पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै बुधबार दिनभर भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चःर्हे’का दिन यो पर्व मनाउने गरिन्छ। पञ्चदानका अवसरमा भक्तपुरका पाँच महाविहारबाट निकालिएका पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न टोल तथा बौद्ध विहारमा परिक्रमा गराइएको थियो।
भक्तपुर नगरको क्वाठण्डौस्थित प्रशन्नशील महाविहार, गोल्मढीस्थित झौरबही, साकोठास्थित चतुब्र्रह्म महाविहार, तिनख्यःस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोस्थित कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा गराइएको हो।
नगर परिक्रमा गर्नुअघि पाँचवटै दीपंकर बुद्धलाई भक्तपुर नगरपालिका–९, सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराइएको थियो। त्यहाँ विशेष पूजा सम्पन्न भएपछि बाजागाजासहित पाँच दीपंकर बुद्धलाई भक्तपुर नगरका १० वटै वडाका विभिन्न टोलमा परिक्रमा गराइएको थियो।
दीपंकर बुद्धको यात्राका क्रममा परम्परागत गुँला बाजा, दाफा भजन, श्रृङ्गभेरीलगायतका सांगीतिक समूहले आ–आफ्ना बाजाको प्रस्तुति दिएका थिए। साथै परम्परागत विहार तथा बहीमा संरक्षित बौद्ध सम्पदासमेत प्रदर्शन गरिएको थियो।
.png)
दीपंकर बुद्धसँगै बौद्ध धर्मावलम्बीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी भएका थिए। भक्तपुरको पूर्वी क्षेत्रस्थित आदिपद्म महाविहारबाट सुरु भएको पूजा तथा यात्रा नगरको पश्चिमतर्फ रहेको थथुबहीमा पुगेर सम्पन्न भएको थियो।
यद्यपि पाँचवटै दीपंकर बुद्धसहितको संयुक्त पञ्चदान पर्व भने भक्तपुर नगरपालिका–५ स्थित टौमढीमा समापन गरिएको थियो। टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकर बुद्धलाई लस्करै राखी विभिन्न बाजागाजासहित उल्लासमय वातावरणमा संयुक्त पञ्चदान सम्पन्न गरिएको हो।
पुण्यदानको पर्व
संस्कृतिविद् डा. रञ्जना बज्राचार्यको ‘पञ्चदान र बौद्ध पर्व’ पुस्तकमा उल्लेख भएअनुसार ‘पञ्जराँ’को अर्थ पुण्यदान हो। पञ्चदान भन्नाले ग्रीष्म ऋतुमा उत्पादन हुने पाँच प्रकारका खाद्यान्न दान गर्ने परम्परालाई बुझाउने पुस्तकमा उल्लेख छ।
यसअन्तर्गत चामल, धान, नुन, मकै र दाललाई पाँच खाद्यान्नका रूपमा लिइन्छ। ‘पञ्जराँ’को मुख्य अर्थ खीरसमेत रहेको उल्लेख गर्दै यस दिन नेवार समुदायमा खीर पकाएर पिण्डपात्र (गुलुपा)मा राखी बुद्धलाई चढाउने तथा सबैलाई प्रसादका रूपमा खुवाउने परम्परा रहेको बज्राचार्यले उल्लेख गरेकी छन्।
.png)
उनका अनुसार पाटनमा नेपाल संवत् ५१२ को श्रावण शुक्ल अष्टमीदेखि पञ्चदान पर्व मनाउन थालिएको हो। काठमाडौं, भक्तपुर, बनेपा, पनौती, कीर्तिपुर, नाला तथा चीनको ल्हासामा भने नेपाल संवत् ७७५ को भाद्रकृष्ण त्रयोदशीदेखि यो पर्व मनाउन थालिएको उल्लेख छ।
भक्तपुरको पञ्चदान किन विशेष ?
भक्तपुरका संस्कृति अध्येता जीआर रञ्जितका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदानको परम्परा फरक र विशेष किसिमको छ।
उनका अनुसार राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले भक्तपुरमा पञ्चदान पर्वको प्रचलन सुरु गरेका थिए।
.png)
रञ्जितका अनुसार शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गरेपछि विकसित भएका प्रमुख बौद्ध मार्गमा श्रावकयान, महायान र वज्रयान पर्छन्। काठमाडौं उपत्यकामा प्रचलित वज्रयान परम्पराअनुसार गरिने विभिन्न चर्यामध्ये दान पारमिता प्रमुख मानिन्छ।
प्राचीनकालदेखि नै विभिन्न रूपमा दान दिने अभ्यास हुँदै आएको र दानको अभ्यासलाई विशेष दिनमा केन्द्रित गरी पर्वका रूपमा विकास गरिएको उनले बताए। पञ्चदान पनि यस्तै परम्पराबाट विकसित भएको पर्व रहेको उनको भनाइ छ।
नेपाल भाषामा पञ्चदानलाई ‘पञ्जराँ’ भनिन्छ।
.png)
.png)
प्रकाशित: २४ भाद्र २०८३ २१:४४ बुधबार


-600x400.jpg)


