२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, पोखरी तथा जलाशयमा घाट निर्माण र व्यवस्थापनको काम तीव्र पारिएको छ । पर्वका लागि काठमाडौंका विभिन्न स्थानमा सरसफाइ, सजावट, बत्ती जडान र पूजास्थल निर्माणको काम भइरहेको छ ।

काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पूजाको तयारी भइरहेको छ । छठका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।

काठमाडौंको गौरीघाटमा भने यस वर्ष करिब ६०० पूजास्थल व्यवस्थापन गरिँदै छ । गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार गौरीघाटदेखि गुह्येश्वरी घाटसम्म पूजास्थल निर्माण र व्यवस्थापनको काम भइरहेको छ ।

घाटमा सरसफाइ, टेन्ट निर्माण, बत्ती जडान तथा अन्य आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको यादवले बताए । उनका अनुसार यस वर्ष एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने व्रतालुका लागि निःशुल्क पूजास्थल उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

यादवले छठलाई जातजाति, धर्म र समुदायबीचको विभेद अन्त्य गर्दै सामाजिक सद्भाव र एकता कायम गर्ने पर्वका रूपमा व्याख्या गरे । एउटै जलाशयको किनारमा सबै जातजाति र धर्मावलम्बी एकै ठाउँमा बसेर पूजा गर्ने भएकाले छठ सामाजिक समावेशिताको उदाहरणसमेत बनेको उनको भनाइ छ ।

‘पहिले छठलाई मिथिला र मधेसमा मनाइने पर्वका रूपमा बुझिन्थ्यो । अहिले सबै जातजाति र धर्मावलम्बीले मिलेर मनाउने साझा पर्व बनेको छ । एउटै जलाशयमा सबैले सँगै बसेर पूजा गर्छन् । यहाँ जात, धर्म, धनी र गरिबबीच कुनै विभेद हुँदैन,’ उनले भने ।

छठ प्रकृति र मानव जीवनसँग प्रत्यक्ष जोडिएको पर्व भएको उल्लेख गर्दै यादवले यसमा सूर्य, पानी, माटो, हावा र प्रकृतिको पूजा गरिने बताए । नयाँ अन्न, फलफूल, उखु तथा माटाका भाँडालाई प्रसादका रूपमा प्रयोग गर्ने परम्पराले पनि प्रकृतिप्रतिको सम्मान झल्काउने उनको भनाइ छ ।

गौरीघाटमा छठ पूजाको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ । घाटमा टेन्ट, बत्ती र पुल निर्माणको काम भइरहेको छ भने व्रतालु तथा भक्तजनको सुरक्षाका विषयमा पनि छलफल गरिएको यादवले जानकारी दिए ।

उनका अनुसार कात्तिक २८ गते बेलुकासम्म घाटको सरसफाइ, बत्ती जडान र पूजास्थल निर्माणलगायत सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य राखिएको छ ।

यद्यपि छठका बेला मात्रै बागमती नदी किनार सफा र आकर्षक बनाउने प्रवृत्तिले दीर्घकालीन समस्या समाधान नहुने यादवको भनाइ छ । उनले नदी किनारको नियमित सरसफाइ र सौन्दर्यकरणका लागि स्थायी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘वर्षमा एकपटक छठ आउँदा मात्रै झिलिमिली बत्ती बालेर हुँदैन । यहाँ दिनहुँ सरसफाइ गर्ने टोली हुनुपर्छ । नदी किनारको नियमित सौन्दर्यकरण हुनुपर्छ,’ उनले भने ।

पर्व सकिएपछि नदी किनारमा फूल, फलफूल र प्लास्टिकजन्य फोहोर फाल्ने समस्या अझै कायम रहेको उनको भनाइ छ । ‘अहिले पनि पूजापछि फूल, फलफूल र प्लास्टिक फाल्ने समस्या छ । यसलाई पूर्ण रूपमा रोक्न सकेका छैनौँ,’ उनले भने ।

छठका अवसरमा हुन सक्ने सम्भावित दुर्घटना रोक्न सुरक्षा व्यवस्थालाई पनि प्राथमिकता दिइएको यादवले बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए ।

आर्थिक अभावका कारण कसैले पनि छठ पूजा गर्नबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क पूजास्थलको व्यवस्था गरिएको उनले दोहोर्‍याए । ‘पूजा गर्न कसैलाई पनि पैसाकै कारण वञ्चित गराउँदैनौँ । १ हजार ५०० रुपैयाँ तिर्न नसक्नेले पनि यहाँ पूजा गर्न पाउँछन्,’ उनले भने ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ । पहिलो दिनदेखि विभिन्न धार्मिक विधि पूरा गर्दै व्रतालुले षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । त्यसको भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुन्छ ।

प्रकाशित: २६ कार्तिक २०८३ १७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App