२९ मंसिर २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

त्रियुगा नदी छठ भक्तजनले भरिभराउ, वर्षेनी भक्तजन बढ्दै

छठ पुजाका लागि सजाइएको गाईघाटस्थित त्रियुगा नदी । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी छठ पुजा गर्ने भक्तजनले भरिभराउ भएको छ । त्रियुगा नगरपालिका ३ बसपार्कभन्दा दक्षिणको नदी किनार दायाँ बायाँ छठ पुजाका लागि दुलही झैँ सजाइएको छ भने घाटस्थल जानका लागि सुन्दार र आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । 

आइतबार विहानदेखि सुरु भएको छठ पुजाको आज मध्यदिन साँझ सूर्यलाई अघ्र्य दिएर घाटमै रातभर जाग्राम बसेर छठी माताको उपासना गर्न भक्तजनहरु भेला भईसकेका छन् । पुजाका लागि छरिएको नदीको पानीलाई एकत्रित गरेर साँघुरो खोला बनाइएको छ भने किनार वारिपारि व्यवस्थित रुपमा घाट बनाइएको छ ।  

गाईघाटमा पछिल्लो एकदशकयता छठ पुजा गर्ने भक्तजनको ह्वात्तै बृद्धि भएको छ । छठ पुजा मूल समारोह समितिले वर्षेनी भक्तजनको बृद्धि हुँदै आएको जनाएको छ । समितिका अध्यक्ष चन्दन साहका अनुसार यसवर्ष ५ सय वटा घाट निर्माण गरिएको छ । सुरुमै अनुमान गरेर बनाइएको ५ सय घाट सबै वितरण भईसकेको उनले बताए । 

गतवर्ष ४ सय ६५ वटा घाट बनाइएकोमा यसवर्ष ३५ वटा बढी थपिएको अध्यक्ष साहले बताए । दुईवर्षअघि ४ सय ५० वटा र त्यसअघिको वर्ष ४ सय घाटमा भक्तजनले पुजा गरेको स्मरण उनीसँग छ । ‘पछिल्लो समय वर्षेनी भक्तजनको सङ्ख्या बढ्दै गएको छ’ साहले भने ‘५ वर्षअघि त १ सय वटा मात्र घाट बनाएर पुजा आराधना गरिएको थियो । त्यसयता लगातार बढ्दो छ ।’ 

साहका अनुसार पुजा समितिले प्रति घाट भक्तजनसँग ६ सय रुपैँया शूल्क लिने निर्णय गरेको छ । केही भक्तजनले भने अन्य ठाउँको घाटमा निःशूल्क पाउने तर, त्रियुगामा पैसा लाग्ने भन्दै गुनासो गरेका छन् । समितिले भने व्यवस्थित घाट बनाएर भक्तजनलाई पुजा आराधना र उपासना गर्न तथा राति जाग्राम बस्न सहज बनाउन शूल्क लिने निर्णय गरेको जनाएको छ ।  

‘अरु तिरको घाट भक्तजन आफैले बनाउने हो, शान्ति सुरक्षा र अन्य व्यवस्थापन आफैले गर्ने भएकाले निःशूल्क भएको हो’ अध्यक्ष साहले भने ‘हामीले घाट आफैले बनाईदिएका छौँ, पुजा गर्न नदी व्यवस्थापनदेखि सरसफाई, घाट सजावट तथा प्रवेशद्वार निर्माणदेखि मनोरञ्जनसम्मको व्यवस्था छ, त्यसैले न्यूनतम शूल्क लिने समितिले निर्णय गरेको हो ।’ 

छठको अवसरमा रातभर साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिदैछ । त्यसका लागि घाटभन्दा ५ सय मिटर टाढा मञ्च निर्माण गरिएको छ । राति ७ः३० बजे त्यहाँबाटै छठको औपचारिक उद्घाटन गरेपछि शुभकामना आदान प्रदान गर्दै गीत तथा नृत्य कार्यक्रम रातभर चलाउने समितिले तयारी गरेको छ ।  

त्रियुगासँगै सदरमुकाम आसपासका बरुवा, बगाहा, ठाडी, देउरी, शाही र सरस्वति खोलामा पनि यसरी छठ पुजाका लागि भक्तजन भेला भएका छन् । सदरमुकामबाहेक चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका खोला तथा जलासयहरु पनि भक्तजनहरु भेला भएर छठ पुजा गर्ने क्रम चलिरहेको स्थानीयले बताएका छन् ।  

प्रकाशित: १० कार्तिक २०८२ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App