२७ वैशाख २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

वर्ष २०८३: संवत्सर तथा ग्रहपरिषद् फल

ऋग्वेदका अनुसार सूर्यले आफ्नो आकर्षण शक्तिद्वारा पृथ्वीसहित बुध र शुक्रजस्ता तीन भित्री लोक तथा मंगल, बृहस्पति र शनिजस्ता तीन बाह्य लोकलाई धारण गर्दै तिनीहरूलाई निरन्तर गतिशील बनाइरहेको हुन्छ। यसै सूर्यसम्बन्धी ज्ञानबाट संवत्सरका विविध जनहितकारी अर्थहरू प्रकट हुन्छन् । तैत्तिरीय संहिताअनुसार दिन, रात, पक्ष, महिना, ऋतु, अयन आदि सबै संवत्सरभित्र समाहित हुन्छन्, त्यसैले संवत्सर एउटा सार्थक नाम मानिन्छ।

संवत्सरभित्र रहने बाह्र संक्रान्ति महिनाहरूका नाम यसप्रकार छन्– मधु, माधव, शुक्र, शुचि, नभ, नभस्य, इष, ऊर्ज, सह, सहस्य, तपस् र तपस्य। यीबाहेक कहिलेकाहीं ‘संसर्प’ वा अधिक मास तथा ‘अंहस्पति’ वा क्षयमास पनि पर्ने गर्छ।

ये देवासो दिव्येकादश स्थ पृथिव्यामध्येकादश स्थ।

अप्सुक्षितो महिनैकादश स्थ ते देवासो यज्ञमिमं जुषध्वम्।।

(ऋग्वेद १/१३९/११)

अर्थात्, हे भगवान् ! हजुर आफ्नो महिमाबाट द्युलोकमा एघार रूपमा व्याप्त हुनेवाला रुद्र हुनुहुन्छ। हजुर नै पृथ्वीमा संवत्सरसहित एघार रूपमा प्रकट भई अन्तरिक्षमा पनि निवास गर्नुहुन्छ। हे एकादश देव! हजुर वर्ष वा संवत्सर रूपी यस प्राकृतिक यज्ञलाई अंगीकार गर्नुहोस्।

वर्षभरिका लागि फल कथन गर्ने कारण सबैभन्दा उपयुक्त इकाइ संवत्सर नै हो । संवत्सरका विभिन्न तत्त्वहरूको परीक्षा गरेरै वार्षिक फलको दिशा निर्धारण गरिन्छ। बृहत् संहितालगायत प्राचीन संहिता ग्रन्थहरूका आधारमा सूर्यको मेष राशिमा प्रवेशको आधारमा सुरु भएको नयाँ वर्ष २०८३ सामाजिक, आर्थिक तथा राजनीतिक दृष्टिकोणले के कस्तो प्रभाव पर्नसक्ला भनेर प्रारम्भिक वर्षफल प्रस्तुत गर्दै छु।

‘रौद्र’ संवत्सर र यसको प्रभाव

बार्हस्पत्य मानअनुसार यो वर्ष ६० संवत्सरहरूमध्ये ५४औं ‘रौद्र’ संवत्सर हो। यसको नामले नै केही उग्रताको संकेत गर्छ । भनिएको छ–  

अल्पतोयप्रदा मेघा अल्पसस्या च मेदिनी।

निष्ठुराः पार्थिवा लोके दावो रौद्रे प्रजायते।।

अर्थात्, ‘रौद्र’ संवत्सरमा वर्षाको असन्तुलनले कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ। यसले खाद्यान्नको मूल्य वृद्धि भई जनजीवनमा आर्थिक भार थपिने सम्भावनालाई नकार्न सकिँदैन। राजनीतिक दृष्टिकोणले हेर्दा यस संवत्सरमा विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र राष्ट्राध्यक्षहरूबिचको मनमुटाव सतहमा आउन सक्छ । शासकहरूले गर्ने कतिपय कठोर निर्णयले नागरिक स्तरमा असन्तुष्टि पैदा गर्न सक्ने जोखिम पनि उत्तिकै छ। जंगल वा खलियानमा आगलागी भएर ठुलो क्षति हुन संकेत पनि गरिएको छ। गएको वर्ष परेको ‘सिद्धार्थी’ संवत्सरमा भने गुण, लोककल्याण र समृद्धि हुन्छ भनिएको थियो। गएको वर्ष ‘संवत्सर वर्ष २०८२ र अधिकारी ग्रहका शुभाशुभ संकेत’ लेखमा विस्तृतमा जानकारी गराएको थिएँ।

आकाशीय मन्त्रिपरिषद् : शक्तिको सन्तुलन र गुरुको नेतृत्व  

दृग्गणका पञ्चांगहरूअनुसार यसवर्षको आकाशीय ग्रहपरिषद्को चुनावमा राजाको प्रमुख पदसहित सस्येश (कृषि उपज), नीरसेश (सबै खनिज, धातु,  पेट्रोल आदि)  र धनेश (अर्थमन्त्री) जस्ता महत्त्वपूर्ण अधिकारहरू देवगुरु बृहस्पतिले प्राप्त गरेका छन्। प्रधानमन्त्रीमा मंगल तथा जलस्रोत, दुर्गेश (रक्षा) र फलेश (फलफूल, तरकारी आदि) चन्द्रमाको भागमा र खाद्य तथा आपूर्ति मन्त्री भने बुध रहेको छ। रस पदार्थ सम्बन्धित रसेशमा शनिदेव चुनिएका छन्। ज्योतिषीय गणनामा वर्षभरिको प्रभाव निर्धारण गर्न ‘आकाशीय मन्त्रिपरिषद्’को भूमिका महत्त्पूर्ण हुन्छ। यी दश अधिकारी आकाशीय मन्त्रिपरिषद्को उच्च अधिकारप्राप्त मन्त्री बुझ्न सकिन्छ र यिनको कार्यकाल एक वर्षसम्म रहने मानिन्छ।  

राजा ‘देवगुरु बृहस्पति’को फल

बृहस्पति राजा हुनु अत्यन्त शुभ मानिन्छ। यस वर्ष समाजमा सदाचारको प्रचार हुनेछ। ठुला यज्ञ–अनुष्ठानहरू हुनेछन् भने शासन व्यवस्था तुलनात्मक रूपमा राम्रो रहनेछ। सेनाको मनोबल बढ्ने र पशुधनको वृद्धि हुने संकेत छ । बृहत्संहिताअनुसार बृहस्पतिको शुभ वर्षहरूमा ब्राह्मणहरूद्वारा वेदपाठ गर्ने कर्म बढ्छ । ठुला–ठुला यज्ञहरूको आयोजना हुन्छ । मानिसहरूको कानमा यस्ता मन्त्रध्वनि सुनिन्छन्, जसले मनलाई आनन्दित बनाउँछन्, राक्षसहरूको नाश हुन्छ र देवताहरू प्रसन्न हुन्छन्। पृथ्वीमा राम्रो शासन व्यवस्था कायम हुन्छ । प्रशस्त अन्नबाली उत्पादन हुन्छ । राम्रो किसिमका अन्नहरू फल्छन् । सेनाका विभिन्न अंगहरूको वृद्धि हुन्छ । धनसम्पत्ति बढ्छ, पशुधनको वृद्धि हुन्छ। देवतासमान सदाचारको प्रचार हुन्छ। पर्याप्त तथा समयअनुसार वर्षा भई सर्वत्र समृद्धि र सुख–समृद्धि फैलिन्छ। वराहले संवत्सरको फल पनि शुभ भए मात्र शुभ हुने मानेका छन् । संवत्सर अशुभ हुँदा उल्लेख गरिएका शुभफलमा कमी आउने प्रस्ट संकेत गरिएको छ।

मन्त्री ‘मंगल’को फल

वैशाख संक्रान्तिको दिन मंगलबार परेकाले मन्त्रीको पद मंगलले पाएको छ । यसले गर्दा समाजमा अलिकति डर, त्रास र चोरी–तस्करीको भय रहन सक्छ। तामा, पित्तल र रातो वर्णका वस्तुको मूल्य बढ्नेछ। मानिसहरू गाउँबाट सहरतर्फ बसाइँ सर्ने क्रम बढ्न सक्छ।

सस्येश बृहस्पति फल: बृहस्पति सस्येश हुँदा वेदले बताएको धर्ममार्गको पालन गर्दा मानिसहरूले सुख, शान्ति र कल्याण प्राप्त गर्छन्। त्यस वर्ष पर्याप्त वर्षा हुन्छ । गहुँ, धान्य, उखु, दुध, घिउ, फलफूल आदिको उत्पादन बढी हुन्छ । कृषि तथा कृषि–सम्बन्धी व्यवसायहरू राम्रो चल्छन्। खेतीपाती र कृषि वस्तुहरूको व्यापार गर्ने व्यापारीहरूले राम्रो नाफा कमाउन सक्छन् । धन–सम्पत्तिको वृद्धि भएर जनजीवन आनन्दित हुन्छ।

धान्येश बुध फल: धान्यपति बुध हुँदा राम्रो वर्षाका कारण अन्नबालीको उत्पादन पर्याप्त हुन्छ तर दुध, गुड, तेल आदि रसयुक्त पदार्थहरूको मूल्य बढ्न सक्छ । शासनतन्त्रले जनहितकारी नीति बनाउने प्रयास गर्छ र त्यसको कार्यान्वयन पनि गर्ने कोसिस हुन्छ।

मेघेश चन्द्रमा फल: यदि वर्षाको स्वामी चन्द्रमा हुन्छ भने गाई, भैंसी, बाख्रा, गधा आदि चौपायाले धेरै दुध दिन्छन् । त्यस वर्ष पृथ्वीमा गहुँ, धान, चामल आदिको उत्पादन राम्रो हुन्छ। रूखहरूमा फलफूल प्रशस्त लाग्छन् । पृथ्वीमा विभिन्न प्रकारका सुख–सुविधा र भोगविलासका साधनहरू बढ्छन् । महिलाहरूलाई पनि सुख, सम्मान र ऐश्वर्यका विभिन्न साधन प्राप्त हुने सम्भावना हुन्छ।

रसेश शनिको फल: रस पदार्थको स्वामी शनि हुँदा त्यस वर्ष अनुकूल तथा उपयोगी वर्षाको कमी रहने सम्भावना हुन्छ। भूगर्भीय जलस्तर पनि तल झर्नेछ । गाई, भैंसी, बाख्रा, हात्ती, घोडा, ऊँट आदि चौपाया जनावरहरूको संख्यामा कमी आउन सक्छ । यसको परिणामस्वरूप रसयुक्त वस्तुहरू जस्तै उखु, गुड, चिनी, दुध, घिउ, मक्खन आदि वस्तुको उत्पादन घट्ने वा ती वस्तुहरूको मूल्यमा उल्लेखनीय वृद्धि हुन सक्छ । बेमौसमी तथा प्रतिकूल वर्षाका कारण विभिन्न जटिल रोगले मानिसलाई दुःख दिन सक्छ।

गुरु नीरसेश हुँदा: नीरसेश अर्थात् ठोस धातु पदार्थहरूको स्वामी गुरु हुँदा बेसार, पहेँलो वस्त्र, पितल, सुन आदि पहेँलो वर्णका वस्तु तथा धातुहरूप्रति मानिसहरूको विशेष रुचि र आकर्षण बढ्नेछ । यसका कारण यी वस्तुहरूको माग बढेर मूल्यमा पनि धेरै वृद्धि हुन सक्छ । मानिसहरूको रुचि धार्मिक विषयतर्फ बढ्नेछ र पारस्परिक प्रेम तथा सहयोग पनि वृद्धि हुनेछ । धातु, मसला, कपडा र आर्थिक व्यापारको क्षेत्रमा तेजीसँग बढोत्तरी हुन्छ।

फलेश चन्द्रमा फल: फलहरूको स्वामी चन्द्रमा हुँदा त्यस वर्ष राजनेताहरू प्रजालाई न्याय र सुशासन दिन सक्रिय रहनेछन्। विद्वान् ब्राह्मणहरू पनि विभिन्न प्रकारका धनधान्य र भोग्य पदार्थले सम्पन्न हुनेछन् । रुख तथा लताहरूमा विभिन्न मौसमी फल, फूल तथा वनस्पतिहरूको उत्पादन राम्रो हुनेछ । राजनेताहरू देशविदेश भ्रमण गर्न इच्छुक हुनेछन् अर्थात् यात्रामा सक्रिय रहनेछन् । तथापि शासन व्यवस्था राम्रो र व्यवस्थित रूपमा सञ्चालन हुनेछ।

धनेश बृहस्पति फल: यदि धनका स्वामी (कोषाध्यक्ष) बृहस्पति हुन्छन् भने शासनले व्यापारीहरूका लागि अनुकूल वातावरण तथा नीतिहरू बनाउने प्रयास गर्नेछ । व्यापारी वर्ग व्यापारमा लाभ पाएर सुखी तथा प्रसन्न रहनेछन् । रुखहरूमा फूल तथा फलको उत्पादन राम्रो हुनेछ । जनताको जीवनशैली तथा आर्थिक स्तरमा सुधार हुनेछ । तर पनि केही विशेष वर्गका मानिस मात्र धनसम्पत्ति र भौतिक सुखले सम्पन्न हुने सम्भावना हुन्छ।

दुर्गेश चन्द्रमा फल ः चन्द्रमा दुर्गेश (सेनाको स्वामी वा रक्षामन्त्री) हुँदा त्यस वर्ष समाजका विशिष्ट व्यक्तिहरूले गरेको सेवाका कारण मानसम्मान र प्रतिष्ठा प्राप्त गर्नेछन् । राजनेताहरूले प्रजालाई राम्रो शासन र सुविधा दिन प्रयास गर्नेछन् । सामान्य जनताको जीवनस्तर पनि उन्नत र व्यवस्थित हुनेछ । गुड, चिनी, उखु, दुध, घिउ, गोरस तथा मिठाई आदिको व्यापार गर्ने व्यापारीहरूले राम्रो लाभ प्राप्त गर्नेछन् । जनता पनि शासनको राम्रो व्यवस्थाको प्रशंसा गर्नेछन्।

गत वर्षको तुलनामा यस वर्षको ग्रहपरिषद् बढी सकारात्मक देखिन्छ । गएको वर्ष सूर्य राजा मन्त्रीसहित ६ मन्त्रालय अशुभ मानिने ग्रहहरूको भागमा र चार वटा विभाग शुभ ग्रहको भागमा परेको थियो । तर यस वर्षको ग्रह मन्त्रिपरिषद्मा १० मध्ये आठ वटा महŒवपूर्ण विभागहरूमा शुभ ग्रहहरूको वर्चस्व छ, जसले संवत्सरको नकारात्मकतालाई सन्तुलन गर्ने आशा जगाउँछ । यस वर्षको रौद्र संवत्सरको नाम केही भयानक सुनिए तापनि राजा बृहस्पति र अन्य आठ विभागमा शुभ ग्रहहरूको उपस्थितिले गर्दा प्रतिकूलताका बिच पनि समृद्धिका किरणहरू देखिनेछन्।

त्यसैगरी समग्रमा वर्ष कस्तो रहन्छ भनेर बुझ्नुपर्ने कुराहरू जस्तै संवत्सरको वाहन, संवत्सरको मर्मस्थान स्तम्भ र आर्षमानको बल, विभिन्न समयमा हुने ग्रहहरूको उदयास्त, कछुवा चक्र, सूर्यको आद्रा प्रवेश, रोहिणी वास, जगल्लग्न, संवत्सर प्रवेश लग्नको विस्तृत फल, वृहस्पतिको महावर्ष फल, सबै महिनाको सङ्क्रान्ति फल र विशेषगरी शनि, बृहस्पति, मंगललगायत ग्रहहरूको विभिन्न प्रकारको संयोग तथा दृष्टिहरूको विशेष अध्ययन पनि गर्नुपर्ने हुन्छ।

प्रकाशित: ५ वैशाख २०८३ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App