ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको केन्द्र साँघुपार्टीमा ५४ फिट अग्लो सिलाम साःक्माको स्थायी प्रतिमा निर्माण हुने भएको छ ।
पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षका लागि ९ बुँदे मुख्य लक्ष्य निर्धारण गर्दै मैवाखोलाले सिलाम साःक्माको अग्लो स्थायी प्रतिमा निर्माणदेखि जननेता मदन भण्डारीको जन्मघरलाई राजनीतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेसम्म्का कार्यक्रम अघि सारेको हो ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमले साँस्कृतिक पहिचान समेत दिनेगरी साँघुपार्टीमा ५४ फिट अग्लो सिलाम साःक्माको स्थायी प्रतिमा निर्माण गर्ने पालिकाको लक्ष्य सुनाए ।
गत माघ अन्तिम साता जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालनका क्रममा मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साःक्माको प्रर्वद्धन तथा प्रचारका लागि त्यहाँ अस्थायी प्रकृतिको सिलाम साःक्माको प्रतिमा स्थापना गरिएको थियो ।
५४ फिट उचाई र ५४ फिट चौडाई रहेको अस्थायी प्रकृतिको सिलाम साःक्माको प्रतिमाले धार्मिक,ऐतिहासिक र साँस्कृतिक एकताको झल्को दिएको भन्दै पालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत नै स्थायी प्रकृतिको सिलाम साःक्माको प्रतिमा स्थापना गर्ने घोषणा गरेको छ ।
लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हुन्छ । सोहि आधारमा सिलाम साःक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ। लिम्बू जातिको सांस्कृतिक पहिचान झल्काउने सिलाम साःक्माको स्थायी प्रकृतिको प्रतिमा निर्माणसँगै साँघुपार्टी क्षेत्रमा एक पर्यटकीय केन्द्र थप हुने पालिकाको विश्वास छ ।
सिलाम साःक्मा लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन लोगो (प्रतीक) का रूपमा प्रयोग गर्ने गर्दछन् । लिम्बू जातिको मौलिक तथा सांस्कृतिक कर्मकाण्डमा पुजारीका रूपमा रहेका फेदाङ्मा,येबा,साम्बा, बजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा निर्माण गरी प्रयोग गर्ने गर्दछन् ।
लिम्बू थाक्थुङ मुन्धुमअनुसार सिलाम साक्माले दिवङ्गतहरूको आत्माको विचार र बाटो छेक्ने मानिन्छ । यसबाहेक पालिकाले झ्याउँपोखरी क्षेत्रमा निर्माण भइरहेको गुराँस पार्क क्षेत्रलाई पालिकाको आन्तरिक आय समेत हुनेगी पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने,साँघु–झ्याउँपोखरी–मिल्के–गोरुजुरे–सभापोखरी र सिन्धोलुङ झरनालाई पर्यटकीय करिडोरको रुपमा विकास गर्ने बताएको छ । मानेडाँडा भ्यूपोइन्ट तथा वसाङलुङ क्षेत्रलाई साँस्कृतिक,प्राकृतिक र मुन्धूमी केन्द्रको रुपमा अघि बढाउने पालिकाको तयारी छ ।
प्रकाशित: २३ आश्विन २०८२ १५:१२ बिहीबार





