काठमाडौंको एक प्राचीन मन्दिरबाट चार दशकअघि चोरी भएको १३औं शताब्दीको ऐतिहासिक बुद्ध मूर्ति लामो कूटनीतिक र कानुनी प्रक्रियापछि अन्ततः आफ्नै थातथलोमा फर्किएको छ।

सन् १९८० को दशकमा हराएको सो बहुमूल्य मूर्तिलाई शुक्रबार बुद्ध जयन्तीको अवसर पारेर परम्परागत विधिपूर्वक मन्दिरमा पुनर्स्थापना गरिएको हो।

पुरातत्व विभागका अनुसार सन् १९८० को दशकमा मन्दिरबाट गायब पारिएको यो कलाकृति अमेरिकाको न्यूयोर्क पुर्याइएको थियो। लामो समयसम्म गुमनाम रहेको मूर्ति न्यूयोर्कस्थित ‘तिब्बत हाउस युएस’ नामक सांस्कृतिक केन्द्रमा फेला परेको थियो।
त्यहाँका अधिकारीहरूका अनुसार एक अज्ञात भिक्षुले सो मूर्ति उक्त केन्द्रलाई उपहारस्वरूप दिएका थिए। चोरी भएको ४० वर्षपछि सन् २०२२ मा यो मूर्तिलाई अमेरिकाबाट नेपाल ल्याइएको थियो।

नेपाल फर्काइएको दुई वर्षपछि शुक्रबार मन्दिरको पुरानै ढुङ्गे आसनमा यसलाई विराजमान गराइएको हो। पञ्चैबाजा र खटसहित नगर परिक्रमा गराएर मूर्तिलाई मन्दिर भित्र्याउँदा स्थानीय समुदायमा उत्साह छाएको थियो।

पुनर्स्थापना समारोहमा उपस्थित स्थानीय ६७ वर्षीया सुनकेसरी शाक्यले भनिन्, ‘हाम्रा भगवान् घर फर्कनुभएको छ, हामी सबै निकै खुसी छौं।’

यसअघि मन्दिरमा सोही मूर्तिको प्रतिमूर्ति बनाएर पूजाआजा गरिँदै आएको थियो, जसलाई हाल अर्को स्थानमा सारिएको छ।
समारोहमा सहभागी हुन आइपुगेका दक्षिण र मध्य एसियाका लागि वासिङ्टनका विशेष दूत सर्जियो गोरले विगतमा गलत हातमा पुगेका कलाकृति फिर्ता गर्नु आफ्नो प्राथमिकता रहेको बताए।

‘हामी विगतको गल्ती सच्याउने प्रयास गरिरहेका छौं,’ उनले भने। गोर तीन दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौंमा छन्।
पछिल्लो समय विदेशी सङ्ग्रहालय र व्यक्तिगत सङ्कलकहरूबाट चोरी भएका नेपाली कलाकृति फिर्ता हुने क्रम बढेको छ। पुरातत्व विभागका अनुसार हालसम्म करिब दुई सय वटा कलाकृति नेपाल फिर्ता ल्याइएका छन्। तीमध्ये ४१ वटालाई उनीहरूकै मौलिक स्थानमा प्रतिस्थापन गरिसकिएको छ।
सम्पदा संरक्षणविद् रवीन्द्र पुरी यी मूर्तिहरू केवल कलाका वस्तु मात्र नभई जीवित विरासत भएको बताउँछन्। विज्ञहरूका अनुसार अझै हजारौँको सङ्ख्यामा नेपाली कलाकृतिहरू विदेशमा छन्, जसलाई फिर्ता ल्याउन अमेरिका, फ्रान्स, जर्मनी र बेलायतसँग समन्वय भइरहेको छ।
सबै तस्बिर: एएफपी
प्रकाशित: २१ वैशाख २०८३ १७:३६ सोमबार





