सुदूरपश्चिमवासीको सबैभन्दा महत्त्वपूर्ण मौलिक पर्व ‘गौरा’हो। भाद्र शुक्ल पक्ष पञ्चमीका दिन पाँच प्रकारका अन्न ‘बिरुँडा’ भिजाएर सुरु हुने गौरा पर्व एक साता भन्दा लामो अवधि सम्म मनाइने गरिन्छ।
यतिबेला सुदूरपश्चिमको गाउँ, बस्ती, सवैतिर गौरा पर्वको रौनक छाएको छ। आज शुक्रवार गौराको चौथो दिन हो। चौथो दिन अष्टमीका दिनलाई ‘गौराष्टमी’ भनिन्छ।
गौराको सुरुवात पञ्चमीका दिन व्रतालु महिलाले घरमा अर्थात् मन्दिरमा ‘बिरुँडा’ भिजाउने गर्छन्। गाईको शुद्ध गोबरले लिपेर दुबो र अक्षता राखी तयार पारिएको तामाको भाँडोमा पञ्च अन्न मास, गहत, कलौँ, गहुँ र गुरावस भिजाएर राखिने चलन छ। यसैलाई बिरुँडा भनिन्छ। पूजाआजा पछि गौरा पर्वमा यसलाई प्रसादको रूपमा खाने गरिन्छ।
बिरुँडा भिजाउँदा मङ्गलको सगुन ‘फाँग’ गाउने चलन रहेको डडेलधुराका लक्ष्मी बोहराले बताइन्। सुदूरपश्चिममा शुभ कार्य तथा चाड,पर्वमा सगुन फाग गाउने चलन रहेको छ। बिरुँडा भिजाउने बेलाको फाग गाउने गरेको उनले बताइन्। दोस्रो दिन धारा अथवा कुवामा गएर बिरुँडा पखाल्ने गरिन्छ।
सप्तमीका दिन गौराघर, मन्दिर तथा देवालयमा खेतबाट गौराको प्रतिमूर्ति बनाई ल्याएर भित्र्याइन्छ। बिहीबार सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रूपमा गौराको प्रतिमूर्ति बनाइ गौराघरमा भित्र्याइएको थियो।
‘गौरा’लाई खेतबाट महिलाले मंगलधुन गित गाएर तथा बाजागाजाका साथ गौरा भित्र्याउने चलन छ।
शुक्रबार अष्टमीका दिन गौरा र महेश्वरको विवाह गरिएको छ। गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै मंगल गानका साथमा नचाइन्छ। गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ। त्यहाँ विभिन्न चैत, धमारी अठवाली गीत, राजा महाराजाका वीरगाथाका गीतका साथमा नचाउने चलन छ।
सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई गौरा घरमा ५, ७ दिन राख्ने चलन रहेको छ। यो अवधिमा सुदूरपश्चिमका गौरा घरमा देउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ।
सती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सूक्ष्म रूपलाई हरियो घाँसमा लुकाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता अनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रूप बनाई पूजा गर्ने परम्परा रहेको छ।
विवाहित महिलाले गौरा देवीको पूजाआजा गर्दा पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। ब्राह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको संस्कृतिविद् तीर्थ पाण्डेय बताउँछन्।
यस पर्वमा चैत, भागेश्वरको ढुस्को, धुमारी, तुलसीका गीत तथा विभिन्न देउडा गीत गाएर खेल खेल्ने गरिन्छ।
सुदूरपश्चिममा गौरा पर्वलाई दसैँ र तिहार भन्दा बढी महत्त्व दिने चलन रहेको थियो। आर्थिक अवस्था कमजोर भएका परिवारमा वर्ष दिनमा गौरा पर्वमा नै नयाँ लुगा सिलाउने चलन रहेको स्थानीय बताउँछन्।
यसैगरी घरबाहिर विभिन्न ठाउँमा व्यवसाय, काम,रोजगारीका क्रममा रहेका परिवारका सवै जना घरमा आउने गर्छन्।
बिरुँडा भिजाएको दिनदेखि विधिवत् रूपमा गौरा पर्वको सुरुवाती भए पनि विशेष दिनका रूपमा अमुक्ताभरण सप्तमीका दिन गौराको प्रतिमूर्ति भित्र्याए सँगै गौराको रौनक बढ्ने डडेलधुराका मीनराज रोस्याराले बताए।
गौरा पर्वमा महिलाले गौरा–महेश्वरको उपासना बसी सुस्वास्थ्य, दीर्घायु, समृद्धि र सु–मङ्गलको कामना गर्ने गरेको स्थानीय लक्ष्मी बोहराले बताइन्।
अष्टमीका दिन पूजाआजा गरिसकेपछि महिलाले प्रसादका रूपमा बिरुँडा ग्रहण गरी घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुँडा थापिदिने गर्छन्।
गौरालाई यस क्षेत्रमा ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ लगायत पनि भन्ने गरिन्छ । यी सबैको अर्थ पार्वती नै हो।
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौँदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व गौरा रहेको पाण्डेय बताउँछन्। गौरा यस क्षेत्रको लोक संस्कृति, लोक साहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीर गाथा र भेषभूषाको प्रस्तुति गर्ने महत्त्वपूर्ण मौलिक पर्व रहेको उनको भनाई छ।
गौरा पर्वमा गाइने वीर गाथाका गीत मौखिक रूपमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका छन्। गौरालाई महिला मात्र नभई पुरुष तथा बालबालिकाले उत्तिकै महत्त्व दिन्छन्।
प्रकाशित: १९ भाद्र २०८३ १९:०८ शुक्रबार

