सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–१० स्थित झिमपुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई वटा मोटरसाइकललाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो।
प्रहरीले बीआर ३० एपी ०८८२ नम्बरको भारतीय मोटरसाइकल र मधेश प्रदेश ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलसहित रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुड्डु कुमार यादव तथा रामनगर गाउँपालिका–१ का २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूको साथबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल र ओप्पो तथा सामसुङ कम्पनीका दुई थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि दुवै जनामाथि हुण्डी तथा अवैध रकम कारोबारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: ५ असार २०८३ १९:२४ शुक्रबार





