२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ

चारदिने छठ पर्वको तेस्रो दिन आइतबार साँझ सप्तरीका विभिन्न पोखरी, नदी तथा जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

मिथिलाञ्चलमा ‘सझिया अरख’ भनिने यस विधिका लागि आकर्षक रूपमा सिँगारिएका घाटमा भेला भई व्रतालुले विधिपूर्वक सूर्यको पूजा आराधना गरेका हुन्।

राजविराजस्थित भगवती, कल्टुदास, झल्ही, तुरन्ती र तेतरी गाछीलगायत जिल्लाका विभिन्न जलाशयमा व्रतालुले अर्घ्य दिएका छन्।

छठका लागि व्रतालु तथा परिवारका सदस्यले घरमै ठेकुवा, भुसुवा, खजुरी र पुडुकियालगायत परिकार तयार गरी नरिवल, फलफूल, मिठाइ र उखुसहितका सामग्री कोनिया, ढक्की तथा नाङ्लोमा सजाएर घाटमा लगेका थिए।

राजविराज नगरपालिका-२ की व्रतालु पुनम देवले परिवारका सदस्यले पूजाका सामग्री घाटमा पुर्‍याएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको बताइन्। आज साँझ अर्घ्य दिएका व्रतालु रातभर घाटमै बसेर छठी माताको पूजा आराधना तथा भक्ति गीत गाउने परम्परा रहेको छ।

शुक्रबार नहाय-खाय विधिबाट सुरु भई शनिबार दिनभर उपवास बसेर राति खरना विधि पूरा गरिएको यो पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। बिहानको यस विधिलाई मिथिलाञ्चलमा भोरका अरख वा पारन भनिन्छ।

सूर्यदेव र छठी माताको आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको राजदेवी मन्दिरका पुजारी भोलानाथ चौधरीले बताए।

प्रकाशित: २९ कार्तिक २०८३ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App