४ आश्विन २०८३ आइतबार
image/svg+xml
अपराध

सई ह*त्या यादव प्रकरण : २२ महिनापछि मुख्य आरोपी समातिए

सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणका मुख्य आरोपीलाई २२ महिनापछि सिरहा प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले ज्यानसम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका मोहम्मद कुरवान मन्सुरीलाई गोली हानेर नियन्त्रणमा लिएको हो।

२०८१ माघ १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा नजिक तस्करहरूले मदिराले भरिएको गाडीले ड्युटीमा खटिएका सई यादवलाई किचेर हत्या गरेको थियो।

तस्करहरूले सई यादवलाई डिएल ५ सिजे ७१७१ भारतीय नम्बरको टाटा सफारी गाडीले किचेर हत्या गरेको थियो। मदिराले भरिएको टाटा सफारी गाडी भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा सई यादव नेतृत्वको टोलीले रोक्न खोजेपछि उक्त गाडीका धनी तथा चालक समेत रहेका मन्सुरीले किचेर सई यादवलाई गम्भीर घाइते बनाएको थियो।

भारतीय तस्कर समूहले मदिराले भरिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारको क्रममा ज्यान गएको थियो। प्रहरीले घटनालाई ज्यान मार्ने उद्देश्यले सवारीसाधन प्रयोग गरिएको घटनाका रूपमा अनुसन्धान अघि बढाउँदै मुख्य प्रतिवादी मन्सुरी फरार भएको थियो।

सई यादवलाई ठक्कर दिएर फरार भएका भारतीय तस्कर मन्सुरीलाई बरियारपट्टी गाउँपालिका-१ कचनारीस्थित नेपाल-भारत सीमा नजिक प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा तीन जनाको समूहमा रहेका मन्सुरीले भाग्न खोजेपछि प्रहरीले एक राउन्ड फायर गरेको थियो। त्यसपछि प्रहरीमाथि लक्षित गरी प्रतिरोध भएपछि जवाफी कारबाहीका क्रममा थप तीन राउन्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोली लागेर मुख्य अभियुक्त ३७ वर्षीय मोहम्मद कुरवान मन्सुरी घाइते भएका छन्। उनको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा सुरक्षा निगरानीमा उपचार भइरहेको छ।

पक्राउ परेका मन्सुरीमाथि ज्यानसम्बन्धी कसुर, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०८३ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App