विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावितको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
इनड्राइभ नेपालका प्रतिनिधिले बुधबार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यो रकम करिब ५ लाख अमेरिकी डलर बराबर रहेको कम्पनीले जनाएको छ ।
अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिक हिम तथा चट्टानी पहिरोपछि आएको भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । बाढीबाट घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ ।
कोषमा रकम सहयोग गर्नुका साथै इनड्राइभले नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायत राहत सामग्रीसमेत वितरण गरेको जनाएको छ ।
इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टोम्स्कीले विपद्मा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित: २५ भाद्र २०८३ १५:२८ बिहीबार





