स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित भएको छ। गत फागुनमा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण भएसँगै अर्जुनचौपारी धार्मिक एवं पर्यटनको आकर्षण बनेको हो।
नवग्रह मन्दिर केवल ग्रहपूजाको स्थल मात्र होइन, यो वैदिक शक्ति, तान्त्रिक ऊर्जा, ग्रह–नियन्त्रक देवताहरूको उपस्थिति, यन्त्र–मण्डल दर्शन र महाशुभ मुहूर्तमा स्थापित आध्यात्मिक केन्द्र हो। नक्षेत्र बाटिका, ग्रह नियन्त्रण शक्ति, पूर्ण पूजा पद्धति र आध्यात्मिक वास्तुको अद्वितीय धरोहर यस मन्दिरमा पाइन्छ।
नेपालमै पहिलोपटक नवभुजा स्तम्भ, षट्कोणीय शिवालय, नक्षेत्र–बाटिका, ग्रहवाटिका, पञ्चकन्या–देवी पूजा र गहन यन्त्रमण्डल सिद्धान्त सबै एउटै परिसरमा समाहित गरिएको यस मन्दिरलाई नेपाली वैदिक ऊर्जा–केन्द्र मानिन्छ। मन्दिर क्षेत्रभित्र रहेको नेचेत्र–वाटिका ग्रहहरूलाई प्रतिनिधित्व गर्ने वनस्पति–तत्त्वहरूको समुच्चय मानिन्छ। प्रत्येक ग्रहसँग सम्बन्धित रूख, बिरुवा, पुष्प र जडीबुटी यहाँ रोपिएकाले प्राकृतिक सामीप्यलाई अझ नजिक बनाएको छ। जसले मस्तिष्क, दृष्टि, चित्त र ग्रह–ऊर्जासँग सम्बन्धित सूक्ष्म–नाडीहरू सक्रिय हुन्छन् भन्ने प्राचीन मान्यता समेत रहँदै आएको छ।
मन्दिर दर्शनका लागि आउने भक्तजन आफ्नो जन्मकुण्डली, ग्रह–दोष वा आफ्नो इच्छाअनुसार पूजाआजा गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेल बताउँछन्। यसरी पूजा गर्दा विशिष्ट ग्रह–क्षेत्रमा पुगेर पूजा–ध्यान गर्न सक्ने र सिधै ग्रह–ऊर्जासँग जोडिने वातावरण सिर्जना हुने हुँदा यो मन्दिर अझ विशेष रहेको उनी बताउँछन्। ‘पहिले शक्तिलाई प्रसन्न गरेपछि मात्र ग्रहहरू सुध्रिन्छन्’ भन्ने मान्यतालाई मध्यनजर गर्दै नवग्रहको पूजा गर्नुअघि यसरी देवी–देवतालाई पहिले प्रसन्न बनाएपछि मात्र ग्रह–पूजा सुरुआत हुन्छ। नवग्रह मन्दिरको केन्द्रमा रहेका षट्कोणीय शिवालयलाई ‘ग्रह–ऊर्जा समायोजन केन्द्र’ मान्ने गरिन्छ। जसको बिचमा पञ्चमुखी शिवलिंग कोण–कोणमा गणेश, कुलदेवता, हनुमान जगदम्बा, महालक्ष्मी र कालभैरव रहेका छन्।
.jpg)
यसरी षट्कोणीय शक्ति क्षेत्रले ग्रह–ऊर्जा सन्तुलन, दोष निवारण, आकाश–दिशा सुध्रिने, मन, प्राण र चित्तको स्थिरीकरणजस्ता प्रभाव दिने विश्वास गरिन्छ।
नवग्रह मन्दिर परिसरमा रहेको पञ्चकन्या मन्दिरमा पूजा गर्नाले शुद्धता, कृपा र ग्रह–शान्तिको सूक्ष्म शक्ति प्राप्ति हुने विश्वास गरिन्छ। नव्रग्रह मन्दिरमा पञ्चकन्या (अहल्याः, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी) देवीहरूको पूजा महत्त्वपूर्ण मानिने बताइन्छ। नवग्रह मन्दिरमा पूजा क्रमशः गणेश वन्दना षट्कोण शिवालयमा शक्तिपूजा, गणेश, दुर्गा, लक्ष्मी, कालभैरव, हनुमान, कुलदेवता, पञ्चकन्या पूजा नेचेत्र–बाटिका भ्रमण, ग्रह–बाटिका पूजा, नव–परिक्रमा (९ परिक्रमा), नवग्रह हवन÷ग्रह, शान्ति होम, यन्त्र पूजन नवग्रह–मण्डल विसर्जन गरी पूजा सम्पन्न गरिन्छ।
मन्दिरका विशेषता
नेपालमा पहिलो पटक बनाइएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ। यो मन्दिर भारतको आसामको भन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्वमै पहिलो भएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी बताउँछन्। नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुनेछ। जुन २७.७ फिटको बन्नेछ। २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तीको अवलोकन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ।
नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बिचमा पशुपतिनाथको जस्तै पञ्चमूखी शिवलिंग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको छ। नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतीक रहेका छन् भने त्यस माथि नवभुज आकारको १४ फुटको पिल्लर छन्।
पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहेको छ भने यहाँ रहने प्रतिमा हिन्दुधर्मका कहलिएका धार्मिक ज्योतिषीको विशेष सल्लाहबमोजिम भारतमा बनाइएको छ। नवग्रह मन्दिरमा प्रत्येक शनिबार विशेष पूजा गर्न पाइन्छ। नेपालकै सर्वोत्तम ग्रह–ऊर्जा केन्द्रका रूपमा रहेको नवग्रह मन्दिरलाई नेपालकै अत्यन्त शक्तिशाली, वैज्ञानिक र आध्यात्मिक ग्रह–ऊर्जा केन्द्र बनाएको छ। यो मन्दिर धर्म, विज्ञान, प्रकृति र आध्यात्मिक ऊर्जालाई एकैसाथ समेट्ने दुर्लभ कृति हो– जहाँ ग्रहशान्ति केवल अनुष्ठान नभई जीवन–सन्तुलनको विज्ञान भनिन्छ।
परम्परागत समयदेखि नै चर्चित जलबराह धार्मिक वन परिसर आठ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सोही स्थानमा उक्त मन्दिर निर्माण गरिएको हो। पिपल, वर, जामुन, बेलजस्ता पवित्र रूखहरूले उत्पन्न गर्ने प्राकृतिक ऊर्जाले पूजा प्रभावकारिता बढाउने विश्वास गरिन्छ। भौतिक रुपमा मन्दिरमा उपस्थित हुन नसक्नेहरुमा लागि मन्दिर व्यवस्थापन समितिलाई सम्पर्क गरेर निःशुल्क पुजा गराइदिनका लागि आग्रह समेत गर्न सकिने समितिले जनाएको छ।
धार्मिक–पर्यटनको केन्द्रका रूपमा विकसित
गत फागुनमा निर्माण सम्पन्न भएको यस मन्दिरमा हालसम्म तीन लाख बढी भक्तजन एवं पर्यटकले मन्दिरको अवलोकन गरिसकेका छन्। नेपालकै पहिलो नवग्रह मन्दिर भएकाले नेपालीसँगै विदेशी पर्यटकलाई समेत मन्दिरले लोभ्याएको छ। यसरी विदेशबाट आउनेमा सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् भने अमेरिका, क्यानडा, अस्ट्रेलियासँगै युरोपका विभिन्न मुलुकबाट समेत पर्यटक नेपाल आउने गरेका छन्।
यसरी आउने भक्तजनबाट हालसम्म करिब ८० लाख भेटी संकलन भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिर अद्वितीय संरचना, प्राकृतिक वातावरण, ग्रह–ऊर्जाको आध्यात्मिक दर्शन र सुन्दर व्यवस्थाले ग्रह शान्तिका लागि सबैभन्दा उपयुक्त स्थान, वैदिक अध्ययनका लागि नवीन प्रयोगशाला, धार्मिक–पर्यटनको उदीयमान केन्द्र र परिवार–पूजादेखि राष्ट्रिय पूजासम्म एकै ठाउँमा सम्भव स्थल पनि बनेको छ।
प्रकाशित: १३ मंसिर २०८२ ११:०५ शनिबार





