हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु. ५० लाख सहयोग प्रदान गरेको छ।
नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।
सहयोग हस्तान्तरणका क्रममा NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताए।
उनले नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट उक्त सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट तथा विपद्का समयमा NAIMA सधैं सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरे।
“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले बताए।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाले प्रदान गरेको सहयोगको प्रशंसा गरे। उनले विपद्को यस संवेदनशील र कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए।
प्रकाशित: २४ भाद्र २०८३ १३:५३ बुधबार

