२ कार्तिक २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

ताप्लेजुङमा गरियो फूलपाति बढाई, जिल्ला प्रहरी कार्यालयको दसैँघरबाट सेना र सशस्त्रमा लगियो फूलपाती

ताप्लेजुङमा शनिबार फूलपाती बढाई गरिएको छ। नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सुरक्षाकर्मीले डोलीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजाअर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल, दुर्गादल गुल्मका गुल्मपति सेनानी कृतार्थ शमशेर जवरा, जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम, सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीसहित फूलपाती बढाईमा सहभागी थिए। बडादसैँअन्तर्गत शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँघरबाट फूलपातीसहितको डोली सम्बन्धित कार्यालयतर्फ पुर्याइएको छ।

सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ। यस दिन सदर फूलपाती बढाई भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीगरि नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याउने चलन रहेको छ।

नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

सातौँ दिन असोज ३१ गते शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ।

प्रकाशित: ३१ आश्विन २०८३ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App