१४ चैत्र २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

पोखरामा पनि छठको रौनक

पोखरामा पनि सामुहिक छठ पूजा गरेर छठ मनाइँदै छ । नेपालको तराई तथा भारतको विभिन्न ठाउँमा स्थायी घर भई पोखरामा बसोबास गर्दै आएकाहरुले पोखराका विभिन्न ठाउँमा सामुहिक छठ पूजा गरेर मनाएका हुन् ।  

पर्यटकीय नगरी पोखरामा फेवाताल किनार, सेती नदी किनार, कालीखोला र भद्रकाली मन्दिर नजिक रहेको माछापोखरी किनारमा सामुहिक छठको पूजा गरिएको हो । छठ अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिनेछ ।

सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन चारवटै स्थलमा भीड लागेको थियो । जहाँ तराई मूलकासँगै भारतीय र केही पहाडी क्षेत्रका व्रतालुहरु पुगेको नारायस्थान मन्दिर छठ पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए ।  

उनले भने,‘पूजामा मधेशी, भारतीय र पहाडी क्षेत्रकाहरु पनि सहभागी छन् ।’

नेपाल–भारत (एनवी) व्यवसायी समितिको आयोजनामा पोखराको फेवाताल किनारमा रहेको केदारेश्वर महादेवमणी परिसर, निलकण्ठ महादेव छठपूजा समितिको आयोजनामा सेती नदी किनार र त्रिवेणी घाट छठ पूजा समितिको आयोजनामा कालीखोला किनारमा छठ पूजा गरिदै आएको छ । माछा पोखरीमा भने छठ पूजा समितिले पुजा स्थल र सुरक्षाको व्यवस्थापन गरेको छ ।

पूजाको तयारी अन्तर्गत शनिबार र आईतबार चार वटै पूजा स्थल वरपर सरसफाई गरिएको थियो । व्रतालुलाई बस्न मिल्नेगरी पूजा स्थलमा टेन्ट हाल्नुका साथै बिजुली वत्ती, पानीको ब्यबस्था गरिएको समितिहरुले जनाएका छन् । साथै पूजा स्थल वरपर ध्वजापताकाले पूजा स्थललाई झिलिमिली पारिएको एनवी व्यवसायी समितिका निवर्तमान अध्यक्ष भुनेस कुमारले जानकारी दिए ।

व्यवस्थापन समितिले पोखरा बाहिरबाट पूजा गर्न आएकाहरुलाई लक्षित गरेर राती बस्नेगरी पूजा स्थल बनाइएको उनले बताए । उनका अनुसार व्रतालुलाई सुत्ने र खानेको प्रबन्धसमेत गरिएको छ ।

पोखरामा शुरुमा सेती किनार नारायणस्थान मन्दिर परिसरबाट छठ पूजा शुरु भएको हो । तर पछिल्लो क्रममा भीड बढ्दा अन्य ठाउँहरुमा छठ पूजा स्थल बिस्तार गर्दै लगिएको हो । खास गरेर फेवाताल किनारमा भारतीयहरुको बाक्लो सहभागिता रहन्छ भने सेती नदी र कालीखोला किनारमा नेपालको तराई मूलका व्रतालुको बाक्लो सहभागिता रहने गरेको छ । पोखराका विभिन्न ठाउँमा छठ पूजा गर्न थालेपछि पछिल्लो क्रममा छठका लागि घर फर्कनेको संख्या ह्वात्तै घटेको छ । पहिलेपहिले छठका लागि अधिकांश तराईबासी तथा भारतीय घर जाने भएपनि अहिले ७० प्रतिशतले पोखरामै छठ मनाउने गरिएको दाबी गरिन्छ ।

चारदिनसम्म मनाइने छठ पर्वको पहिलो दिन शनिबार अर्वाअवाईन, दोश्रो दिन आईबार खरना, तेश्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिईन्छ भने चौथो दिन मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

 

प्रकाशित: १० कार्तिक २०८२ १९:४६ सोमबार