१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
अपराध

भैरहवाबाट दुई करोड ५१ लाख बराबरको दुई किलो सुन बरामद

सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलबाट ती गरगहना बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद भएको जानकारी दिए।

सीमा जाँचकक्षमा शङ्कास्पद रुपमा प्रस्तुत भएकी पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चूरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

पटेलबाट बरामद गरिएको गरगहनाको तौल दुई किलो ६०५ ग्राम रहेको छ। गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएकामा सुनको भाग करिब एक किलो रहेको परीक्षणबाट पुष्टी भएको प्रहरीले जनाएको छ।

बरामद अवस्थाका गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर देखिने भागमा भने सुन लेपन भएको प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार प्रचलित मूल्यका आधारमा उक्त सुनको मूल्य रु दुई करोड ५१ लाख ९३ हजार ३५० कायम भएको छ।

बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएका छ।

सोही सन्दर्भमा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रकाशित: १५ आश्विन २०८३ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App