सरकार समक्ष आवेदन ग¥यो । त्यो आवेदन स्वीकृत त भएन, तर टिलमन र पिटर लोइडलाई काठमाडौंदेखि उत्तरपट्टिको लाङटाङ उपत्यका भ्रमण गर्ने अनुमति दिइयो । मैले फेरि टिलमनलाई पत्र लेखें । जवाफ पहिलेकै जस्तो आयो । तर, १९५० मा कमिटीले अन्नपूर्ण हिमाल आरोहणका लागि एउटा टोली पठाउन अनुमति पायो र त्यही वेला फ्रान्सेलीहरूले पनि धौलागिरि आरोहण गर्ने अनुमति पाए । अब मलाई पत्र लेख्ने पालो टिलमनको थियो ।

हामीभन्दा २० वर्ष जेठा तर निकै बलिया र तन्दुरुस्त टोली नेताका अतिरिक्त आरोहण दलमा हामी चार जना थियौं । त्यो एउटा अव्यवस्थित र अक्षम नेतृत्वको आरोहण दल थियो । मनसुन शुरू भएको दिन मनाङ उपत्यकामाथि आधार शिविर खडा गरेको टोलीले अन्नपूर्ण शृङ्खलाको सबैभन्दा होचो चुचुरो अन्नपूर्ण ४ पनि चढ्न सकेन । हिउँले खुट्टा अलि अलि खान थालेपछि आरोहणमा पूर्णविराम लागेकाले मैले चाहिं व्यक्तिगत रूपमा राहत नै पाएँ । बाँकी वर्षा याम मनाङभोट लगायत स्थानमा खोजयात्रा अनि ब्रिटिश सङ्ग्रहालयका लागि चरा सङ्कलन गरेर बिताएँ ।  

अभियानको अन्त्यतिरै भए पनि मलाई एउटा विशेष पुरस्कार मिल्यो । एक जना शेर्पासँगै पोखरा छिचोल्ने क्रममा मैले ‘भूस्वर्ग’ फेला पारें । बिचरो पोखराले बितेका ४३ वर्षमा धेरै प्रहार खेपेको भए पनि त्यो ठाउँबारे मेरो त्यति वेला बनेको धारणा यथावत् छ । पोखराको हरियालीले भरिएको समथर भूभागमाथि आकाशमा झुन्डिए जस्तै लाग्ने माछापुच्छ्रे र अन्नपूर्णको जस्तो सुन्दर हिमाली दृश्य संसारमा अन्त कतै देख्न पाइँदैन ।

उता धौलागिरि चढ्न असफल हर्जाेग र फ्रान्सेलीहरूले ‘हाम्रो’ अन्नपूर्ण चाहिं चढे । आठ हजार मिटरमाथिको हिमाली शिखरको यो पहिलो सफल आरोहण थियो । त्यसपछिको विजयोत्सव र प्रचारप्रसारको लहरले १९५३ मा अझ् ठूलो उपलब्धि र विजयका लागि ढोका खोल्यो ।

तर, हिमाली साहित्यमा क्याम्पिङ, पदयात्रा लगायत गतिविधिलाई सम्बोधन गर्ने गरी यी शब्दावलीको प्रशस्तै प्रयोग हुन्थ्यो । त्यसैले मेरो दिमागमा उब्जेको योजनालाई ‘ट्रेकिङ एजेन्सी’ भनिनेछ भन्ने विषयमा मलाई कहिल्यै कुनै द्विविधा भएन ।

त्यस वर्ष अक्सिजन आपूर्तिकर्ताको सानो हैसियतमा म आफैं सगरमाथा गएको थिएँ । हैसियत जस्तो भए पनि खुसी थिएँ । टोली छनोटको स्वच्छतामाथि कहिल्यै प्रश्न उठाइनँ । आरोहण सफल हुने सुनिश्चित थिएन र असफल भएको खण्डमा वर्षायामपछि अर्को प्रयास हुने विश्वास मलाई थियो । आरोहण दलका कतिपय सदस्य मर्न सक्छन्, कतिका हातखुट्टा हिउँले खान सक्छ भने केही अत्यन्त थकित हुनेछन् र तिनका ठाउँमा शरद् यामका लागि अरू पर्वतारोहीको आवश्यकता पर्न सक्छ भन्ने अपेक्षा गर्नु अनुचित थिएन ।

त्यसैले आधार शिविरमा अक्सिजनको भारी छोडेर म आफूलाई प्रमाणित गर्नतिर लागें । लुमदिङ, इनुकु र होङ्गु उपत्यकाहरूको खोजयात्रा गरें, पहिलो पटक ‘मेरा पिक’ चढें र बास्केटबल बुटका भरमा आम्फु लाप्चा भञ्ज्याङलाई दक्षिणबाट उत्तरतिर पार गरें । अन्ततः यसबाट पनि केही लाभ भएन । मलायास्थित आफ्नै रेजिमेन्ट फर्किने क्रममा जुन महीनाको एक रात जयनगरमा नेपालको सिमानामा झेला जाँच गरिरहेका भारतीय प्रहरीबाट सगरमाथा आरोहणको समाचार सुनें । र, मैले पनि बाँकी विश्वसँगै खुशियाली मनाएँ ।

नेपालको पर्वतारोहण

एशियामा अग्ला हिमाल वारपार गर्ने हावाको तीव्र वेगसँगै तल उपत्यकाका घरमा छानाका ‘टाइल’ बज्न थाल्छन् । बन्द ढोका ह्वाङ्ग खुल्छन् अनि खुलेका ढ्याम्म बन्द हुन्छन् । त्यस्तै हुन् अप्ठ्यारा पहाडी सीमान्त प्रदेश पनि, जहाँ सीमा वारपार राजनीतिको हावा चल्छ । त्यसले पनि ढोकाहरू कहिले उघार्छ, कहिले बन्द गर्छ !

जति वेला नेपालले विदेशीका लागि हिमालको ढोका उघार्न थाल्यो, अन्यत्रका हिमाल भने बन्द हुन थाले । सबैभन्दा पहिले त तिब्बत प्रवेश नै रोकियो । यसमा भारत–चीनको सम्बन्धमा बढ्दै गएको तनाव मुख्य कारण थियो । सन् १९६२ मा त दुई देशबीच युद्धै भयो ।  

यता कश्मीरमा भारत–पाकिस्तानको लडाइँ भयो । सन् १९७० दशकको प्रारम्भसम्म पाकिस्तानले नङ्गा पर्वत आरोहणका लागि केही टोलीलाई अनुमति दिएको थियो । तर, नेपाल छाडेर भुटानदेखि कश्मीरसम्मका बाँकी हिमाल पूर्ण रूपमै बन्द थिए । हिमालय वारपार चर्केको तनावलाई ध्यानमा राखेर नेपालले पनि सन् १९६६ देखि १९६८ सम्म तीन वर्ष आफ्ना हिमाल बन्द राख्नुपरेको थियो ।

नेपालमा सन् १९५० देखि १९६५ सम्मको अवधि पर्वतारोहण एवं खोजयात्राका लागि स्वर्णिम युग थियो । अनुमति त लिनुपथ्र्याे, तर सन् १९६९ पछिको जस्तो चढ्न पाइने र नपाइने शिखर भनी बार लगाइएको थिएन । प्रायः अग्ला हिमाल यही अवधिमा आरोहण गरिएका थिए । यद्यपि, एउटा हिमालमा एकै पटक धेरै आरोहण दलको लाम हुँदैनथ्यो ।  

आरोहण दल खासै ठूला हुँदैनथे । तडकभडक पनि कमै हुन्थ्यो । सन् १९६९ पछि हिमालका ढोका पुनः खुले । यद्यपि, जापानी आरोहण दलले केही समय नेपालको पर्वतारोहणलाई ‘फूटबल लिग’ को स्तरमा राखेर कम आँकेको थियो । सन् १९७६ मा आर्थिक कारणले भारत र पाकिस्तानका ढोका पनि खोलिए ।  

सन् १९५३ पछि म नोकरी दाउमा लगाएर मलायास्थित सैन्य सेवाबाट हरेक वर्षजसो नेपाल आउन थालें । सन् १९५४ मा एक जना शेर्पासँग पुथा हिउँचुली (२३,८०० फिट) चढें । मेरो सर्वाधिक अग्लो व्यक्तिगत कीर्तिमान यही भयो ।  

त्यसपछि सन् १९५७ मा माछापुच्छ्रेको आरोहणमा गएँ । यद्यपि, यसको सफल आरोहण चाहिं एक वर्षपछि नोयस र कक्सले उत्तरी शिखरबाट ५० मिटर तलको उचाइसम्म पुगेर गरेका थिए । माछापुच्छ्रे शिखरमा देउताको बास हुने स्थानीयको विश्वासलाई मानेर उनीहरू ५० मिटर तलैबाट फर्केका थिए । मेरो असफलताको अन्तिम कडी चाहिं सन् १९६० मा गरिएको २६,००० फिटको अन्नपूर्ण–२ को आरोहण थियो । त्यस वेला शिखरमा पुग्ने तीन आरोही ग्रान्ट, बोनिङ्टन र आङ निमा थिए ।  

सन् १९६२ र १९६५ मा म धौलागिरि ६ को अगलबगलमा भांैतारिइरहें, धौलागिरि ४ (डी–४) ठानेर ।

 यस क्रममा सर्वोच्च शिखरहरूमा पुग्न नसके पनि मलाई कुनै पछुतो छैन । भाग्यले मलाई सुन्दर अवसरहरू दिएकै हो । त्यस्ता अवसरको सदुपयोग गर्न नसक्नु मेरै कमजोरी थियो । 

माछापुच्छ्रे जस्तै ‘डी–४’ पनि मेरो पुरानै लक्ष्य थियो, तर यसको आरोहण माछापुच्छ्रेको भन्दा कठिन रहेछ । यसअघि सन् १९५८ मा भाग्यले मलाई एउटा अर्को मौका दिएको थियो । त्यसले मलाई पर्वतारोहणबाट पदयात्रातर्फ डोर्‍याउँदै माउन्टेन ट्राभलको संस्थापक बनाएको थियो ।

सन् १९५८ को अन्त्यतिर मलाई काठमाडौंस्थित बेलायती दूतावासको नवसिर्जित मिलिटरी अट्याचे पदमा नियुक्त गरियो । अब म हिमालय क्षेत्रको केन्द्रमै आइपुगेको थिएँ । त्यही क्रममा सन् १९६० मा अन्नपूर्ण २ को आरोहण भयो । मेरो नियुक्ति तीन वर्षका लागि थियो । बडो मुश्किलले थप दुई वर्ष तन्काउन सकें । त्यतिन्जेल मैले सेनाबाट अवकाश लिने र पूरै समय हिमालका लागि समर्पित गर्ने निर्णय लिइसकेको थिएँ ।  

अब म केवल दुई वर्षका लागि सेनाको सुरक्षित नोकरी र आकर्षक आम्दानी चाहन्थें । तर, भाग्यले मलाई एउटा विदूषक भिडाइदियो, आर्मी बिग्रेडियरका रूपमा । उनी छुट्टीमा काठमाडौं आएका थिए । मलाई उनको अनुहारै मन परेन । एक दिन अबेर राति होटल याक एन्ड यतीको बारमा उनलाई यो कुरा सुनाएँ । उनले पछि मैले ‘अपमान’ गरें भनेर रिपोर्ट गरेछन् । मलाई कोर्टमार्शल वा बर्खास्त त गरिएन, तर दूतावासको दुईवर्षे थप कार्यावधि खारेज गरियो । मैले सङ्केत बुझ्ने र स्वैच्छिक अवकाश लिएँ ।

यही समयमा अरू दुइटा काम पनि गरें । पहिलो, नोर्मन डाइरेनफर्थलाई पत्र लेखें र सन् १९६३ का लागि योजना गरिएको अमेरिकी सगरमाथा आरोहण (अमेरिकन माउन्ट एभरेस्ट एक्सपिडिसन)मा स्वयंसेवक बन्न तयार भएँ । अनि म मेरा मित्र पर्यटन निर्देशकलाई भेट्न गएँ । उनीसँग विचारविमर्श गरें ।

मलाई उक्त आरोहणमा सामेल गरेकोमा नोर्मनप्रति सदा आभारी रहनेछु । यसले मलाई दुई चिज दियो; एउटा, तत्कालका लागि काम र अर्को, सगरमाथामा पहिलो आरोहणपछिको सम्भवतः सबैभन्दा साहसिक अभियानमा सहभागी हुने अवसर । यो कुरा मैले पश्चिम मोहडा हुँदै अनसोएल्ड र हर्नबाइनले गरेको आरोहणका सन्दर्भमा भनेको हुँ । यद्यपि, पछि एक जना मात्र शेर्पा सहयोगीको साथमा सन् १९७५ मा शिखरमा पुग्ने सानो कदकी जापानी गृहिणी जुन्को ताबेईप्रति समेत मेरो उत्तिकै सम्मान छ ।  

सन् १९७१ र १९७२ मा म फेरि १९६३ को ‘परिवहन अधिकृत’ भन्दा उच्च हैसियतमा सगरमाथा फर्किएँ । तर, मलाई एक किसिमको अशक्तताले आधार शिविरभन्दा माथि जान दिएन । त्यो अवस्थामा टोली नेता वा उसको सहायक बनिरहनु उचित थिएन ।  

सन् १९७१ को अन्तर्राष्ट्रिय आरोहण मुख्यतः कथित चार ‘ल्याटिन’ आरोहीको बहिष्कारलाई लिएर चर्चित छ । मैले त्यो आरोहण दक्षिण–पश्चिमी मोहडाको चढाइमा केन्द्रित गर्ने कुरामा असहमति जनाएको थिएँ । वास्तवमा असफलताको बीउ पहिले नै रोपिइसकेको थियो, जति वेला सबैका प्रिय आरोहण दल सदस्य एक भारतीयको असामयिक निधन भयो । त्यसपछि केही समय मौसम पनि अत्यन्तै प्रतिकूल भइदियो ।

‘विद्रोही’ हरूको बहिर्गमनपछि आरोहण दल केही सुदृढ भए पनि तीन सदस्य चाहिं धेरै उचाइमा काम गर्नुपर्ने हिसाबले अलि बूढै भइसकेका थिए । सङ्क्रामक ज्वरोको प्रकोप पनि आरोहण छिन्नभिन्न हुनुको एउटा कारक बन्यो ।

यी घटनाक्रमसँगै निश्चित क्षमता र मानप्रतिष्ठा भएका हिमाल आरोहीहरू पक्कै भलादमी हुन्छन् भन्ने पुरानो मान्यतामा आधारित मेरो शिशुवत् विश्वास गुम्न पुगेको थियो । आरोहण असफल भएपछि ल्याटिनहरू मात्र होइन, अरू केही सदस्यहरूबीच पनि दुई वर्षसम्म चलेको गालीगलौज र आरोप–प्रत्यारोप उदेकलाग्दो थियो । हिमाल आरोहणका केही गण्यमान्य पण्डितहरूले समेत आरोहणको अवसानलाई लिएर समाचारहरूमा आफ्ना निजी तुष्टि पोख्न छाडेनन् । भैगो ! अब अलि रमाइलो र महŒवपूर्ण विषयतिर जाऊँ ।

नेपालमा पदयात्राको थालनी

सन् १९६३ को अमेरिकी सगरमाथा आरोहण अभियानपछि मैले नेपालमै बस्ने र यहीं रोजगारी खोज्ने निधो गरें । यही हिमाली भूमिले मलाई मोहनी लगायो । यो क्षेत्रसँग म राम्ररी परिचित थिएँ– यहाँका जनता र उनीहरूको भाषाको लामो समयदेखि जानकार थिएँ । पछिल्लो समय राजधानीतिरै पनि बसउठ हुन थालेको थियो ।

मैले कश्मीरका प्रारम्भिक दिन सम्झ्एिँ । त्यस वेला नाउर शिकार गर्दाताका साथीहरूलाई क्याम्पिङका सामान, स्टाफ, भरिया र खानेकुरा उपलब्ध गराउने एजेन्ट–व्यापारीहरू सम्पर्कमा थिए । उनीहरूका प्रविधि र उपकरण भने गह्रौं खालका र पुराना थिए– सैनिक टेन्ट, तन्ना र कम्बल, क्याम्प खाट र क्याम्प फर्निचर अनि चिनियाँ कप र प्लेटहरू । अर्को कुरा, उनीहरू प्रायः अनुभवी, स्थानीय भाषा बोल्न जान्ने र आफ्नो समूहको पूरा नियन्त्रणमा बस्ने यात्रीहरू लिन रुचाउँथे ।

मैले सन् १९३९ मा दुई महीना गोर्खा रेजिमेन्टका तीन राइफलम्यानसँग कुलु र स्पिती (भारतको हिमाञ्चल प्रदेशमा पर्ने) आरोहण गरेर बिताएँ । त्यसैबीच क्षितिजमा प्रकाशका नयाँ किरण देखापरे ।

यति वेला मैले ‘ट्रेक’ र ‘ट्रेकिङ’ जस्ता शब्दको पनि चर्चा गर्नुपर्छ । अहिले सामान्य ठानिने यी शब्द  सन् १९६४ ताका केही मानिसका लागि नौला थिए । यी शब्दको व्युत्पत्ति दक्षिण अफ्रिकी क्षेत्रको पुरानो बोएर समुदायमा प्रचलित शब्दबाट भएको हो (बोएर समुदाय र तिनको भाषालाई हिजोआज ‘अफ्रिकानास’ भनिन्छ) । तर, हिमाली साहित्यमा क्याम्पिङ, पदयात्रा लगायत गतिविधिलाई सम्बोधन गर्ने गरी यी शब्दावलीको प्रशस्तै प्रयोग हुन्थ्यो । त्यसैले मेरो दिमागमा उब्जेको योजनालाई ‘ट्रेकिङ एजेन्सी’ भनिनेछ भन्ने विषयमा मलाई कहिल्यै कुनै द्विविधा भएन ।

मैले गर्न खोजेको काम कश्मीरमा देखेकै जस्तो भए पनि पर्वतारोहण खोजयात्राका क्रममा महसूस गरेको अभावका आधारमा त्यसलाई परिमार्जन गरेर लैजान चाहेको थिएँ । मेरा सेवाप्रदायक र सेवाग्राहीहरू नेपालको अवस्थामा अनुभवी नहुने भएकाले हामीले पूर्णतः आफ्नै रेखदेखमा काम गर्नुपर्ने हुन्थ्यो । यसका लागि उपयुक्त तालीम सहित उच्च स्तरका ट्रेकिङ स्टाफ र कामदारको आवश्यकता पथ्र्यो ।

शुरूआत सामान्य नै थियो । मैले त्यति वेला एक पटकमा कम्तीमा आठ पदयात्रीलाई सेवा दिने योजना बुनिरहेको सम्झ्न्छिु । त्यसका लागि आवश्यक सामग्रीहरूको आठवटै सेट चाहिन्थ्यो । मैले आफ्नो आवश्यकताको सूचीमा आठवटा पाल लेखें, फेरि त्यसलाई काटेर चार बनाएँ । लाग्यो– यी कुरा किन बाँडेर प्रयोग गर्न नलगाउने ? होलिडे म्यागाजिनमा एउटा सानो तर महँगो विज्ञापन दिएँ । त्यो हेरेर पाँच जनाले सोधीखोजी गरे । दुई जना चाहिं जिज्ञासु केटाकेटी थिए ।

एउटी महिलाले लेखिन्, ‘माउन्ट एभरेस्ट... ल त एन्टेरो–भायोफर्म (विदेशी यात्रीलाई नयाँ ठाउँमा लाग्न सक्ने झडापखालाको औषधि) तयार राख्नू... मलाई तुरुन्त सबै विवरण पठाउनू ।’ डलर आउने आसमा मैले हतारमा तत्काल पठाइदिइहालें । तर दुःखको कुरा, उताबाट केही जवाफ आएन । सम्भवतः उनले मेरो लेखाइ पढ्न सकिनन् । ती दिनमा ‘माउन्टेन ट्राभल’ सँग आफ्नै ‘टाइपराइटर’ सम्म थिएन । अन्ततः  सन् १९६४ को आखिरीतिर नेपालको पहिलो ट्रेकिङ एजेन्सीको रूपमा ‘माउन्टेन ट्राभल’ सरकारी निकायमा दर्ता भयो ।

सन् १९६५ को वसन्त यामको प्रारम्भतिर मेरो पहिलो टोली सगरमाथा पदयात्रा गर्न आयो । सोही टोलीलाई लक्षित गरेर एक–दुई वर्षपछि ‘ती तीन अमेरिकी हजुरआमा’ भन्ने एउटा भनाइ नै प्रचलित भएको थियो । त्यसयता मैले त्यति उत्साही र गुणग्राही महिला पदयात्री टोलीको नेतृत्व गर्ने मौका पाएको छैन ।

सन् १९६६ देखि नै मलाई आठ सेट ट्रेकिङ उपकरण अपुग हुन थालिसकेको थियो । पहाडी यात्राको विशेष गुणस्तर कायम राखिरहन पनि मानिसहरूलाई उपकरणकै अभावमा फर्काउनु उचित हुँदैनथ्यो । सेवाग्राहीको संख्या भने निरन्तर बढिरहेकै थियो । अनि अरू एजेन्सी पनि आउन थाले ।

पदयात्रीको संख्या घट्ने वाला थिएन । त्यसैले आफ्नो क्षमता बढाउन र कमसेकम नेपालले पदयात्रामा बनाएको छवि नबिग्रियोस् भन्ने सुनिश्चित गर्न आवश्यक देखियो । व्यक्तिगत सम्पर्क गुम्ला भन्ने डर पनि थियो । यस्तोमा उपयुक्त मानिसहरू छानी तालीम दिएर, जिम्मेवारी बाँडफाँड गरेर संस्थाको क्षमता बढाउन सकिन्थ्यो । मलाई विश्वास छ– ‘माउन्टेन ट्राभल’ मा हामीले यही गर्न सकेका थियौं ।

शेर्पाले नेपालका ट्रेकिङ एजेन्टलाई अरू हिमाली भेगका सहकर्मीको तुलनामा अनुचित फाइदा पनि धेरै दिलाउँछन् । म सत्य लुकाउन सक्दिनँ । तर, उनीहरूलाई माया गर्छु । कुनै कुनै वेला उनीहरू मलाई बहुलाहा रिस पनि उठाउँछन् ।

पदयात्रा व्यवसायबाट तय गरेको लक्ष्य कसरी प्राप्त हुन्छ भन्ने प्रश्न पनि टड्कारो थियो हाम्रा सामु । सामान्य रूपमा भन्दा आगन्तुकहरूलाई सके जति राम्रोसँग नेपालका हिमाल, उपत्यका, गाउँघर र मानिसहरू देखाउन चाहेका थियौं हामीले ।  

वेलाबखत देश र जनताबाट अलग, आफ्नै टोलीमा सीमित र उदासीन भएर पदयात्रा गर्ने केही समूहले हाम्रो आलोचना गरेको सुनिन्थ्यो । हाम्रो तौरतरीका उनीहरूले जसरी पदयात्रा सञ्चालन गर्ने पटक्कै थिएन । बरु, हामी हरेक किसिमले रमाइलो अनुभव गराउने प्रयास गर्छौं । शेर्पाहरूले विना कुनै हस्तक्षेप तपाईंहरूको हेरचाह गर्छन् । अन्ततः पदयात्रामा कस्तो अनुभव सँगाल्ने र कसरी रमाइलो गर्ने भन्ने तपाईंहरूमै निर्भर गर्छ ।

मैले केही अप्ठ्यारै मानेर भए पनि ‘माउन्टेन ट्राभल’ नाममा निहित दर्शनबारे पदयात्रीलाई केही बताउनै पर्ने ठानेको छु । हाम्रा शेर्पा र उनीहरूसँगको विशेष सम्बन्धबारे पनि केही भन्नैपर्ने हुन्छ । हामी सबैले सुनेका छौं, शेर्पाहरू अत्यन्त राम्रा साथी हुन् । फेरि हामीले उनीहरू ‘बिग्रेका’ छन् भन्ने पनि सुनेका छौं । आरोहण, पदयात्रा, पर्यटन वा शिक्षा–दीक्षा केले बिगारेको हो, आफैं निक्र्योल गर्नुस् ।  

शायद सत्य कतै बीचमा छ । कुनै पनि समुदायमा ‘खराब’ मानिस हुन सक्छन् । समुदायमा ‘असल’ मानिस पनि धेरै छन् । वास्तवमा उनीहरू उत्कृष्ट छन् । जाँगर र निष्ठापूर्वक काम गरेर कमाइभन्दा कैयौं गुणा बढी फर्काउँछन् । आरोहणमा होस् या पदयात्रामा, चाकरी–चाप्लुसीको छनकसम्म पर्न नदिई उनीहरू सेवा गर्छन् । पर्वतारोहण एवं पदयात्रामा हाल प्रचलित पारिश्रमिक र अन्य लाभहरू नेपालको औसत स्तरभन्दा माथि नै छ ।

शेर्पाले नेपालका ट्रेकिङ एजेन्टलाई अरू हिमाली भेगका सहकर्मीको तुलनामा अनुचित फाइदा पनि धेरै दिलाउँछन् । म सत्य लुकाउन सक्दिनँ । तर, उनीहरूलाई माया गर्छु । कुनै कुनै वेला उनीहरू मलाई बहुलाहा रिस पनि उठाउँछन् ।

सन् १९६६ ताका ‘माउन्टेन ट्राभल’ ले शेर्पाहरूलाई राम्रै स्तरको रोजगारी दिंदै गर्दा पर्वतारोहण क्रियाकलाप बन्द भए । तिब्बतसँग एकताका राम्रै फाइदामा चलेको व्यापार लगभग शून्यमा झ्¥यो । त्यसपछि खस्किँदै गएको खुम्बुको अर्थतन्त्रलाई नयाँ स्रोतको यही रोजगारीले  

क्रमशः स्थिर र सबल बनायो । शेर्पाहरूका लागि यो पेशा ईश्वरीय वरदान नै हुन पुग्यो ।  

अहिले यी सबै कुरालाई सामान्य रूपमा लिइन्छ । बाह्य स्रोतबाट शेर्पा समुदायमा अस्पताल, विद्यालय, बाटोघाटो र पुलपुलेसाका लागि सहयोग आउने अवस्था बन्नुको आधारलाई कम आँक्ने गरिन्छ । तर, कसै न कसैले कुनै वेला शुरूआत गरेकैले अहिले त्यो आधार तयार भएको हो । पदयात्राले शुरूका वर्षमा के दियो भन्ने कुरा सगरमाथा फेदीका गाउँहरूले बिर्सेका छैनन् ।

भविष्य के होला ? विगत वर्षहरूमा नेपालमा वनजङ्गल र प्रकृतिको यात्रा गर्नेहरू निकै बढेका छन् । पदयात्राबाट आर्जित विदेशी मुद्रा उल्लेखनीय छ । यो रकम रुपैयाँमा बदलिएर काठमाडौंका केही मानिसको खल्तीमा मात्र नभई शेर्पाहरूको कमाइ, खाद्य सामग्री लगायत वस्तु खरीदको माध्यमबाट ग्रामीण हिमाली भेगसम्म पनि पुगेको छ ।

भारत र पाकिस्तानले पनि हिमाली सम्पदाको उपयोगबाट आर्थिक लाभ गर्न सकिने तथ्य नबुझ्नेका छैनन् । सुरक्षा स्थितिमा खासै परिवर्तन नआए पनि उनीहरूले निषिद्ध केही क्षेत्र विदेशीका लागि खुला गरिसकेका छन् । अर्कातर्फ, नेपालमा चाहिं क्याम्पसाइटहरू फोहोर भएको, पदयात्री र हिमाल आरोहीले यत्रतत्र फोहोरमैला मिल्काएको अनि पदयात्रीको भीडले हिमाली क्षेत्रको वातावरण बिथोलिएको सुनिन्छ । कमसेकम अहिले समस्या रहेको स्विकार्न थालिएकाले आंशिक रूपमै भए पनि समाधानको खोजी त हुने नै छ ।  

अहिलेसम्म मेरो साह्रै लामो र छेउ न टुप्पाको गन्थन पढिरहनुभएकोमा धन्यवाद । मेरो समय, वास्तवमा मेरो जिन्दगी पनि हिमाली क्षेत्रका सबै किसिमको यात्रामा समर्पित छ । तपाईं पनि नेपाल वा अन्त कतै, जहाँबाट सक्नुहुन्छ त्यहींबाट यसलाई पछ्याउनुहोस्, पक्कै  निराश हुनुहुनेछैन ।

पुनश्च: माथिका हरफहरू सन् १९८७ सम्म लेखिएका हुन् । त्यस वेलासम्म लगभग ४० हजार पदयात्रा अनुमतिपत्र जारी भएका थिए । पाँच वर्षपछि सन् १९९२ सम्म यो संख्या ७१ हजार ४३९ पुग्यो जुन त्यस वर्ष नेपाल आउने कुल पर्यटकको २० प्रतिशत थियो । तर, सामान्य पर्यटकभन्दा पदयात्रीले नेपालमा अलि लामो समय बिताउँछन् । त्यसैले पदयात्रा र पर्वतारोहणबाट प्राप्त हुने आम्दानीले पर्यटनमा वार्षिक भित्रिने विदेशी मुद्राको लगभग आधा हिस्सा ओगट्छ ।

सन् १९६५ पछिका वर्षमा नेपालको पर्वतारोहण र पदयात्रा क्षेत्र उल्लेखनीय सफलताको कथा बन्दै विश्वमा फैलिएको छ । नेपालले हवाईजहाज त बनाएन, तर आज हामीले जानेको पदयात्रा पर्यटनको आविष्कार भने ग¥यो । अहिले केही खस्केको भए पनि यसले समुदायका धेरै तह र समग्र देशकै अर्थतन्त्रमा फाइदा पुर्‍याएको छ । हजारौं विदेशी आगन्तुकलाई यो सुन्दर अधिराज्यका दुर्गम भेगको अध्ययन–अन्वेषण गर्ने अवसर दिएको छ । तथ्याङ्कहरूले जेजस्तो देखाए पनि यो उद्योग त्यति स्वस्थ भने छैन । पछिल्लो पाँच वर्षयता हामी यो क्षेत्रलाई ‘सुनको फुल पार्ने कुखुरी’ ठानेर त्यसको पेटमा भएका सबै खजाना एकैपटक हात पार्ने ध्याउन्नमा लागेका छौं ।  

सन् १९९२ का ७१ हजार ४३९ पदयात्रीमध्ये ४० हजार ८०८ जनाले कुनै आधिकारिक ट्रेकिङ एजेन्सी मार्फत नभई आफ्नै निजी व्यवस्था गरेका थिए । यसको मतलब उनीहरू तुलनात्मक रूपमा सस्ता ‘चिया घर’ मा बसे । त्यस्ता बासहरू सुन्दर ठाउँमा विना कुनै अनुगमन त्यसै बनाउन दिइन्छ । त्यसैले ती प्रायः स्वस्थकर पनि हुँदैनन् । यस्तो प्रवृत्तिले पदमार्गमा भीडभाड र फोहोर बढ्छ । अनि सङ्गठित समूह पनि भन्न थाल्नेछन्, ‘नेपाल खत्तम भयो ।’

सन् १९७१ र १९७२ मा म फेरि १९६३ को ‘परिवहन अधिकृत’ भन्दा उच्च हैसियतमा सगरमाथा फर्किएँ । तर, मलाई एक किसिमको अशक्तताले आधार शिविरभन्दा माथि जान दिएन । त्यो अवस्थामा टोली नेता वा उसको सहायक बनिरहनु उचित थिएन ।  

सोही वर्षका पदयात्रीमध्ये ६० प्रतिशतलाई आतिथ्य प्रदान गर्ने अन्नपूर्ण क्षेत्रका लोकप्रिय पदमार्गको स्थिति बढी नाजुक थियो । किनभने, तीमध्ये आधाभन्दा बढी आफैं जाने पदयात्री थिए । यो क्षेत्रमा पहिले आएको भन्दैमा पछि आउनेहरूलाई इच्छा लागेको काम गरेकोमा दोष दिन मिल्दैन । तर, दुःखको कुरा, उनीहरू देशको छवि बिगार्दै छन् । राष्ट्रको अर्थतन्त्रमा पनि तिनको योगदान तुलनात्मक रूपमा नगण्य छ ।  

नेपालमा हाल आधिकारिक मान्यताप्राप्त ट्रेकिङ एजेन्ट २०० भन्दा बढी छन् । तीमध्ये मुश्किलले १०० भन्दा बढीले आफ्नो एजेन्सीबाट राम्रो आम्दानी गरेका होलान् । केही एजेन्सीले हिसाब मिलान गर्न सानातिना बेइमानी गर्ने गरेको आशङ्का छ । जस्तै– भरियाहरूलाई तोकिएभन्दा कम पारिश्रमिक दिने । यो विषयले हालसालै एक सुपरिचित बेलायती पर्वतारोहीलाई क्रुद्ध तुल्याएको थियो, जो आफैं अहिले यो व्यवसायमा संलग्न छन् ।

खासमा दोष रोजगारदाताको हो, जसले सबैभन्दा सस्तो दर प्रस्ताव गर्नै हुँदैनथ्यो । अनि एजेन्सीले पनि ‘सहकारी’ नाम धारण गर्दैमा उत्कृष्ट सेवा दिन्छन् भन्ने ग्यारेन्टी हुँदैन ।  

४ अगस्ट १९९७ 

(सन् १९५८ मा काठमाडौंस्थित बेलायती दूतावासमा सैनिक सहचारीका रूपमा नेपाल आएका पर्वतप्रेमी जेम्स ओवेन मेरिओन रबर्टस् (जिमी) कहिल्यै स्वदेश फर्केनन् । यतै बसे, सन् १९६५ मा नेपालमा विश्वकै पहिलो पदयात्रा कम्पनी मानिने माउन्टेन ट्राभल्स खोले र ‘पदयात्राका पिता’ बने । ‘द हिमालयन ओडिसी’ शीर्षक दिएर ४ अगस्ट १९९७ मा संस्मरणको पहिलो भाग सिध्याएका रबर्टस्को त्यही साल १ नोभेम्बरमा पोखरामा मृत्यु भयो । पोखरा, जसलाई उनी ‘भूस्वर्ग’ भन्थे । प्रस्तुत आलेख रबर्टस्को त्यही संस्मरणको भावानुवाद हो । पहिलोपटक पूर्णरूपमा प्रकाशित यो संस्मरणको केही अंश यसअघि नागरिक दैनिकमा छापिएको थियो । - सम्पादक)

(भाषान्तर र सम्पादनः  रविन गिरी, सम्मान हुमागाईं र बद्री पौड्याल)

प्रकाशित: १३ कार्तिक २०८१ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App