बिहानको उज्यालोसँगै नेपालगन्जको बिपी चोक आसपासमा चहलपहल बढ्छ। सडकमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झन्डा हुन्छ, कोही धार्मिक पोसाकमा सजिएका हुन्छन्। वरिपरिका पसल, सडक र बस्तीमा पर्वको रौनक देखिन्छ। धार्मिक उत्साहसहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ।
हो यही उमंग र उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावबिच बुधबार हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात् मोहम्मद डे (इद मिलादुन्नबी) मनाइँदै छ। मुस्लिम समुदायका लागि महत्त्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगन्जमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। बिहानैदेखि विभिन्न स्थानबाट मुस्लिम समुदायका मानिस बिपी चोकलगायत क्षेत्रमा भेला हुन्छन्। धार्मिक कार्यक्रम, शुभकामना आदानप्रदान र सामूहिक सहभागिताले सहरको वातावरणलाई नै फरक बनाउँछ।
पर्वको अवसरमा मस्जिद तथा मदरसामा विशेष धार्मिक कार्यक्रम आयोजना गरिन्छ। कुरान पाठ, धार्मिक प्रवचन र प्रार्थनामार्फत हजरत मोहम्मदका शिक्षा तथा उनले दिएको शान्ति, मानवता, भाइचारा र परोपकारको सन्देश सम्झिने गरिन्छ। धार्मिक अगुवाहरूले पर्वलाई उत्सवका रूपमा नभई असल आचरण र सामाजिक एकताको सन्देश फैलाउने अवसरका रूपमा लिने गरेका छन्।
नेपालगन्जमा मोहम्मद डेको अर्को विशेष पक्ष हो, समुदायबिचको आत्मीयता। मुस्लिम समुदायको धार्मिक पर्व भए पनि शुभकामना दिन र पर्वको रौनक हेर्न हिन्दु धर्मावलम्बीसमेत विभिन्न स्थानमा पुग्छन्। भेटघाटका क्रममा एकअर्कालाई शुभकामना दिइन्छ। धार्मिक आस्था फरक भए पनि पर्वको खुसी साटासाट गर्ने यो दृश्य नेपालगन्जको सामाजिक संरचनाको विशेष परिचय बनेको छ।
मोहम्मद डेका अवसरमा मुस्लिम समुदायसँग शुभकामना साट्न पुगेका हिन्दु समुदायका स्थानीयहरू यसलाई धार्मिक सद्भाव र आपसी भाइचाराको अवसरका रूपमा लिन्छन्। उनीहरूका अनुसार नेपालगन्जमा वर्षौंदेखि विभिन्न धर्म र समुदायका मानिसहरू एकअर्काका चाडपर्वमा सहभागी हुँदै आएका छन्। ‘हाम्रो धर्म र संस्कार फरक हुन सक्छ तर हामी सबै यही समाजका सदस्य हौं। एकअर्काको पर्वमा सहभागी भएर शुभकामना दिनु भनेको आफ्नो संस्कृति छाड्नु होइन, बरु आपसी सम्मान र सम्बन्धलाई बलियो बनाउनु हो,’ हिन्दु समुदायका पोषण केसीले भने, ‘मोहम्मद–डेका दिन मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिन पाउँदा खुसी लाग्छ। उहाँहरूको खुसीमा हामी पनि जोडिन चाहन्छौं।’
उनले नेपालगन्जमा देखिने यस्तो सहभागिताले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने बताए। ‘पर्व फरक भए पनि खुसी साझा गर्न सकिन्छ। यही भावना नेपालगन्जको सुन्दर पक्ष हो,’ उनले भने।
मुस्लिम समुदायका अगुवा अतहर हुसेन फारुकीका अनुसार पर्वको धार्मिक मर्यादा र गरिमालाई कायम राख्दै सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिलाई प्राथमिकता दिन आवश्यक छ। त्यसैले यसपटक धार्मिक कार्यक्रम तथा जुलुसमा ठुलो स्वरको बाजा अर्थात् डिजे ठुलो ध्वनिमा नबजाउने निर्णय गरिएको उनले बताए।
उनका अनुसार धार्मिक पर्व मनाउँदा अरू समुदाय र सार्वजनिक जीवनमा असहजता नहुने विषयलाई पनि ध्यान दिनुपर्छ। ‘धार्मिक कार्यक्रमको मर्यादा कायम राख्दै सामाजिक सद्भाव र सार्वजनिक शान्तिलाई प्राथमिकता दिनुपर्छ,’ फारुकीले भने, ‘त्यसैले चर्को ध्वनि आउने गरी डिजे बजाइने छैन।’
पर्वको यो पक्षले नेपालगन्जको धार्मिक सहिष्णुताको अर्को सन्देश दिन्छ। उत्सव मनाउने अधिकारसँगै अरूको शान्ति र संवेदनशीलताको सम्मान गर्नुपर्छ भन्ने सोचले पर्वको वातावरणलाई थप सौहार्दपूर्ण बनाउने विश्वास गरिएको छ। मोहम्मद डेको अवसरमा नेपालगन्जका सडकमा देखिने भिड, धार्मिक झन्डा, परम्परागत पोसाक र शुभकामना आदानप्रदानले सहरको बहुधार्मिक चरित्रलाई उजागर गर्छ। एउटै स्थानमा फरक धर्म र समुदायका मानिसहरू भेटिन्छन्, कुराकानी गर्छन् र पर्वको शुभकामना दिन्छन्।
यही आत्मीयताले पर्वलाई मुस्लिम समुदायको धार्मिक उत्सवबाट सामाजिक सद्भावको साझा अवसरमा रूपान्तरण गरेको छ। नेपालगन्जमा लामो समयदेखि विभिन्न धर्म र समुदायका मानिसहरूबिच सहअस्तित्वको सम्बन्ध रहँदै आएको छ। यहाँका चाडपर्वमा एक समुदायले अर्को समुदायको खुसीमा सहभागिता जनाउने परम्परा छ। मोहम्मद–डे पनि त्यसैको एउटा उदाहरण हो।
प्रकाशित: १० भाद्र २०८३ ०६:१८ बुधबार

