म सानो छँदा आमाले हामीलाई खाना खान बोलाउनुहुन्थ्यो तर हामीलाई खाना पस्कनुभन्दा पहिले एउटा कचौरामा थोरै भात, थोरै दाल अनि थोरै तरकारी राखेर बाहिर राखिदिनुहुन्थ्यो। कहिलेकाहीँ मेरो मनमा प्रश्न उठ्थ्यो। आमाले यसो किन गर्नुभएको होला? केही समयपछि मैले आमालाई सोधेँ, ‘आमा बाहिर किन भात राख्नुभएको? त्यो पनि हामीलाई भात पस्कनुभन्दा अगाडि?’
उहाँले मेरो जिज्ञासालाई शान्त पार्दै भन्नुभयो, ‘कागलाई भात चढाएको।’
‘किन?’मैले फेरि प्रश्न गरेँ। आमाले सम्झाउँदै भन्नुभयो, ‘कागलाई नचढाई खानु हुन्न। काग त खबर दिने दूत हो। हामीलाई हाम्रा आफन्तहरूको खबर ल्याइदिने काम कागले गर्छ। फेरि हामीले आफ्नो मात्र पेट भर्ने होइन नि। पशुपंक्षीलाई पनि खुवाउनुपर्छ। यसो गर्दा धर्म लाग्छ।’
आमाको पल्छिलो कुरा मलाई राम्रो लाग्यो। त्यसबेलादेखि कागलाई भात दिने कर्म सामान्य लाग्न थाल्यो।
काग एक पक्षी हो। यो संसारमा सर्वत्र पाइन्छ। हाम्रो समाजमा कागलाई चलाख पंक्षीको रूपमा मान्ने चलन छ। त्यसैले होला कसैलाई चलाख भनेर भन्नुपर्दा कस्तो काग जस्तो मान्छे रहेछ भनेर भन्ने चलन छ। संस्कृत भाषामा कागलाई काक भनिन्छ। काग विभिन्न प्रजातिका हुन्छन्। कागले सामान्य भाषाका अतिरिक्त अन्य थुप्रै विशेष प्रकारका भाषा बोल्छन्। केही भाषा आफ्ना साथीहरूलाई खतराको सङ्केत गर्न प्रयोग गर्ने गर्दछन्। कसैलाई कुनै सङ्कट आएमा आफ्ना साथीहरूलाई बोलाउने गर्दछन्। सबै मिलेर शत्रुसँग लड्ने स्वभाव कागमा पाइन्छ। यही स्वभावले कागलाई एकताको शुत्रमा बाँधेर राखेको हुन्छ। कागलाई बुद्धिमान पंक्षीको रूपमा चित्रण गरिएको पाइन्छ।
कागको बुद्धिमताबारे थुप्रै कथा प्रचलित छन्। कथा मात्र होइन कागको बुद्धिमतालाई सिद्ध गर्ने थुप्रै यथार्थता पनि हाम्रोसामु छन्। कागसँग मानिसलाई चिन्न सक्ने क्षमता हुन्छ। यदि कागलाई हानि पुग्ने काम मानिसबाट भएमा वा हानि पुग्ने देखे मानिसलाई आक्रमण गर्ने प्रवृत्ति पनि कागमा हुन्छ। यो पक्षीको नाममा पनि पर्व रहेको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई पूजा गर्ने चलन छ। यो नेपालीहरूको महान पर्व तिहारको पहिलो दिन हो। तिहारको प्रारम्भकै दिनमा कागलाई पूजा गरी मीठो खाने कुरा खुवाउने चलने छ।
तिहारको यो पहिलो दिन हो। पहिलो दिनमै हामी कागको पूजा गरेर तिहारको सुरुवात गर्दछौं। यस दिन विहान सबेरै घर शुद्ध बनाई आफ्नो गच्छे अनुसार विविध परिकार बनाई टपरा, दुना वा सालको पातमा खानेकुरा राखेर कागलाई खुवाउने चलन छ। आफ्नो घरको कौसी, बार्दली वा घरको छानामा कागलाई सम्झेर पूजा गर्ने अनि खानेकुरा अर्पण गर्ने परम्परा छ।
कागलाई यमराजको सन्देश वाहकको रूपमा चित्रण गर्ने चलन छ। भनिन्छ, काग यमराजको निकै प्रिय भक्त हो। काग द्रुत गतिमा उड्ने सक्ने प्राणी हो। त्यसैले यमराजले कागलाई यहाँका मानिसहरूको जन्म र मृत्युको विवरण राख्ने जिम्मा दिइएको धार्मिक मान्यता छ।

कागलाई पूर्व सूचना प्रदान गर्ने चराको रूपमा लिने प्रचलन पनि पुरानै हो। घरको कौसी, बार्दली वा छतमा आएर का... का.. गरी कराउँदा शुभ बोल भन्दै मानिसहरू जवाफ फर्काउने गर्दछन्।
पहिले अहिले जस्तो सूचना र प्रविधिको विकास भएको थिएन। त्यसबेला मानिसहरू कागलाई एक स्थानबाट अर्को स्थानमा समाचार पुर्याउने पक्षीको रूपमा आदर गर्ने गर्दथे। मानिसलाई यसरी सूचनाप्रवाह गर्ने जीव भएका कारण तिहारको पहिलो दिन कागको पूजा गर्ने चलन चलेको मान्नेहरू थुप्रै छन्। यति मात्र होइन मानिसका लागि अनावश्यक फोहोर, सडेगलेका खाद्यवस्तु कागले ग्रहण गरेर वातावरण स्वच्छ, सफा र हराभरा राख्न सहयोग गरिरहेको हुन्छ।
अन्य पर्व जस्तै तिहार पनि प्रकृतिपरक चाड हो। मानिसले यो धर्तीमा भएका र मानिसका लागि उपयोगी जीवहरूको सम्मान गर्नका यस्ता पर्वहरू चलाएको आभास मिल्दछ। वास्तवमा कागबाट हामीले आफू बस्ने वातावरण सफा, स्वच्छ राख्नुपर्छ भन्ने पाठ सिक्न सक्दछौं। काग समूहमा मिलेर बस्ने प्राणी हो। कागको यही स्वभावले हामीलाई म होइन हामी भन्न प्रेरित गर्दछ। कागले मानिसका लागि सूचना आदानप्रदान पनि गर्दछ। यो कार्यबाट कागले आफ्नो लागि मात्र होइन संसारमा अरूका लागि पनि बाँच्न जान्नुपर्दछ भन्ने सन्देश दिइरहेको हुन्छ। त्यसैले यस्तो जीवको पूजा गर्ने प्रचलन चलेको छ।
मानव समाजमा सभ्यताको विकास भएपछि मानवीय केही क्रियाकलाप गोप्य हुन थाले। समाजलाई नैतिक मूल्य र मान्यताको मार्गमा हिंडाउन पनि त्यो आवश्यक थियो। ढुङ्गेयुग कृषियुग हुँदै जब मानिसमा शिष्टता, भद्रता जस्ता गुणको विकास र विस्तार हुँदै गयो तब मानिसले मित्रजीवबाट विभिन्न ज्ञान सिक्दै गएको कथन छ।
यसरी सिक्दै जाँदा कागबाट पनि मानिसले थुप्रै कुरा सिकेका हुन्छ। साथै कागबाट मानिसले रतिक्रियालाई गोप्य राख्नुपर्ने ज्ञान प्राप्त गरेको कथन संस्कृतिविद् हरिराम जोशीको छ।
कति शिष्ट छ काग! कागले कहिल्यै खुला समागम गर्दैन। भाले र पोथीको संसर्ग भएको कसैले देख्दैनन्। हाम्रा वरपर रहेका अन्य पशुपक्षीबीच समागम भएका थुप्रै क्रिया देख्न सकिन्छ तर भालेपोथी कागको सम्भोग दृष्य देख्न सकिंदैन। तिनीहरू यो क्रिया गोप्य रूपमा गर्दछन्। पछि कागबाट यो शिक्षा पाएर सृष्टिलाई निरन्तरता दिने कर्म मानिसले पनि गोप्य रूपमा गर्न थालेको कथन उनको छ। त्यसैले मानिसले हरेक दिन भात पाकेपछि खाने बेलामा सर्वप्रथम कागलाई भात खुवाउने प्रचलन चलेको हो।
यही कारणले कागलाई हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन पूजा गर्ने चलन चलेको हुनुपर्दछ।
प्रकाशित: २ कार्तिक २०८२ १०:३९ आइतबार





