कर्णालीमा नयाँ वर्षलाई तागे संक्रान्तिका रूपमा मनाउने गरिएको छ। देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रूपमा मनाउने गरिएको हो। वैशाख १ को दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै तागा लगाउने चलन छ।
नयाँ वर्षको सुरुआतका दिन महिलाले लगाएको तागा आगामी कात्तिक महिनाको ६ गते विधिपूर्वक पूजा–आजा गरी विसर्जन गर्ने चलन रहेको संस्कृतिसम्बन्धी जानकार पूर्णसिंह कठायतले बताए। ब्राह्मणले विधिपूर्वक पूजा–आजा गरेर नौवटा गाँठो पारेर बनाएको तागा विवाहित महिलाले लगाउने प्रचलन छ।
नयाँ वर्षलाई बाहुन–क्षेत्री महिलाले पतिव्रताको रूपमा मनाउने गर्दछन्। पतिले आफ्नी पत्नीको चोलीमा आफैंले बनाएका नौवटा गाँठो भएको पहेँलो रङको तागा बनाएर पूजा–पाठ गरी झुन्ड्याइने गरिन्छ। नयाँ वर्षको दिन झुन्ड्याइएको तागाको डोरी विधिपूर्वक पूजा–पाठ गरी कात्तिक ६ गते नदीमा बगाउने गरिन्छ।
वर्षभरि पतिको दीर्घायुको कामना गर्दै महिलाले नयाँ वर्षलाई तागे वर्षका रूपमा मनाउँदै आएको स्थानीय जानकारहरू बताउँछन्। तागालाई गाँठो, गोली गाँठो, सिधा गाँठो गरी सातवटा गाँठा र विभिन्न सातवटा रङबाट रंग्याइन्छ।
यो तागे संक्रान्तिमा मग्नी भएको युवतीको घरमा युवाको घरबाट युवतीलाई कोसेली र तागा लैजाने चलन छ। नयाँ वर्षको दिन तागा युवतीको घरमा नलगे मग्नी टुट्ने विश्वास छ। अन्य पर्वमा महिला आफ्नो माइतीघरमा जाने भए पनि तागे पर्वमा माइतीघर गएका महिला पनि पहिले घरमै आएर तागा लगाउने गर्छन्।
यस दिन घरमा चामलको पुवा लगायत विभिन्न परिकार बनाइन्छ। जुम्ली कालिमार्सी धानको बिउको बेर्नाबाट दुई हातले २० पटक पानी बाहिर फाल्ने चलन छ, जसलाई “बिसे पानी फाल्ने दिन” पनि भनिन्छ।
पछिल्लो समय तागा लगाउने प्रचलन केही घट्दै गएको भए पनि धेरै स्थानमा अझै कायम छ। यो परम्परालाई जोगाइराख्न नयाँ वर्षले सद्बुद्धि दिओस् भन्ने कामना गरिन्छ।
नयाँ वर्षको अवसरमा एक–आपसमा शुभकामना आदानप्रदान गर्ने, परिवारसँग बसेर नयाँ–नयाँ परिकार खाने र सबै काम सफल होऊन् भन्ने कामना गर्ने चलन छ। कर्णालीमा वैशाख १ गतेलाई विवाहित महिलाले “पोइला जाने दिन” का रूपमा पनि लिने प्रचलन छ।
तागे संक्रान्ति आउनुभन्दा सात दिनअघिदेखि गाउँका बुहारीहरू तागाका लागि रङ्गीन जनैका डोरी जम्मा गर्न थाल्छन्। समय मिलाएर आफ्ना पोइली घरका सन्तानका जेठी बुहारी (कुलबधू) कहाँ गएर रङ्गीन डोरीबाट विभिन्न किसिमका तागा तयार गरिन्छ। यी तागामा विशेष बुनाइ हुन्छ र सातवटा गाँठा कसिएका हुन्छन्।
यी तागा दायाँ हातको नाडीमा वा चोलीको घाटी नजिक बाँध्ने चलन छ। नयाँ वर्षको दिन सबै विवाहित महिलाले अनिवार्य रूपमा पोइली घरमा उपस्थित हुनुपर्छ। यदि मग्नी मात्र भएको छ भने पोइली घरबाट ससुरा वा सासुले तागा, नयाँ कपडा र कोसेली लिएर केटीको माइतीमा जाने चलन छ।
नयाँ कपडा र तागा लगाएर बुहारीहरू सजिन्छन्। चामल भिजाएर पिठो कुटिन्छ र बेसार मिसाएर पहेँलो बनाइ मह हालेर पुवा, लगर जस्ता परिकार बनाइन्छ।
घरबाट एक पुरुष सदस्य नुहाएर नयाँ कपडा लगाई पुवा र लगर लिएर मार्सी धानको बेर्ना पूजा गर्न जान्छन्। खेतको आलीमा ढुङ्गा ठड्याएर भूमेश्वरका रूपमा पूजा गरिन्छ र पानी बाहिर फालेर बसुन्धराको पूजा गरिन्छ।
त्यसपछि सबै बुहारीहरू कुलबधूको घरमा भेला भएर पूजा गर्छन्। गाईको गोबर मिसाएको माटोबाट तीनवटा दिया बनाएर क्रमशः गौत, जल र दूध राखिन्छ। पाती, फूल र दुबोले शरीरमा छर्किँदै मन्त्र उच्चारण गरिन्छ।
पूजा सकेपछि मागल गाइन्छ। कुलबधूले देउरानीहरूलाई तागा बाँधिदिन्छिन् र गायत्री मन्त्र उच्चारण गरिन्छ। देउरानीहरूले जेठानीलाई ढोग गरी पतिको दीर्घायुको कामना गर्छन्।
पछि सबैले ल्याएको कोसेली बाँडेर खान्छन् र बारी किनारमा भेला भई ठट्टा, हाँसो र मनोरञ्जन गर्छन्। देउडा खेल्ने र नाच्ने चलन पनि रहेको छ।
प्रकाशित: १ वैशाख २०८३ १९:२८ मंगलबार

