१४ भाद्र २०८३ आइतबार
image/svg+xml
कर्पोरेट

बाढी–पहिरोको विपत्तिपछि ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स’ प्रदर्शनी स्थगित

देशभर आएको विनाशकारी बाढी–पहिरोका कारण काठमाडौंमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गर्ने तयारी थियो।

आयोजकले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देश कठिन र दुःखद परिस्थितिबाट गुज्रिरहेको अवस्थामा ठूलो व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उचित नदेखिएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएको छ।

बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको र नागरिकले अपार कष्ट भोगिरहेका बेला देश राष्ट्रिय शोक तथा पुनर्निर्माणको संवेदनशील अवस्थामा रहेको आयोजकको भनाइ छ।

त्यसैगरी, नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा परामर्शलाई समेत ध्यानमा राखेर प्रदर्शनी स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शनीमा सहभागी हुने प्रदर्शक, आगन्तुक तथा अन्य सरोकारवालाको सुरक्षा र यात्राको सहजतालाई पहिलो प्राथमिकतामा राख्दै तत्कालका लागि कार्यक्रम रोकिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार देशको अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति घोषणा गरिनेछ।

प्राकृतिक विपत्तिका कारण कार्यक्रम स्थगित गर्नुपरेकोमा आयोजकले सहभागी तथा सरोकारवालाप्रति क्षमायाचना गर्दै कठिन परिस्थितिमा देखाएको सद्भावप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित: १४ भाद्र २०८३ १६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App