गाउँघरका बाटो-बाटो पुगेर सुन सफा गर्ने बहानामा ठग्दै हिँड्ने भारतीय नागरिक प्रहरी फन्दामा परेका छन्। जिल्लाको मध्येवर्ती गाउँपालिका उदयपुरगढी २ र ३ नं. वडाका महिलाकोसुन सफा गर्ने बहानामा ठग्ने दुई भारतीय नागरिक सोमबार दिउँसो पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय उदयपुरगढीको टोलीले भारतको बिहार राज्य, सहरसा जिल्ला पुरिक पुरुषोत्तमपुर ग्रामपञ्चायत (विहान थाना)का २८ वर्षीय गोबिन्दकुमार साह र विहारकै मधेपुरा जिल्ला रहताग्रामपञ्चायत (कुमार थाना)का ३३ वर्षीय सचिन साहलाई पक्राउ गरेको हो। अपरिचित व्यक्तिले गाउँघरकै बाटोघाटोमा हिँडिरहेका महिलाको सुन सफा गर्ने भन्दै ठगेको स्थानीयको मौखिक उजुरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साहद्वयले उदयपुरगढी गाउँपालिका २ की पेशलकुमारी मगर र ३ नं. की मनमाया तामाङले कानमा लगाइरहेको सुनको रिङ सफा गर्ने नाममा घटाएर ठगेका छन्। मगर र तामाङले कानमा लगाइरहेको करिब १–१ तोला बराबरको सुनको बेरुवा रिङ सफा गर्ने भन्दै विभिन्न रसायन प्रयोग गरी मात्रा घटाएर फिर्ता गरेको प्रहरी भनाइ छ।
पक्राउ परेका दुवैलाई सोमबार साँझै चौकीबाटजिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको र हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए।
प्रकाशित: २३ असार २०८३ १२:४० मंगलबार





